टिप्पणी आइतबार, चैत ९, २०७६

टक भन्दा घर महत्व

वसन्त महर्जन

टक भन्दा घर महत्व
दोलखाको टक्सार घर । तस्वीर: वसन्त महर्जन
वसन्त महर्जन

दोलखाको प्रसङ्ग आउनासाथ नेपालमा चाँदीको मुद्रा निष्कासन गर्ने पहिलो राज्य भनेर उल्लेख गरिन्छ । आजभोलि पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्ने क्रममा चाँदीको मुद्रा बनाउने ठाउँ भनेर त्यहाँको एउटा घरलाई देखाउने गरिएको छ । त्यो घर नै टक मार्ने टक्सार हो, होइन भनेर पुष्टि गर्ने ऐतिहासिक स्रोत भने अझै भेटिएको छैन ।

विक्रमको सोह्रौंदेखि सत्रौं शताब्दीको उत्तरार्द्धसम्म दोलखा एक स्वतन्त्र राज्यको रूपमा कायम रह्यो । त्यसअघि यो राज्य नेपालमण्डल अन्तर्गतको सामन्त शासित क्षेत्र थियो । नेपालमण्डलका राजा यक्ष मल्लले अहिलेको भारतमा पर्ने चम्पारण लोहावर आदि कोकी राज्य विरुद्ध अभियान थाल्दा दोलखा क्षेत्रमा सामन्तका रूपमा रहेका कीर्तिसिंहको पनि सहभागिता थियो ।

उनी वि.सं. १५३१ सम्म दोलखाकै सामन्त थिए । केन्द्रको किचलोबाट फाइदा उठाउँदै उनका छोरा उद्धवदेवले दोलखालाई केन्द्रबाट अलग गरी स्वतन्त्र राज्यका रूपमा स्थापना गरेर आफूलाई ‘दोलखाधिपति’ घोषणा गरेका थिए । उनीपछिका राजाहरू नन्ददेव, उजोतदेव र गोविन्ददेवले दोलखालाई जुन समृद्धिको शिखरमा पुर्‍याएका थिए त्यसैको जगमा वि.सं. १५९१ मा इन्द्रसिंहदेव राजा बनेका थिए । यिनै राजाले चाँदीको मुद्रा निष्कासन गरेका हुन् ।

काठमाडौं उपत्यकाका राजा महेन्द्र मल्ललाई चाँदीको मुद्रा चलाउने पहिलो राजा मानिंदै आएकोमा दोलखाका राजा इन्द्रसिंहदेवले निष्कासन गरेको मुद्रा पाइएपछि त्यसलाई संशोधन गरी इन्द्रसिंहदेवलाई प्रथम राजा मानिन थालिएको हो । दुवै मुद्रामा साल उल्लेख छैन ।

वि.सं. १६१६ सम्म नरेन्द्र मल्ल नै राजा रहेको र उनका उत्तराधिकारी महेन्द्र मल्लको मृत्यु वि.सं. १६३० मा भएका कारण यस बीचमा काठमाडौंमा चाँदीको मुद्रा निष्कासन भएको कुरामा दुईमत छैन । दोलखामा इन्द्रसिंहदेवका अभिलेखहरू वि.सं. १६०४ सम्म मात्रै पाइएको र त्यसपछि शासकका रूपमा उनका सन्तानहरू देखा परेका कारण राज्यकालका दृष्टिले इन्द्रसिंहदेव अगाडि देखिनु स्वाभाविक छ ।

पहिलो चाँदीको मुद्रा ।

स्वतन्त्र दोलखा राज्यलाई थप समृद्ध र मजबूत बनाउन इन्द्रसिंहदेवको योगदान उल्लेखनीय छ । यही भएर दोलखामा उनको सालिक तथा पार्क बन्नु आश्चर्यको कुरा होइन । प्राचीन दोलखा बस्ती प्रवेश गर्ने ठाउँमा हाल इन्द्रसिंहदेवको नाममा सानो पार्क निर्माण हुनु यसको उदाहरण हो ।

पर्यटन क्षेत्र सम्बद्ध व्यक्तिहरू यसलाई पर्यटकीय आकर्षणका रूपमा प्रस्तुत गर्न चाहन्छन् । सो क्षेत्रका ऐतिहासिक पात्रहरूका बारेमा विभिन्न स्मारक बन्नु र त्यसका बारेमा जानकारी दिनु राम्रै काम हो । 

इन्द्रसिंहदेवद्वारा निष्कासित चाँदीको मुद्रा बनाउने ठाउँ भनेर डाँडाथोकमा रहेको घरलाई देखाउने गरिए पनि त्यसलाई पुष्टि गर्ने प्रमाणको अभाव यथावत् छ । ठूलो र पुरानो त्यो घर अवलोकन गर्दा कुनै दरबारिया वा ठूला व्यापारीको हो भन्ने अनुमान भने गर्न सकिन्छ ।

राणाकालमा टक नमार्ने तर रुपैयाँ पैसा भण्डारण गरिने ठाउँलाई पनि टक्सार नै भन्ने गरिएकाले त्यही प्रयोजनमा लगाइएको घर पनि हुनसक्छ । बोलीचालीमा टक्सार घर भनिएकै कारण इन्द्रसिंहदेवको चाँदीको मुद्रा यहीं बनाइएको भनेर अनुमान मात्रै गरिएको बुझन कठिन छैन ।

पर्यटकीय आकर्षण यथार्थ र ऐतिहासिकतामा आधारित हुनुपर्छ । पर्यटकलाई खुशी पार्ने नाममा काल्पनिक र प्रमाणविहीन कुरा गर्नु उचित छैन । पर्यटकका लागि मुद्रा आकर्षणको विषय भएकैले सङ्ग्रहालयको प्रदर्शनीकक्षमा राखिएको हो । काठमाडौं, पाटन र भक्तपुरबाट थुप्रै खालका मुद्राहरू निष्कासन भए पनि ती मुद्राहरू कहाँ टक मारिएका हुन् भन्ने कुरालाई महत्व दिइएको छैन र यो चासोको विषय बनेको पनि छैन ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस