टिप्पणी सोमबार, चैत १०, २०७६

विपदमा धनीको सम्झना !

दिपेश शाही

विपदमा धनीको सम्झना !

जब संकट पर्छ, समाजले सहयोग गर्न सक्ने व्यक्ति वा संस्थासँग अपेक्षा गर्छ । हुनेहरूले दान गर्छन्, नहुनेले अपेक्षा गर्छन् । कोही अपवाद हुन्छन्, जो टुलुटुलु हेरेर पनि बस्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी घोषणा गरेको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणले विश्व पूरै भयभीत बनेको छ । हजारौंको ज्यान गइसकेको छ, लाखौं मानिस अस्पतालको शैय्यामा छटपटाइरहेका छन् ।

करीब १८५ भन्दा बढी मुलुकमा भाइरसको संक्रमण फैलिसकेको छ । कतिपय मुलुक जोखिमको उच्च सम्भावनामा छन् । कतै रोकथामको प्रयास भइरहेको छ भने कतै संकट समाधानका लागि प्रयास भइरहेको छ ।

नेपालमा पनि एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो, अहिले उपचारपछि सञ्चो भएर उनी घर फर्किएका छन् । खुला सीमाना भएको भारतमा आधा दर्जनभन्दा बढीको ज्यान गइसकेको छ, सयौंमा संक्रमण देखिएको छ ।

छिमेकी चीन त यसको उद्गम थलो नै हो । जहाँ हजारौंले ज्यान गुमाए, लाखौं उपचार गराइरहेका छन् ।

यस्तो संकटको समयमा विश्वको पुँजी बजारका धनीमानीहरूले आर्थिक सहयोगको घोषणा गरिरहेका छन् ।

सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्स, अर्बपति वारेन बफेट, अमेजनका मालिक जेफ बेजोस, फेसबूकका मालिक मार्क जुकरवर्ग,  एलभिएमएचका मालिक बेर्नार्ड आर्नल्ट, इटालियन अर्बपति जर्जियो अर्मानी आदिले कोरोना प्रभावित विश्वका विभिन्न ठाउँका लागि सहयोग घोषणा गरिरहेका छन् ।

त्यति मात्रै नभएर उनीहरूले परोपकारी संस्था नै खोलेर थप सहयोगका लागि मानवीय विपत्ति विरुद्ध लड्न आफूहरू तयार रहेको बताएका छन् ।

चिनियाँ अर्बपति, अनलाइन व्यापारिक समूह अलिबाबाका संस्थापक तथा मालिक ज्याक मा सबैभन्दा बढी सहयोग गर्ने मध्येमा परेका छन् । उनले अमेरिकादेखि एसियासम्मका विभिन्न मुलुकलाई मेडिकल सामग्रीदेखि आर्थिक सहयोगसम्म निरन्तर सहयोग गर्दै आइरहेका छन् ।

नेपाललगायत १० वटा एसियाली मुलुकका लागि सहयोगको घोषणा गरेपछि सामाजिक सञ्जालमा "सम्पत्ति हुनु मात्रै सम्पन्नता होइन रहेछ" भनेर टिप्पणी गरिरहेका छन् ।

यस्तो बेलामा सम्भावित संकटबाट त्रसित बनिरहेको नेपाली समाजले पनि आफ्ना देशका धनीमानीहरू खोजिरहेको छ ।

"सबैले यो अप्ठेरोमा नेपालका धनीहरू खोजिरहेका छन् । मैले उनीहरूबाट ठूलो परोपकारी दान होइन, उनीहरूको कम्पनीले उत्पादन गरेको चाउचाउ, बिस्कुट, वियर, इलेक्ट्रोनिक सामानका खोल, बट्टा, बोतलहरूले कुरूप पारेका डाँडाकाँडा, नदीनाला सफा गर्ने दायित्व खोजी रहेको छु", अनुसन्धानकर्ता तथा वातावरणविद उत्तमबाबु श्रेष्ठले ट्विटरमा लेखेका छन् ।

श्रेष्ठको यो भनाइ आम नेपाली नागरिकको धारणा हो भनेर यसको समर्थनमा आएका प्रतिक्रियाहरूले देखाउँछन् ।

श्रेष्ठ हरेक विषयलाई वातावरणीय दृष्टिकोणले नियाल्छन् । उनले आफ्नो ट्विटलाई कोट गर्दै भनेका छन्, "समाजलाई अप्ठेरोमा सहयोग नगरे पनि पानी, हावा, जमिन जस्ता सार्वजनिक सम्पत्तिलाई ध्वस्त नपारिदिएर समाज, राज्यलाई थप बोझ नदिए पनि हुन्थ्यो नेपालका धनीमानीहरूले । नदी सफा गर्न, फोहोर संकलन गर्न, प्रदूषणले लाग्ने रोगबाट उपचार गर्न पैसा हाम्रै गोजीबाट जाने हो ।"

पत्रकार समा थापाले ट्विट गरेकी छन्, "विश्वका धनीहरू नाफा मात्र कुम्ल्याउँदैनन् । कोभिड१९ सँग लड्न ज्याक माले ५ लाख किट र लाखौं मास्क अरू देशलाई सहयोग गरे । रतन टाटाले ताज आक्रमणमा महीनौंसम्म मजदुरलाई बिनाकाम तलब दिए ।

जुकरवर्गको सक्रियता उस्तै छ । हाम्रोमा भने विपदमा सबभन्दा पहिला रुने र सहयोग माग्ने धनी व्यापारी नै हुने ।" केही दिन अघि मात्रै वायुसेवा सञ्चालक र होटल व्यवसायीहरू कोरोनाभाइरसले व्यवसाय चौपट भएको भन्दै सरकारसँग उल्टै सहयोग माग्न गएका थिए । पत्रकार थापाले यही विषयलाई खिन्नता प्रकट गरेकी छन् ।

उसो त नेपालका धनीहरूले सहयोग गर्दै नगरेको भने होइन । विपत्तिमा पटकपटक घोषणाहरू गरिनै रहेका हुन्छन् । कतिपय कार्यान्वयन हुन्छन्, कति घोषणामा नै सीमित हुन्छन् ।

त्यही विषयलाई उठाएका छन् नेपाली कांग्रेसका नेता धनराज गुरुङले । "चिनियाँ व्यवसायी ज्याक माले नेपाललाई सहयोग गर्ने घोषणा गरे । तर नेपालका ठूला उद्योग व्यवसायीहरूले के गर्दैछन् हँ ? कसैले सहयोगको घोषणा गरेको थाहा पाइएन त !",  उनले अगाडि लेखेका छन्, "हुन त कतिपय ठूला उद्योग व्यवसायीहरूले भूकम्पपछि घोषणा गरेका घरहरू बनाउन अहिलेसम्म बाँकी नै छन् क्यार !"

त्यस्तै मानवशास्त्री सुरेश ढकालले व्यापारीहरूमा मानवीय छविको अभाव रहेको भनेर आक्रोश प्रकट गरेका छन् । "सुन्दा दुख लाग्छ तर नेपाली धनाढ्य र खास गरी ब्यापारीहरूमा मानवीय छविको अभाव देखिन्छ । जब गाह्रो पर्छ, जतिबेला जनता सबैभन्दा बढी संकटमा हुन्छन् त्यतिबेला नै नाफाको मौका देख्छन् । कमजोर राज्य, लोभी नेता, कमजोर सुशासनले तिनैलाई बल पुर्‍याउँछन् !" प्राध्यापक ढकाल सोध्छन् "कहाँ छन्? पत्तो छैन ।"

यसै पनि ठूला भनिएका व्यापारिक घरानासँग संकटका बेलामा समाजले अपेक्षा राख्छ नै । त्यसैमा विश्वभर गनिएका धनीमानी व्यक्तिहरूले स्वस्फूर्त सहयोगको घोषणा गर्न थालेपछि मानिसले आफ्नो वरिपरिका त्यस्तै व्यक्तिहरूको खोजी गर्नु स्वाभाविक पनि हो ।

मिडिया रिसर्चर भूमि चापागाईंले ज्याक माले उपचार सहयोग घोषणा गरिसक्दा नेपालका व्यवसायीले सहुलियतसम्म दिन नसकेको भनेर आश्चर्य व्यक्त गरेका छन् । "नेपालका ठूला उद्योगी व्यवसायी कर छुट, ब्याज मिनाहा, सहज कर्जा चाहिंदा मात्र ब्युँझिने हुन् कि क्या हो । ज्याक माले उपचार सहयोग घोषणा गर्दा यताकाले सहुलियतसम्म भन्न सक्या छैनन् त," चापागाईंले ट्विट गरेका छन् ।

पत्रकार गनी अन्सारीले ज्याक माले नेपाललगायत १० वटा मुलुकलाई सहयोग घोषणा गरेको ट्विटलाई कोट गर्दै अर्बपतिहरूलाई ब्यंग्यात्मक तवरले वर्गीकरण गर्छन् । "अर्बपति दुई थरीका हुँदा रहेछन्: १) ती जसले आफ्ना अर्बौं रकम गर्वका साथ परोपकार/लोककल्याणमै खर्च गर्छन्, २) ती जो फोर्ब्स म्यागजिनले सार्वजनिक गर्ने अर्बपति व्यक्तिहरूको सूचीमा पर्छन् (अनि नाक ठूलो पार्छन्), त्यही भजाएर थप सम्पत्ति थुपार्छन् ।"

नेपालबाट अहिलेसम्म अर्बपतिको सूचीमा पर्न सफल व्यापारी उद्योगपति विनोद चौधरी हुन् । अरू पनि थुप्रै व्यापारिक घरानाहरू नेपालमा धनाढ्यको परिचय बनाए पनि फोर्ब्स म्यागजिनमा नाम लेखाउन चौधरी मात्रै सफल भएका छन् ।

उद्योगी विनोद चौधरीले फोर्ब्स म्यागजिनको अर्बपतिको सूचीमा आफ्नो नाम लेखाउन सफल भएपछि  केही वर्ष अघि आफ्नो आत्मवृतान्त प्रकाशन गरेका थिए । उनले आफूले भारतमा गएर विभिन्न व्यक्तिसँग भेटेकोदेखि लिएर आफू धनी हुन गरेका संघर्षहरूको फेहरिस्त उक्त पुस्तकमा थियो । त्यसमध्ये चौधरीले भारतीय चर्चित कलाकार देवानन्दलाई मोजा बेचेको प्रसंग पनि एउटा थियो ।

ज्याक माले उपचार सहयोगको घोषणा गरेसँगै त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङले ट्विटमा देवानन्दलाई मोजा बेच्ने अर्बपति कहाँ छन् भनेर प्रश्न गरेका छन् । "ज्याक मा युवा छँदा मासिक १२ डलरमा पढाउँथे । हार्बर्ड पढ्न १० पटक निवेदन दिए, सधैं अस्वीकृत भए । उनी आज विल क्लिन्टन, बाराक ‌ओवामाहरूजस्ता वाकपटुलाई समेत अवाक, दंगदास पार्ने अन्तर्वार्ता दिन्छन् र पुण्यकर्म गर्छन् । 'देवानन्दलाई मोजा बेचेको' कथा बेच्ने नेपाली अर्बपति के गर्दैछन् ? थाहा चाहियो ।"

त्यस्तै मुटुरोग विशेषज्ञ डाक्टर रामेश कोइरालाले नेपालका उद्योगी व्यवसायी धनीमानीहरूसँग नेपालीले गरेका अपेक्षाको सूची बनाएका छन् ।

"चौधरीले मास्क बनाउन थाले,

मेडिकल इक्युप्मेन्टका एजेन्टले नि:शुल्क मर्मत गरिदिए,

निसानले सयवटा एम्बुलेन्स दियो,

ज्योचि ग्रुपले स्यानिटाइजर बाँड्यो,

गोल्छाले क्वारेन्टाइनमा बस्नेको खानाको जिम्मेवारी लियो,

यतीले नाफारहित सेवा दियो", उनले आफ्नै सदावहार आक्रामक शैलीमा अन्तिममा लेखेका छन् "नेपालीको यस्तो पढ्ने भाग्य यही ट्विट नै रछ त !"

कोइरालाले ट्विट गरेको केही समयपछि उद्योगपति विनोद चौधरीले कोरोना संक्रमण रोकियोस् भनेर पूजा-हवन गरेको खबर सार्वजनिक भएको थियो । त्यसपछि डाक्टर कोइरालाले ब्यंग्य गरे, "सरी है, चौधरीले हवन गरेर आफ्नो दायित्व पूरा गरेछन्  ।"

सामाजिक सञ्जालदेखि सञ्चार माध्यम सम्ममा नेपाली धनीमानीहरूको सहयोगी भावनामाथि प्रश्न उठेपछि अब उनीहरूले केही सहयोगको घोषणा गर्नसक्ने सम्भावना रहेको छ । उद्योगपति वसन्त चौधरीले त ट्विटरमा नै नजानिंदो पाराले प्रश्न गरे "सार्क आपतकालीन कोषमा सदस्य राष्ट्र बाहेक सर्वसाधारणले पनि आर्थिक सहयोग गर्न मिल्ने हो कि हैन ? कसरी थाहा पाउने होला । कसैसँग आधिकारिक जानकारी भए आभारी हुने थिएँ ।"

ट्विटरमा अधिकांश प्रयोगकर्ताले उनको उक्त ट्विटमाथि खिल्ली उडाइरहेका छन् ।

अमेरिकाको स्ट्यान्फर्ड विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक विवेक पौडेलले व्यापारीले गर्ने मिडियाबाजी र असहयोगको शैलीमाथि खबरदारी गरेका छन् ।

"नेपालका धनाढ्य कता छन् ? सबैले सोधखोज गर्न थालेपछि तिनले आफ्नो नाममा यो वा त्यो अभियान चलाउलान् । मिडियामा आफ्नो परोपकारबारे खबर पनि छपाउलान्", उनले धनीमानीलाई सुझाएका छन् "तर तिनले गर्नसक्ने सबैभन्दा ठूलो काम हो: इमानदार भएर आफ्नो दायित्वको कर तिर्नु । बाँकी हामी सरकारसँग मागौंला ।"

प्रतिकृया दिनुहोस