अन्तर्वार्ता/विचार मंगलबार, चैत ११, २०७६

“शब्द लकडाउन भनिए पनि कर्फ्यू नै हो”

लक्ष्मी बस्नेत

“शब्द लकडाउन भनिए पनि कर्फ्यू  नै हो”

नेपालमा अहिलेसम्म भेटिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दुई मध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने अर्का व्याक्तिको उपचार भइरहको छ । काठमाडौँमा कोरोना भाइरसबाट संक्रमित दोस्रो व्यक्ति भेटिना साथ सरकारले मंगलबारबाट लागू हुने गरी बन्दाबन्दीको घोषणागरेको छ । यही सन्दर्भमा सरकारले गरिरहेको पहलबारे ‘कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति’ का संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग हिमालका लागि लक्ष्मी बस्नेतले गरेको कुराकानीः

११ देखि १८ चैतसम्म घरबाहिर ननिस्किन भनियो, यो बन्दाबन्दी कर्फ्यू जस्तै हो ?

– हामीले शब्द ‘लकडाउन’ भन्ने कि नभन्ने भन्दा पनि आम नागरिकको बाहिरी हिँडडुल नियन्त्रण गरेर सावधानी अपनाउन खोजेको हो । हुन त व्यक्ति आफैं सचेत हुनुपर्ने वेला हो तर, व्यक्तिगत प्रयास र उनीहरुको नैतिकताले मात्रै संभव नहुने देखियो । त्यसैले सामूहिक जमघट गर्न, पारिवारिक भेटघाट गर्न र घरबाहिर निस्कन रोकिएको हो ।

सावधानी अपनाउनुपर्ने हिसाबले यो कर्फ्यू जस्तै हो तर, त्यही शब्द मात्र प्रयोग नगरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश बमोजिम मंगलबारबाट लकडाउन गरिएको हो ।

अत्यावश्यक कामका लागि बाहिर निस्कन अनुमति लिनुपर्ने भनिएको छ, सर्वसाधारणले कसरी कहाँबाट लिने अनुमति ?

– अत्यावश्यक भनेर हामीले तोकेका छौं, त्यो अवस्था आयो भने स्थानीय तहका जनप्रतिनिधिमार्फत वा नजिकको प्रहरी प्रशासनसँग सम्पर्क राख्नुपर्छ ।

मुख्य त हामीले जारी गरेको आदेशको नियमन गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको भएकाले उहाँहरुसँग जानकारी पुग्नुपर्छ । सिडियो कार्यालयसम्म पुग्ने माध्यम नजिकको प्रहरी वा जनप्रतिनिधि हुन् ।

संक्रमण व्यापक भइसकेका देशबाट आएका गाउँसम्मै पुगेका छन् । काठमाडौंबाट पनि लाखौँ मान्छे बाहिरी जिल्ला गए । ती मान्छे क्वारेन्टाइनमा बसे कि बसेनन् कसरी अनुगमन हुन्छ ?

-मूल कुरो संक्रमणबाट बच्ने उपाय आफैँले अबलम्बन गर्ने हो । बाहिरी मुभमेन्ट नगर्ने, घरमै बसे पनि परिवारका सदस्यबीच जमघट नगर्ने हो । विदेशबाट आएकालाई घरमै अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको छ । त्यसैले अहिले आत्मअनुशासित हुनुप यो, आफू अलग बस्नु भनेको आफ्नो परिवार स्वस्थ राख्नु हो । भीडभाडले जोखिम कम हुन्छ भनेर विश्वले नै अपनाएको मुख्य विधि पनि यही हो ।

अहिलेको अवस्थामा सरकारले गरेका निर्णयप्रति सबैको चासो छ । ती निर्णय र अन्य सम्बन्धित सूचना दिने माध्यम के हो ?

– औपचारिक जानकारी सरकारको प्रवक्ता, स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयका अधिकारीले दिने हो । उहाँहरुमार्फत आमसञ्चारको माध्यम हुँदै हरेक व्यक्ति कहाँ पुग्ने भइरहेको छ । त्यसलाई अझ व्यवस्थित गर्दै जानेछौं । अहिले त स्थानीय सरकार पनि भएकाले हरेक सूचना घरघरमा पुग्न सजिलो छ ।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा हिजो निकै भीड देखियो, तपाईं संयोजक भएको समितिको बैठकमा पनि जमघट ठूलै हुन्छ, अब पनि त्यस्तै हुन्छ कि ?

– हिजो पत्रकार सम्मेलन भन्ने जानकारी दिएपछि पत्रकारहरु आउनुभयो, अलि व्यवस्थित गर्नुपथ्र्यो, छोटो समयमा व्यवस्थापन पक्ष कमजोर भएको देखियो । हाम्रो समितिको पनि बैठक बस्नुपर्ने बाध्यता छ, सबै विषयको छलफल र निर्णय अनलाइन वा भिडियो कलको माध्यमबाट मात्रै हुन सक्दैन । तर, अब बैठक, छलफलको तरिका र निर्णय सार्वजनिक गर्ने मोडेल पनि फरक गर्दै लैजान्छौं । समितिको बैठक बस्दा भने सकेसम्म सुरक्षाका उपायहरु अपनाएका हुन्छौं ।

कोरोना भाइरस संक्रमित बिरामी भेटिइसकेको अवस्थामा सरकारले आगामी दिनमा रोकथाम र नियन्त्रणका लागि के गर्दैछ ?

– कोरोनाकै लागि ‘डेडिकेटेड आइसोलेटेड अस्पताल’ काठमाडौंको हकमा बलम्बुमा तयार हुन्छ । प्रदेशहरुमा पनि कम्तीमा एउटा प्रदेशमा एउटा त्यस्ता अस्पताल चाँडै शुरु हुन्छ । सबै सुविधासहितको क्वारेन्टाइन भवनहरु पनि ठाउँठाउँमा निर्माण भइरहेका छन् । स्पेशल ल्याबका सामग्री तथा सबै स्वास्थ्यकर्मी र सुरक्षामा खटिनेलाई पुग्ने सुरक्षित सामग्री पनि ल्याउन तयारी अवस्थामा छौं । हरेक काम एकदम गतिका साथ भइरहेको छ । तर, नयाँ संक्रमणमा सबै काम नयाँ गर्नुपर्ने भएकाले आमरुपमा देख्दा सरकारले ढिलो गरेको भन्ने लाग्न सक्छ ।

विपतकाे पूर्व तयारी छैन भनेर अन्य विपतमा पनि आलोचना आउँथ्यो, अहिले पनि त्यस्तै त देखियो ?

– अहिलेको अवस्था फरक हो, विश्वले नै कल्पना नगरिएको संक्रमण एक्कासी यति छिटो फैलिरहेको छ । विश्वका ठूला धनी देशहरुमा स्वास्थ्य सेवा कति बलियो होला तर, पनि संक्रमणले सताइरहेकै छ । हामीले पनि रातारात जोखिम न्यूनीकरणको पहल थालेको हो ।

आवश्यक सामान जुनसुकै देशमा विमान चार्टर गरेर ल्याउने तयारीमा छौं । तर, त्यस्ता सामाग्रीहरु हाम्रोमा मात्र होइन, विश्वमै अभाव हुन थालेको छ । यत्ति हुँदाहुँदै पनि अहिलेसम्म जोखिम न्यूनीकरण गर्ने उपाय हामी प्रत्येक व्यक्तिको हातमा छ । घरमा मात्रै बसे पनि धेरै जोखिम कम हुन्छ । त्यसैले अहिले आलोचना भन्दा पनि सबैले आफ्नो ठाउँबाट जोखिम कम गर्न सकिन्छ ।

तपाईं आफू चाहिँ यो एक हप्ता कसरी काम गर्नुहुन्छ ?

विशेष सावधानीका साथ काम गर्नुपर्छ । सकेसम्म हिंडडुल, भेटघाट र बैठकहरु अनलाइनको माध्यमबाट गर्ने प्रयास मेरो र म जस्तै काम गर्नुपर्ने अरुको हुनेछ । त्यसरी नहुने अवस्थामा त निस्किनै प¥यो । सुरक्षाका विधिहरु अपनाएर काम गर्छु ।

 

प्रतिकृया दिनुहोस