- पूर्णप्रसाद मिश्र
कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलन नदिन पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनलाई घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिक रूपमा आह्वान गरेको छ।
सङ्कटका वेलामा गर्न सकिने गरी भाव दर्शन र मानसी पूजाको व्यवस्थासमेत शास्त्रमा रहेकाले कोषले यस्तो आह्वान गरेको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। घरमै बसेर भावनाले पशुपतिनाथको दर्शन गरेको, जल अभिषेक लिएको र चन्दन लगाएको अनुभव गर्न सकिने र यसबाट मनमा शान्तिको अनुभव पनि हुने उनले बताए।
पशुपतिनाथ दर्शन गर्न आउने स्वदेशी एवं विदेशी भक्तजनलाई दक्षिणतर्फको २ नं ढोकाबाट मात्र प्रवेश गर्न पनि कोषले अनुरोध गरेको छ। मन्दिर प्रवेश गर्ने अन्य ढोका बन्द गरिएको छ। पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मन्दिरमा प्रवेश गर्न एकपटकमा १० भक्तजन मात्र छिर्ने व्यवस्था कोषले मिलाएको। दश जनाले दर्शन गरेर फर्केपछि मात्र अर्को समूह पठाउने व्यवस्था मिलाइएको छ।
मूल मन्दिरको उत्तरतर्फको कैलाश नजिकको जुत्ताचप्पल कक्ष पनि हाललाई बन्द गरिएको कोषले जनाएको छ। वरुणधारासँगैको जुत्ताचप्पल कक्ष मात्र खुला हुनेछ। त्यससँगैको लकर सेवा पनि बन्द हुनेछ।
पछिल्लो समय पशुपतिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्या समेत घट्न थालेको छ।
कोषले आजदेखि नै पशुपतिमा विशेष पूजा स्थगित गरेको छ। कोषले भक्तजनको मनोकाङ्क्षा पूरा हुने गरी रु पाँच हजार १०० देखि रु.२१ लाखसम्मको रसिद काटेर विशेष पूजाको व्यवस्था गर्दै आएको थियो। पशुपतिमा गरिने नित्यपूजा, बालभोग, मध्याह्नभोगलगायत कर्म भने नियमित रूपमा हुने कार्यकारी निर्देशक खतिवडाले बताए।
पशुपति आउने केही दर्शनार्थीलाई भने चार ढोकामध्ये पश्चिम ढोका मात्र खोलेर टाढाबाट दर्शन गर्ने व्यवस्था गरिएको छ। भक्तजनलाई गरिने जलअभिषेक भने हाललाई कोषले स्थगित गरेको छ। पशुपतिनाथ मूल मन्दिरभित्र हुने बेलुकी आरती हेर्न जम्मा हुने भक्तजनलाई समेत प्रवेशमा निषेध गरिएको छ। नगण्य रूपमा छिरेका दर्शनार्थीलाई पनि साबुन पानीले हात गोडा धोएर मात्र मूल मन्दिर प्रवेशको व्यवस्था गरिएको छ।
बेलुकी पशुपतिको आर्यघाटपारि गरिने पशुपति गङ्गा आरतीमा पनि हाल २५ जनाभन्दा कम दर्शनार्थीको मात्र उपस्थिति हुने गरी व्यवस्था मिलाइएको छ। विद्युतीय शवदाह गृहमा शव जलाउन यन्त्रसम्म जान पनि मृतकका नजिकका सात जना आफन्त मात्र प्रवेश गर्ने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।
विशेष पूजालगायत हाल स्थगन गरिएका कोषका सेवा अर्को सूचना जारी नभएसम्म खुला नहुने कोषले जनाएको छ।