सम्पादकीय मंगलबार, चैत ४, २०७६

'कोभिड १९' महामारी विरुद्ध राष्ट्रिय एकता

किरण नेपाल

'कोभिड १९' महामारी विरुद्ध राष्ट्रिय एकता

‘व्यक्तिगत दूरी बढाऔं’

झट्ट सुन्दा असामाजिक आग्रह जस्तो लागे पनि नेपाली मात्र नभई समग्र मानव जातिकै हितका लागि यस्तो व्यवहारलाई सामाजिक बनाउनुपर्ने बाध्यतामा यतिवेला हामी छौं । गएको नोभेम्बरमा चीनको वुहान शहरमा मानव शरीरमा पहिलो पटक देखिएको नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमण १३ मार्च (३० फागुन) सम्म विश्वका १२३ मुलुकमा फैलिइसकेको छ । ११ मार्चमा विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वकै  महामारी घोषणा पनि गरिसकेको छ।

कोभिड–१९ महामारीकै कारण १३ मार्चसम्म ५ हजार मानिसको ज्यान गइसकेको छ, एक लाख ३२ हजारलाई संक्रमित तुल्याएको छ । मान्छेबाट मान्छेमा सर्ने यो भाइरसको द्रुत गतिको फैलावट रोकथाम गर्न यतिवेला आपसी सम्पर्कलाई सकेसम्म निषेध गर्न थालिएको छ । एक हिसाबमा, वैश्विक ग्रामको अवधारणामा विश्वास गर्ने विश्वका मुलुकहरू एकाएक भौगोलिक र भौतिक रूपमा आपसमा सम्पर्क टुटाउन थालेका छन्।

तत्कालका लागि जनस्वास्थ्यका निम्ति यही उपाय रोगसँग जुँध्ने बलियो र अन्तर्राष्ट्रिय अभ्यास हो । त्यसैले क्षतिको हिसाबमा ‘मध्यम’ मानिए पनि तीव्र संक्रमण, झन्झटिलो र खर्चिलो उपचार प्रक्रियाका कारण अन्तर्राष्ट्रिय आवागमन प्रतिबन्धदेखि संक्रमण दर बढी भएका स्थान ‘लकडाउन’ सम्म गरिएका छन् । ठूला अन्तर्राष्ट्रिय सभा–सम्मेलन, धेरै दर्शक भेला हुने खेल प्रतियोगिता, कन्सर्ट स्थगन गरिएका छन्।

एउटा सुखद् कुरा, शुरूआती चरणमै एक नेपालीमा कोभिड–१९ संक्रमण देखिए पनि त्यसपछि थप संक्रमित भेटिएका छैनन् । सरकारी भनाइ पत्याउने हो भने नोभल कोरोना भाइरस संक्रमणको आशङ्कामा अस्पतालको सम्पर्कमा आएका करीब ५०० व्यक्तिको परीक्षणको परिणामका आधारमा यो तथ्य वास्तविक नै हो । तर, के न्यून संख्यामा गरिएको यो परीक्षणले हाम्रो वास्तविक चित्र देखाउँछ ? के अवस्था योभन्दा फरक त छैन ?

भीडभाड हुने– सिनेमाघर, विद्यालय, चर्चमा हुने प्रार्थना बन्द गरिएका छन् । नयाँ मानिससँगको सम्पर्कलाई निरुत्साहित गरिएको छ । उता भाइरस संक्रमितलाई अरूबाट अलग (आइसोलेसन) मा राख्न थालिएको छ। कतिपय देशमा आफूलाई ‘सेल्फ क्वारेन्टाइन’ मा राख्न नागरिकलाई आग्रह गरिएको छ, आग्रह नमान्नेलाई कारबाहीसम्म गर्ने कानून बनाइएको छ।

ढिलो गरी, २९ फागुनमा नेपालले पनि विदेशी तथा गैरआवासीय नेपालीका हकमा ‘अनअराइभल भिसा’ स्थगन, भिसा लिएकाहरूले पनि नेपाल प्रवेश गर्न सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र पेश गर्नुपर्ने, विदेशीलाई स्थलमार्ग प्रवेश निषेधसँगै आवागमनका अन्य थुप्रै माध्यममा बन्देज लगाएको छ । वसन्त ऋतुको हिमाल आरोहण बन्द गर्ने, मे ३१ सम्मका सम्पूर्ण अन्तर्राष्ट्रिय सभा–सम्मेलन स्थगन गर्ने, नेपाल भ्रमण वर्ष २०२० को सबै कार्यक्रम रद्दको घोषणासँगै देशभित्रका धेरै कार्यक्रम नगर्न, नगराउन आग्रह गरेको छ।

एउटा सुखद् कुरा, शुरूआती चरणमै एक नेपालीमा कोभिड–१९ संक्रमण देखिए पनि त्यसपछि थप संक्रमित भेटिएका छैनन् । सरकारी भनाइ पत्याउने हो भने नोभल कोरोना भाइरस संक्रमणको आशङ्कामा अस्पतालको सम्पर्कमा आएका करीब ५०० व्यक्तिको परीक्षणको परिणामका आधारमा यो तथ्य वास्तविक नै हो । तर, के न्यून संख्यामा गरिएको यो परीक्षणले हाम्रो वास्तविक चित्र देखाउँछ ? के अवस्था योभन्दा फरक त छैन ?

यस्तो आशङ्का उब्जनु अस्वाभाविक पनि होइन । त्यसो त समुदायस्तरमै परीक्षण गर्न नसके पनि हामीकहाँ मुख्यतः आवागमन निरुत्साहित गर्ने र भीडभाडमा सहभागी नहुन आह्वान गर्ने नीति लिइएको छ, जसलाई सकारात्मक मान्नुपर्छ।

तत्कालका लागि संक्रमण विस्तार हुन नदिने मुख्य उपाय नै ‘व्यक्तिगत दूरी’ मानिएकै कारण समाजका प्रत्येक अवयव ठप्प भएका छन्, जसको आघात अर्थतन्त्रमा पर्न थालिसकेको छ । भनिरहनु परेन, यसको असर अन्य थुप्रै मुलुकको अर्थतन्त्रभन्दा नेपालले बढी नै व्यहोर्नुपर्नेछ– त्यो किन पनि भने, नेपालको आर्थिक क्रियाकलाप चलायमान गराउने मुख्य स्रोत पर्यटन र रेमिटेन्स हुन्, जसलाई यो महामारीले प्रहार गर्न थालिसकेको छ।

उद्योगका कच्चा पदार्थदेखि दैनन्दिन प्रयोगका अधिकांश वस्तुमा परनिर्भर हाम्रो बजारमा वस्तुको अभावमा कालोबजारी शुरू भइसकेको छ । सरकारले पटकपटक नअत्तालिन जनतालाई आग्रह गर्नु परिरहेको छ । महामारीको प्रभाव र असरको गहिराइका आधारमा हाम्रो समग्र अर्थतन्त्रमा क्षतिको अङ्कगणित निकाल्न सकिएला, तर जारी महामारीले आमजनको रोजीरोटीदेखि सरकारको आर्थिक लक्ष्य, विकासका परियोजना र क्रियाकलापसम्ममा नराम्ररी असर पुर्‍याउने भने पक्का छ।

कतिपयले त व्यस्त र भागदौडको जीवनबाट एकाएक ‘सेल्फ क्वारेन्टाइन’ मा बस्दा आफ्नो जीवन र परिवारको महत्व बुझ्न पाएको अनुभूति पनि साटेका छन् । यो विपत् विगतका गल्ती सुधार्दै वैयक्तिक नभई सामाजिक र मान्छे मात्र नबनी मानव बन्ने संयोग पनि बन्न सक्छ।

विकासका नाममा पछिल्ला दशकहरूमा चुलिएको प्राकृतिक स्रोतको दोहन र वातावरणीय विनाशको आलोकमा कतिपय वैज्ञानिकले कोभिड–१९ लाई अवसर पनि मानेका छन् । हवाई यात्रादेखि विभिन्न उत्पादनशील उद्योगहरू बन्द भएको, ठूलो संख्यामा सडक यातायातमा कमी आएका कारण बढ्दो तापक्रमदेखि वायु प्रदूषणमा समेत कमी आउने अपेक्षा पनि गरिएको छ।

कतिपयले त व्यस्त र भागदौडको जीवनबाट एकाएक ‘सेल्फ क्वारेन्टाइन’ मा बस्दा आफ्नो जीवन र परिवारको महत्व बुझ्न पाएको अनुभूति पनि साटेका छन् । यो विपत् विगतका गल्ती सुधार्दै वैयक्तिक नभई सामाजिक र मान्छे मात्र नबनी मानव बन्ने संयोग पनि बन्न सक्छ।

तर, तत्कालका लागि कोरोना–कहरबाट बच्नु, यसको बहुआयामिक असरबाट जोगिनु, विपतमा अरूलाई सघाउनु हाम्रो पहिलो प्राथमिकता हो । देशभित्रका अनेक वाद, विवादलाई थाती राखी सङ्कटसँग जुध्न आमजन, समुदाय र सरकार एकाकार हुनु सबैको दायित्व हो । महामारी विरुद्ध राष्ट्रिय एकता आजको आवश्यकता हो।

३० फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै अस्पतालबाट ‘डिस्चार्ज’ भएको तस्वीर सार्वजनिक भएको छ । महाभूकम्प, नाकाबन्दीसँगै स्वयं जटिल रोगसँग लडेका हाम्रा प्रमलाई आफूसँगै देश र जनतालाई स्वस्थ बनाउने दायित्वसहितको अवसर पुनः प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस