खेलकुद आइतबार, चैत ९, २०७६

कोरोनाभाइरस संक्रमणको त्रास खेलाडीहरूमा पनि

नुनुता राई

कोरोनाभाइरस संक्रमणको त्रास खेलाडीहरूमा पनि

विश्वमा कोरोनाभाइरस संक्रमण फैलिएसँगै हरेक क्षेत्रमा असर परेको छ । नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमित फेला नपरे पनि यसको असर चाैतर्फी परेको छ।

शैक्षिक संस्था, व्यवसाय, पर्यटन, खेलकुद कार्यक्रमहरू सबै स्थगित भइरहेका छन् । कोरोनाभाइरस संक्रमण फैलनसक्ने भन्दै सरकारले सावधानी अपनाउन सबैलाई अनुरोध गरिरहेको छ।

त्यही कारण तालिका सार्वजनिक भइसकेका खेल पनि स्थगित भएका छन् । खेलकुद, अभ्यास स्थगित भइसकेपछि खेलाडीमा कस्तो असर पर्‍यो, सुरक्षित हुन के गरिरहेका छन् भनेर हिमालखबरले उनीहरुसँग कुराकानी गरेको छ ।

मिरा राई, धावक अल्ट्रा म्याराथन

म अहिले झापाको घरमा पुगेकी छु । कोरोनाभाइरसले विश्वलाई आतंकित मात्रै बनाएको छैन । धेरै खेलकुदहरू स्थगित भएका छन् । त्यसको शिकार म पनि भएकी छु । मेरो अगुवाइमा मेरो जन्मस्थल भोजपुरको सानो दुम्मामा २४ फागुनदेखि हुने भनिएको भोजपुर ट्रेल रेस अन्तिम समयमा स्थगित भयो । दौड प्रतियोगिता गर्दा संक्रमण फैलन सक्ने भन्दै स्थानीय गाउँपालिकाले रोक लगायो।

त्यति मात्र नभएर म सहभागी हुने यूरोपका धेरै दौड प्रतियोगिताहरू स्थगित भएका छन् । विश्वमा त्रास फैलाएको भाइरसबाट सकभर जोगिने प्रयास गर्दै अहिले झापामा परिवारसँग समय बिताइरहेकी छु । झापामा खुला ठाउँमा सामान्य दौड्ने र सुरक्षित हुने प्रयास गरिरहेकी छु।

सरस्वती चौधरी, भलिबल खेलाडी

चैतमा आईजीपी कप हुनुपर्ने तालिका भएपनि कोरोनाभाइरस संक्रमण फैलन सक्ने कारण स्थगित भएको छ । त्यही कारण नियमित अभ्यास समेत रोकिएको छ । म चाहिं गएको महीना बेनीको दिदी बहिनी कप खेल्दा कुर्कुच्चामा लागेको चोटका कारण आराम गरिरहेकी थिएँ।

तीन दिनअघि मात्रै प्लाष्टर खोलिएको छ । कोरोनाभाइरस संक्रमणकाे डरले कोठामा नै बसिरहेकी छु । यो मलाई मात्रै नभएर सबैलाई यस्तै भइरहेको होला । त्रासले आत्तिनेभन्दा पनि सरसफाइमा ध्यान दिने र सचेत हुन जरुरी छ।

निरु थापा, क्याप्टेन राष्ट्रिय महिला फुटबल टिम

तीन चैतदेखि हुन लागेको महिला लिग कोरोनाभाइरस संक्रमण फैलने त्रासले स्थगित भएको छ । विभागले पनि दश दिनका लागि बिहीबारदेखि बिदा दिएको छ।

अभ्यास पनि बन्द भएकाले कोठामा नै बसिरहेकी छु । घर जाने सोँच बनाएकी छैन । यहाँ नै सुरक्षित बस्ने योजना छ । कोरोना भाइरसले सबैलाई त्रास फैलाएको छ । तर, आत्तिने भन्दा पनि सचेत भएर सुरक्षित रहनुपर्छ भनेर त्यही गरिरहेकी छु ।

भिडभाडमा गएकी छैन र बाहिर हिँड्दा पनि मास्कको प्रयोग गरिरहेकी छु।

सुवास खकुरेल, क्रिकेटर

अहिले यो कोरोनाभाइरसले सबै योजनाहरुमा असर पुर्‍याएको छ । वैशाखमा हुनुपर्ने बीएम कपको टिम छनाेट भएर अभ्यास शुरु हुनुपर्ने, उपत्यका जिल्ला प्रतियोगिता हुनुपर्ने सबै स्थगित भएको छ ।

समूहगत अभ्यासहरु पनि स्थगित भएको छ ।

अहिले व्यक्तिगत रुपमा आफै सामान्य व्यायाम गर्ने, स्वास्थ्यमा ध्यान दिने जस्ता कार्य मात्रै भइरहेको छ । सबैतिर भीडभाड कम हुँदै गएको छ । यूरोपमा फैलिरहेको भाइरसले गर्दा मनमा हल्का डर लाग्न थालेको छ।

यतिवेला सचेत भएर सरसफाइमा एकदम ध्यान दिनुपर्ने भएको छ । म पनि घरमा बसेर आफू सुरक्षित रहने प्रयास गरिरहेको छु ।

नवयुग श्रेष्ठ, फुटबल खेलाडी

भाइरस संक्रमण हुनसक्ने कारण तालिका अनुसार अब खेलहरू सुचारु हुन गाह्रो छ । जिल्ला स्तरीय लिगहरु सबै स्थगित भएको छ । हाम्रो अभ्यास पनि स्थगित भएकोले म घर गएको छु ।

करीब दश महीना भएको थियो घर नआएको । बिदा भएपछि काठमाडौंमा बस्न भन्दा सुरक्षित साथ घरमा बस्ने, परिवारसँग केही समय भएपनि समय बिताउने भनेर घर आएको हो ।

१ अप्रिलदेखि वर्ल्डकप क्वालिफाइड प्रतियोगिताका लागि अभ्यास गर्ने तयारी थियो । अभ्यास सुचारु हुने भयो भने आउनुपर्छ । नत्र केही समय घरमा नै सुरक्षित साथ बस्ने हो ।

इन्दु बर्मा, क्रिकेट खेलाडी

चैतमा हुन लागेको घरेलु प्रतियोगिता पनि यो कोरोना भाइरसको कारण स्थगित भएको छ । अभ्यासहरू सबै स्थगित भएको कारण घरमा नै बसिरहेको छु । सकेसम्म घरमा नै बस्नु भनेको छ । अभ्यास गर्न नपाएपछि झनै गाह्रो भएको छ । सामान्य व्यायाम गर्ने र सरसफाइमा ध्यान दिएर बसेकी छु।

अलि आपतकालीन अवस्था आयो भने ड्युटी जानुपर्ने पनि हुने भएकोले घर गएकी छैन । सबैलाई सम्पर्कमा रहन भनेर भनिएको छ । मास्क लगाउने बानी थिएन । बाहिर हिँड्दा मास्क लगाउनुपर्ने, केही छोएपछि र छुन अघि पनि ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुपर्ने भएको छ । मनमा एकदम त्रास छाएको छ । सुरक्षित रहने कोशिस गरिरहेकी छु।

 

प्रतिकृया दिनुहोस