सम्पादकीय शनिबार, चैत ८, २०७६

घरमै बसौं, महामारीबाट बचाैं

किरण नेपाल

घरमै बसौं, महामारीबाट बचाैं

सङ्कट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !
असिना आई फूलबारीकै फूलहरू पहिले झर्छ ।

युगकवि सिद्धिचरण श्रेष्ठले ‘युगको उर्दी’ कवितामा भने झैं यतिवेला विश्व कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्कटमा छ । चीनको वुहानबाट तीन महीनाअघि शुरू यो घातक बिमारबाट ७ चैतसम्म विश्वमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अढाइ लाखभन्दा बढी उपचार गराइरहेका छन् भने झण्डै ९० हजार निको भएर घर फर्किएका छन् ।

शुरूआतमा चीनले सूचना लुकाएको भनिएको यो महामारी अहिलेसम्म विश्वका १८० देशमा पुगिसकेको छ । पश्चिम एशियाको इरान, युरोपका इटाली, स्पेन, जर्मनी र फ्रान्स तथा एटलान्टिक पारि अमेरिकामा पनि महामारीका कारण मानवीय क्षति बढ्दो छ । छिमेकी भारतमा पाँच जनाको मृत्युका साथै संक्रमण संख्या पनि थपिंदो छ । महामारीले भूगोल, धर्म, जाति, लिङ्ग, वर्ग, शक्तिलाई चिनेको छैन । सबैलाई सताएको छ, त्रस्त तुल्याएको छ ।

सरकारी आँकडामा नेपालमा अहिले थप कोरोना भाइरस संक्रमित कोही नभेटिए पनि सन्तोष मान्ने अवस्था पटक्कै छैन । चीनको वुहान, इटाली लगायतका देशमा संक्रमणको दर एकाएक रातारात बढेर अकल्पनीय क्षति बेहोर्नुपरेको अनुभव हाम्रासामु छ । त्यसैले ढिलै सही, सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समिति’ ले ५ चैतमा अत्यावश्यक नपरेसम्म आफ्नो घरबाट ननिस्कन आग्रह गरिसकेको छ ।

विदेशबाट हवाई आवागमनमा पूर्णतः रोक लगाउनुका साथै स्थलमार्गमा कडाइ गरिएको छ । २५ जनाभन्दा माथिको भेला नगर्न, विद्यालय, सम्पूर्ण परीक्षा, सिनेमा हल लगायत भीडभाड हुने सबैखाले गतिविधि बन्द गर्न, त्यस्ता ठाउँमा नजान, स्वच्छता अपनाउन आग्रह पनि गरिसकेको छ । ७ चैतमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सम्बोधन गर्दै १० चैतबाट केही समयका लागि लामो दूरीका सवारी बन्द गर्ने तथा अत्यावश्यक बाहेकको अन्य सेवा बन्द गर्ने घोषणा गरे ।

मानिसबाट मानिसमा सर्ने यो महामारीबाट जोगिन अहिले संसारभर ‘सामाजिक विच्छेद’, ‘व्यक्तिगत दूरी’ का लागि आफूले आफैंलाई थुन्ने अर्थात् स्व–नजरबन्द (लकडाउन) प्रक्रिया अवलम्बन गर्न थालेका छन् ।

फेरि पनि तत्कालका लागि महामारीको सबैभन्दा सहज र भरपर्दो उपचार ‘लकडाउन’ नै हो । भीषण आगलागी भइरहेका वेला थप क्षति हुन नदिन आगोले छोइनसकेका बीचका केही घर भत्काउनु परे जस्तै वैज्ञानिक प्रयत्न हो– लकडाउन।

तत्कालका लागि यसले अर्थतन्त्रदेखि समाजका विविध पाटोमा असर पारे पनि महामारीबाट हुने तत्कालको क्षतिबाट यसले मुलुक र समाजलाई नै जोगाउन सक्छ । हुन त महामारीको त्रासका कारण पर्यटन क्षेत्रको कारोबार लगभग शून्यमा झरेको छ । झण्डै दुई दशकदेखि अर्थतन्त्रको प्राण बनेको रेमिटेन्सको आप्रवाहमा कमी आउने प्रष्ट सङ्केत देखिइसकेको छ । कारण, नेपालका केही वैदेशिक श्रमबजारको गन्तव्य समेत कोरोना भाइरसको चपेटामा परिसकेका छन् ।

पर्यटनबाट हुने आम्दानी र रेमिटेन्स आप्रवाह कम हुनु भनेको अर्थतन्त्र नै शिथिल हुनु हो । त्यसमाथि नेपाली निजी क्षेत्रको प्रतिरक्षा यति कमजोर छ कि यसपटक पनि त्यो लज्जास्पद रूपमा प्रकट भइसकेको छ ।

व्यवसायीहरूले साङ्गठनिक रूपमै होटलको ब्याङ्क ऋणको ब्याजमा छूट, एअरलाइन्स कम्पनीलाई राहत, कर्मचारीलाई तलबमा सरकारको सुविधा, विद्युत् महसुल छूट, कर छूट लगायतका माग राखिसकेका छन् । सबै एक भई लड्नुपर्ने महामारी विरुद्ध शुरूआती अवस्थामै आत्मकेन्द्रित हुन पुग्नु व्यवसायीको अर्को ठूलो रोग हो । हो, अर्थतन्त्र जोगाउन सरकारले यथोचित पहल गर्नैपर्छ ।

देशकै सबैभन्दा ठूलो रोजगारदाता निजी क्षेत्रको कारोबार जोगाउन करदेखि ब्याजसम्ममा छूट दिनु भनेको झण्डै ३५ लाख व्यक्तिको रोजगारी जोगाउनु पनि हो । दैनन्दिन रोजगारी गरी जीवन निर्वाह गर्ने श्रमिकका घरमा चूलो बल्ने वातावरण बनाउनु पनि हो । जसको अभावमा देशमा सामाजिक विषमता, आपराधिक अवस्था निम्तिन सक्छ, आन्तरिक राजनीतिदेखि भूराजनीतिसम्मको असर पर्न सक्छ ।

फेरि पनि तत्कालका लागि महामारीको सबैभन्दा सहज र भरपर्दो उपचार ‘लकडाउन’ नै हो । भीषण आगलागी भइरहेका वेला थप क्षति हुन नदिन आगोले छोइनसकेका बीचका केही घर भत्काउनु परे जस्तै वैज्ञानिक प्रयत्न हो– लकडाउन ।

सवा अर्बभन्दा बढी जनसंख्या भएको छिमेकी भारतले पनि ९ चैत आइतवार ‘जनता कर्फ्यू’ नाम दिंदै सम्भाव्य ‘लकडाउन’ र त्यसको प्रभावको परीक्षण गर्दैछ । सरकारसँग आशा र निराशाको संशयबीच हामीले पनि आफू र अरूलाई बचाउन यही विधि अपनाउनुको विकल्प छैन । 

प्रतिकृया दिनुहोस