ब्लग मंगलबार, चैत ११, २०७६

न्याय मागिरहेछ नन्दप्रसाद अधिकारीको आत्मा

कनकमणि दीक्षित

न्याय मागिरहेछ नन्दप्रसाद अधिकारीको आत्मा
नन्दप्रसाद अधिकारी र उनकाे शव राखिएको झोला ।

शिक्षण अस्पतालको ‘बडी ब्याग’ मा रहेको नन्दप्रसाद अधिकारीको शवले सद्गत मागिरहेको छ तर त्योभन्दा पहिले उनको आत्मालाई न्याय चाहिएको छ ।

शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श को चैत २०७६ अड्ढको आवरणमा मन दुख्ने तस्वीर छापियो । एउटा ‘बडी ब्याग’ छ, जसभित्र छ पाँच वर्षअघि आमरण अनशनबीच ज्यान गुमाएका नन्दप्रसाद अधिकारीको शव । टाँसिएको स्टिकरमा लेखिएको छ: ‘२०७१/६/६ गते, जिल्ला गोरखा, फुजेल गाउँ ७ बस्ने नन्दप्रसाद अधिकारी’ ।

तर यो तस्वीरले नागरिक समाज या आम समाजमा सनसनी, आक्रोश या चिन्ता जगाएको देखिएन । द्वन्द्वपीडितले एकोहोरो आवाज उठाइरहेका छन् तर सञ्चारमाध्यमको ध्यान संक्रमणकालीन न्यायबाट धेरै पर पुगिसकेको छ । केही महीनाअघि एक प्रधानसम्पादकबाट त ‘कत्ति पुरानो घाउ कोट्याइरहने !’ भनेको सम्म सुनियो ।

बुझ्न गाह्रो छैन, नेपालमा अधिकांश सार्वजनिक महत्वका विषय चर्चामा आउन पार्टीगत चासो या प्रोपोगण्डामा भरपर्छ । मुख्यतः शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको र केपी शर्मा ओली, पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक ‘डिस्कोर्स’ मा धेरै हदसम्म कब्जाका कारण पनि यो तस्वीरले चर्चा नबटुलेको हो ।

नन्दप्रसाद अधिकारी अस्पतालको बेडमा . तस्वीर: कनकमणि दीक्षित

आजको धेरै नै प्रभावशाली सामाजिक सञ्जाल, विशेषगरी फेसबूक, यूट्यूब र ट्वीटरका हस्तीहरू (जसलाई ‘इन्फ्लूएन्सर’ भनिन्छ) माझ पनि द्वन्द्वकालका ज्यादतीको जवाफदेहीप्रति पर्याप्त चासो देखिंदैन, जसको अर्थ बलात्कार, हत्या, अपहरण र यातनाका आरोपितलाई पुर्पक्ष, कारबाही र दण्ड नहोस् भन्ने नै हो ।

तर, नन्दप्रसाद अधिकारीको शव राखिएको त्यो बडी ब्यागको तस्वीरले ढिलो–चाँडो नेपाली राष्ट्र र समाजको मस्तिष्कमा उत्तरदायित्वबोध गराइछाड्नेछ । नीति–विमर्श मा तस्वीर सँगैको ‘लंगफम्’ लेखमा जेबी पुन मगर लेख्छन्, “. . . प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवाको नेतृत्वमा अहिले पनि संक्रमणकालीन न्यायलाई लम्ब्याउँदै जाने रणनीतिमा काम भइरहेछ । . . . प्रचण्ड जसरी हुन्छ हिजोका गम्भीर अपराध मानिने घटनालाई सामसुम पार्न र त्यसलाई वैधानिकताले ढाकछोप गर्न चाहन्छन् । . . . सड्ढटकाल अवधिमा भएका नीतिगत निर्णय र गम्भीर मानवअधिकारका घटना सन्दर्भमा आफूमाथि सोधपुछ गरिन र त्यसले आफ्नो राजनीतिक ‘करिअर’ ध्वस्त हुनसक्ने बुझाइमा प्रचण्ड जस्तै देउवा पनि संक्रमणकालीन न्याय लम्ब्याउन खोजिरहेछन् ।”

अवश्यै, नन्दप्रसाद बितिसके र उनको शव शिक्षण अस्पतालको मोर्गमा राखिएको छ । तर नन्दप्रसादको आत्माले संक्रमणकालीन न्याय नपाएसम्म कुनै पनि वेला दाहाल र देउवाहरूको ‘करिअर’ ध्वस्त हुनसक्छ । लेखक पुनलाई वीर अस्पतालको शय्याबाट नन्दप्रसादकी श्रीमती र सह–अनशनकारी गंगामायाले भने झैं, ‘उहाँको शवले नै न्याय मागिरहेछ । त्यसको टुङ्गो नलागेसम्म कसरी गरुँ सद्गत ?’

नन्दप्रसाद अधिकारीको शव बाकस नं. ४ मा । तस्वीर: कनकमणि दीक्षित

२०६५ साल पहिलो पटक मानवअधिकारकर्मी सुशील प्याकुरेलको साथ मैले नन्दप्रसाद र गंगामाया अधिकारीलाई वीर अस्पतालको आकस्मिक कक्ष बाहिरको पेटीमा धर्नामा बसिरहेको भेटेको थिएँ । १८ वर्षीय छोरा कृष्णप्रसादको माओवादीद्वारा २४ जेठ २०६१ चितवनमा चरम यातनापश्चात् बीभत्स हत्या भएपछि न्यायको खोजीमा अधिकारी दम्पती फुजेल गाउँको घडेरी छोडी राजधानी आए । विभिन्न सरकारबाट कहिले थुनामा पारिए, कहिले थानकोट लखेटिए, कहिले पाटनको मानसिक अस्पतालमा जाकिए । छोराको हत्याको जवाफदेहीमा उनीहरूले कानूनी बाटो नै रोजेका थिए तर त्यसमा आलटाल र ढिलाइका कारण दम्पती आश्वासन र छलकपटबीच पटक–पटक आमरण अनशनको विकल्प अपनाउन बाध्य भए ।

अधिकारकर्मी चरण प्रसाईं, सुबोध प्याकुरेल, अधिवक्ता बाबुराम गिरी लगायत हामीले धेरैचोटि नन्दप्रसाद र गंगामायालाई अनशन नबस्न सम्झाउन खोज्यौं । ज्यान बचाउन जबर्जस्ती वीर अस्पतालको क्याबिनबाट ‘पुरानो आईसीयू’ मा लैजाँदा नन्दप्रसादको हामीमाथिको आक्रोश अझै पनि कानमा छँदैछ । अनशनको अन्तिम दिनको अन्तिम अवस्थामा हात जोड्दै अनशन त्यागिदिनुस् भनेको सम्झन्छु । जीउज्यान कमजोर हुँदा पनि नन्दप्रसादको आँखामा जहिल्यै अठोटको चमक हुन्थ्यो तर त्यो दिन बिहान अलि धमिलो पाएँ । हलुका गरी मुण्टो हल्लाए । ‘नाइँ’ भने या त ‘तिम्रो जहिल्यैको आग्रह यही त हो नि’, ठम्याउन सकिएन ।

नन्दप्रसादको निधनपछि शव एम्बुलेन्समा हुइँक्याइहाले । पछ्याउँदै सुबोध प्याकुरेल र म शिक्षण अस्पताल पुग्यौं । दुई चारवटा चिसो बाकस खोल्दै हेर्दा ‘बक्स नं. ४’ मा उनको शव भेट्यौं । दुई वर्ष जतिपछि अस्पतालले बक्सबाट झिकेर सामूहिक शव कक्षमा उनको लासको स्थानान्तरण गर्‌याे ।

सन् १९८१ मा उत्तरी आयरल्याण्डकी राजनीतिक जुझारू २७ वर्षे बबी स्याण्डस्को कारागारमै आमरण अनशनका क्रममा मृत्यु भयो । स्याण्डस्को जति विश्वव्यापी चर्चा भयो, नन्दप्रसादको त्यत्ति नै हुनुपर्ने हो । तर देशबाहिर त के देशभित्रै पनि नन्दप्रसादको जीवन–त्यागको मूल्य बुझिएन, कदर त परै जाओस् ।

कृष्णप्रसाद मारिए । नन्दप्रसादको शव अझै अस्पतालमा छ । ६० वर्षीया गंगामाया नाजुक स्वास्थ्यस्थितिका साथ वीर अस्पतालको क्याबिन नं. ७ मा छिन् । जेठा छोरा (स्व. कृष्णप्रसादका दाजु) नुरप्रसाद पाटन उच्च अदालतमा हूलहुज्जत गरेको भन्दै मानहानि र ज्यान मार्ने उद्योगमा कारागारमा छन् । उनको परिवार पनि छिन्नभिन्न भएको छ ।

कानूनी शासन, न्यायको सर्वोच्चता र जवाफदेही सिद्धान्तको लागि लड्ने एउटा परिवारले पाएको इनाम हो, यो । फुजेल गाउँको अधिकारी परिवारको कानूनी राज्य र दार्शनिक स्पष्टताबारे आमजनमा पर्याप्त सूचना पुगेको छैन । नन्दप्रसादको मरणको दाग तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामा पर्न गयो । थाहा छैन, अरू कुन–कुन नेताले आउँदा दिन अरू कति दाग बेहोर्नुपर्ने हो ।

प्रतिकृया दिनुहोस