खेलकुद बुधबार, चैत ५, २०७६

गाेक्याेमा स्केटिङ: एउटा प्रचार–प्रहसन

मुकेश पोखरेल

गाेक्याेमा स्केटिङ: एउटा प्रचार–प्रहसन

२ फागुनमा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले सोलुखुम्बु जिल्लाको गोक्यो तालमा आइस स्केटिङ र आइस हकीको मैत्रीपूर्ण प्रतियोगिता आयोजना गर्‍यो । प्रतियोगितामा भारतका चार, अमेरिकाका तीन, रसियाका तीन र क्यानडाका दुई जना खेलाडीको सहभागिता थियो, जसमध्ये केही ओलम्पिकमा सहभागी खेलाडी पनि थिए । खेलाडीसहित चार जना गाइड र चार जना सचिवालयका कर्मचारी टोली २४ माघमा काठमाडौंबाट हिंडेर १ फागुनमा ४७९० मिटर उँचाइमा रहेको गोक्यो ताल पुगेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य भ्रमण वर्षमा नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा प्रतियोगिता आयोजना गरेको बताउँछन् । “हिउँद पर्यटनको सिजन होइन भन्ने मान्यता छ । यो मान्यता बदल्न प्रतियोगिताको आयोजना गरेका हौं”, उनी भन्छन् । यसबाहेक प्रतियोगितालाई संसारकै उच्च हिमाली क्षेत्रमा भएको आइस स्केटिङ प्रतियोगिता पनि मानिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको यो तालमा हिउँदको समयमा खेल प्रतियोगिता आयोजना गर्ने निर्णय भने एक वर्ष पुरानै हो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रामसार साइटमा समेत सूचीकृत ३० वर्ग किलोमिटर क्षेत्रफलमा रहेको तालमा खेल प्रतियोगिता गर्दा हुनसक्ने जोखिमको अध्ययन नभएको भन्दै स्वीकृति दिएको थिएन ।

त्यसपछि एक अमेरिकी संस्थाले यसबारेको अध्ययन गरेर भ्रमण वर्ष सचिवालयले प्रतिवेदन विभागमा बुझएको थियो । प्रतिवेदनको अध्ययनपछि बल्ल विभागले प्रतियोगिताको अनुमति दिएको थियो । भ्रमण वर्ष सचिवालयका अनुसार, प्रतियोगिताको आयोजनाका लागि करीब रु.१ करोड खर्च लागेको छ ।

४७९० मिटर उँचाइमा रहेको गोक्यो तालमा स्केटिङ र हकी आयोजना गरी नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने सरकारी कदम व्यावहारिक भन्दा प्रचारबाजीमा केन्द्रित देखिन्छ। 

भ्रमण वर्ष संयोजक वैद्यले खेल आयोजनालाई सफल भनेर प्रचार गरे पनि सम्बन्धित सरकारी निकायकै पदाधिकारी यसलाई सस्तो प्रचारबाजी ठान्छन् । पर्यटन विभागका एक उच्च अधिकारी हिउँदमा गोक्योमा पर्यटक लैजाने कुरा सुन्दा राम्रो भए पनि व्यावहारिक नभएको बताउँछन् ।

“एकपटक प्रतियोगिता गर्दैमा नयाँ पर्यटकीय गन्तव्य स्थापित हुनसक्दैन” ती अधिकारी भन्छन्, “हेलिकप्टरबाट पुगिने कठिन स्थान नभई धेरै मानिसको पहुँच पुग्ने र सहज ठाउँलाई गन्तव्यका रूपमा विकास गर्नुपर्दछ ।”

कति सम्भव ?

नेपाल भ्रमण वर्ष १९९८ को गन्तव्य संयोजक पर्यटन व्यवसायी योगेन्द्र शाक्य हिमाली क्षेत्रमा खेल आयोजना गरेर सकारात्मक सन्देश दिन खोजिए पनि वर्षमा एउटा प्रतियोगिता आयोजना गर्दैमा नयाँ गन्तव्य भन्न नमिल्ने बताउँछन् । “हामीले पनि १९९८ मा धेरै गन्तव्य घोषणा गर्दै हिंड्यौं, २०११ सम्म आइपुग्दा कतिपय गन्तव्यको औचित्य नै देखिएन” शाक्य भन्छन्, “गन्तव्य बन्नका लागि पूर्वाधार महत्वपूर्ण कुरा रहेछ ।”

जलवायुविज्ञ ङमिन्द्र दाहाल ३ हजार भन्दा माथि हिमाली क्षेत्रको पर्यटन साहसिक पर्यटनभित्र पर्ने भएकाले यस्तो कार्यक्रम गर्दा मौसमलाई विशेष ध्यान दिनुपर्ने बताउँछन् । दाहालका अनुसार, जाडोयाममा हावा उत्तरी भेगबाट गंगाको मैदानतर्फ बहन्छ भने गर्मीमा दक्षिणबाट उत्तर ।

न्यूनचापीय रेखातर्फ बहने चिसो हावा हिमाली क्षेत्रका खोल्सी र गल्छी हुँदै बहने भएकाले हावाको वेगलाई सधैं ख्याल गर्नुपर्दछ । त्यसबाहेक जाडोमा एकहप्तासम्म पनि हिमपात हुनसक्ने भएकाले लामो समयको हिमपात र जाडो धान्न सक्ने पूर्वाधारमा ध्यान दिनुपर्दछ । “उच्च हिमाली भागमा मौसमी जोखिम धेरै हुन्छन्, त्यसैले उद्धार संयन्त्र बलियो बनाउनुपर्छ, अनि मात्र सुरक्षित गन्तव्य मान्न सकिन्छ”, उनी भन्छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्याय भने हिमाली क्षेत्रमा हिउँदमा पनि पर्यटक भित्र्याउन सकिन्छ भन्ने सोच नै गलत भएको बताउँछन् । “प्रचार त जे गरे पनि भयो, तर स्थानीयहरू नै चिसोले तलतिर झर्ने मौसममा पर्यटक ओइरिन्छन् भन्ने कुरा आफैंमा उचित लाग्दैन”, उनी भन्छन् ।

आइस स्केटिङ र आइस हकी प्रतियोगिता सम्पन्न भएसँगै हिमाली क्षेत्रको पर्यटनमा सक्रिय कम्पनीहरू भने उत्साहित छन् । सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक मिङमा शेर्पा यो प्रतियोगिता भ्रमण वर्षकै उत्कृष्ट काम भएको बताउँछन् । “यसबाट उच्च हिमाली क्षेत्रमा जाडोमा पनि खेल आयोजना गर्न सकिने पुष्टि भएको छ” उनी भन्छन्, “अब अर्को वर्षदेखि हामी जस्ता निजी कम्पनीले पनि यस्ता प्रतियोगिताको आयोजना गर्न सक्छौं ।”

 

प्रतिकृया दिनुहोस