कोरोना रोकथामका लागि उपचार सामग्री खोज्दै सरकार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न मुलुकमा भएका उपचार सामग्री सङ्कलन गर्न थालिएको बताएका छन्। उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘‘यहाँ भएका उपचार सामग्री खोजिरहेका छौं, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) पोशाक केही प्राप्त भएका छन्।’’
मन्त्री ढकालले कोभिड–१९ को उपचार गर्दा प्रयोग हुने पोशाक (पीपीई) नेपालमै दैनिक ३०० थान उत्पादन भइरहेकोले अभाव नहुने बताए। उनले सात वटै प्रदेशमा कोभिड–१९ को उपचार गर्न ५० थानका दरले पीपीई पठाइएको समेत जानकारी दिए। मन्त्रालयले यसअघि बरामद गरिएको मास्क प्रत्येक प्रदेशमा ५० हजारका दरले पठाएको थियो।
मन्त्री ढकालले उपत्यका बाहिर कोभिड–१९ को नमूना परीक्षण गराउने काम थाल्न लागिएको बताए। उनका अनुसार विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा तत्कालका लागि सामग्री उपलब्ध गराएर प्रयोगशालालाई सक्रिय बनाई नमूना परीक्षण गरिनेछ। परीक्षणको रिपोर्ट पनि त्यहीँ दिइने व्यवस्था गरिएको उनले बताए।
सम्बन्धित ठाउँमा शंकास्पद बिरामीको नमूना काठमाडौं ल्याउन आन्तरिक उडान र स्थलमार्ग बन्द भएकाले संयन्त्र बनाई वैकल्पिक उपाय समेत अवलम्बन गरिने मन्त्री ढकालको भनाइ थियो। ‘‘देशभर बन्दाबन्दी भएका कारण घाँटीको स्वाब परीक्षण गर्न ल्याउन अप्ठ्यारो भएको छ, दैनिक कसरी ल्याउने भन्नेमा लागिपरेका छौँ’’ उनले भने।
मन्त्री ढकालले विभिन्न मुलुकबाट औषधि र उपकरण ल्याउन सरकारी, कूटनीतिक र बाह्य क्षेत्रबाट पहल जारी राखेको उल्लेख गर्दै चीन र भारतलाई पहिलो प्राथमिकतामा राखेर सामग्री ल्याइने बताए। कोभिड–१९ को मात्र अस्पताल भनेर निर्णय गरिएको काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालको प्राविधिक रुपमा काम समेत गरिएको उनले जानकारी दिए।
यसैबीच, सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुसँग समन्वय गर्न स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ।