टिप्पणी आइतबार, चैत २, २०७६

दोस्रो प्रत्यारोपण, दोस्रो इनिङ्स

शेखर खरेल

दोस्रो प्रत्यारोपण, दोस्रो इनिङ्स
शेखर खरेल

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने निधो गरेर धेरैलाई ‘सरप्राइज’ दिए । बाह्र वर्षअघि भारतको अपोलो अस्पतालमा प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि ओलीसमक्ष नियमित डायलसिस वा प्रत्यारोपणको विकल्प मात्र बाँकी थियो ।

कतिपय नेता सामान्य ज्वरोको उपचारदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मका लागि विदेशका सुविधासम्पन्न अस्पताल धाउने परिप्रेक्ष्यमा ओली पनि पहिले झैं सिङ्गापुर वा अमेरिका जाने आम अनुमान थियो । तर, मुलुककै सार्वजनिक अस्पताल रोजेर ओलीले विदेश उपचार परम्परामा ‘ब्रेक’ मात्र लगाएनन्, मुलुकको सार्वजनिक स्वास्थ्यको साख र चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल समेत बढाए ।

प्रम ओली ‘सरप्राइज’ दिन रुचाउँछन् । प्रत्यारोपण अपेक्षित हुँदाहुँदै पनि उनले शल्यक्रियाको दुई दिन अघि मात्र सत्तारुढ नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराए । उनले आफू शल्यक्रिया निम्ति पाँच दिन मात्र अस्पतालमा रहने र सातौं दिन मन्त्रिपरिषद्को बैठक डाक्ने बताए ।

प्रम त्यतिविघ्न ‘आत्मविश्वासी’ हुनुमा कि त मिर्गौला प्रत्यारोपण बारे यथेष्ट चिकित्सकीय ‘ब्रिफिङ’ नगरिएको या उनले जानाजान यस्तो हलुका टिप्पणी गरेको अर्थमा बुझ्न सकिन्छ । हप्ता दिन भित्रै मन्त्रिपरिषद्को बैठक बोलाउने उनको कुरा मिर्गौला नभएर गाडीको पाङ्ग्रा फेर्ने काम जस्तो सुनिन्थ्यो।

यसैबीच प्रम ओली ३० फागुनको साँझ अस्पतालबाट ‘डिस्चार्ज’ भए । उनको स्वास्थ्यको मिहिन पर्यवेक्षण र समीक्षा गरिरहेका चिकित्सकहरू सबै प्रयोगशाला सूचक सामान्य नदेखिएसम्म जोखिम मोल्न तयार नभएकै देखियो । प्रमको स्वास्थ्य अवस्था अपेक्षाकृत सुधारोन्मुख रहेको बारम्बार बताइरहेका चिकित्सकहरूले आगामी जोखिमका बारेमा पनि सतर्क गराइरहेका छन्, यद्यपि प्रयोगशाला रिपोर्ट सार्वजनिक गरेका छैनन्।

चिकित्सकले प्रष्ट सन्देश दिएका छन्, मिर्गौला टायर फेरे जस्तो हल्काफुल्का कुरा होइन । शरीरमा बाह्य अङ्गलाई घरेलु प्रणालीसँग तादात्म्य राख्न बिरामीको रोग प्रतिरोध क्षमता घटाउनुपर्ने हुन्छ । प्रत्यारोपण पूर्व र लगत्तै उच्च मात्रामा ‘इम्युनो सप्रेसेन्ट’ चलाएका कारण स्वाभाविक रूपमा अहिले प्रम ओली संक्रमणको उच्च जोखिममा छन् ।

सामान्य रुघाखोकी समेत उनका निम्ति विपत्तिको कारक बन्न सक्ने हुँदा चिकित्सकहरू डिस्चार्जपछि पनि संक्रमण शून्य वातावरणको प्रत्याभूति खोजिरहेका छन् । जसनिम्ति निर्मलीकृत (स्यानिटाइज्ड) वातावरण आवश्यक पर्छ, भीडभाडबाट टाढा राखिनुपर्छ ।

चिकित्सककै शब्दमा ‘सामान्य मानिस सरहको व्यवहार निम्ति ६ महीनादेखि एक वर्ष लाग्न सक्ने’ को अर्थ आगामी एक वर्ष प्रम निवास अवास्तविक (भर्चुअल) अस्पताल सरह हुनुपर्नेछ । प्रमले सिंहदरबारबाट नभएर बालुवाटार निवास वा सचिवालय मार्फत राज्य सञ्चालन गर्नुपर्नेछ ।

वृद्धावस्था र कमजोर स्वास्थ्य अवस्थाका व्यक्ति यसै पनि संक्रमणभेद्य रहन्छन् । त्यसमाथि पनि मिर्गौलाका रोगी त सधैं यो जोखिममा हुन्छन् । फेरि अहिले त कोरोना भाइरसको महामारी नै फैलिसकेको छ र यसले व्यापक जनसम्पर्क हुने विदेशी राष्ट्रका मन्त्रीहरूमा संक्रमित भइरहेको छ ।

डिस्चार्जपछि प्रमका दिन सजिलो हुने छैनन् । उनले अत्यावश्यक निर्णय छिनछिनमा लिनुपर्नेछ, जसका कारण उनको स्वास्थ्यमाथि थप दबाब पर्नेछ । र, अन्ततः प्रत्युत्पादक हुनसक्नेछ । त्यसैले डिस्चार्ज लगत्तै उनले एउटा महत्वपूर्ण निर्णय गर्नु जरूरी छ।

यसको अर्थ आगामी दिन बालुवाटार, बालुवाटार भित्रै पनि सचिवालय र अझ सचिवालय भित्र पनि प्रमको ‘किचन क्याबिनेट’ सक्रिय हुनेछ । यसै पनि जनतादेखि ‘इन्सुलेटेड’ हाम्रा नेतृत्व प्रमको स्वास्थ्यले झ्न् टाढा हुनेछ, नागरिक र नेतृत्वकर्ता बीचको तन्तुलाई चुडाउनेछ ।

बिरामी देश !

मिर्गौला जस्तो सघन शल्यक्रिया पूर्व बेहोस पार्नुपर्ने हुँदा प्रमले राजपत्रमा सूचना निकालेर मन्त्रिपरिषद्का वरिष्ठतम सदस्य वा मन्त्रीहरूको एक समूहलाई कार्यकारी अधिकार दिइनु जरूरी थियो भन्ने प्रश्न संवैधानिक कानूनका ज्ञाताले उठाएका छन् ।

प्रम बेहोस भए पनि राष्ट्र बेहोस हुन नसक्ने उनीहरूको तर्क रहँदै आएको छ । तर प्रम अस्पतालको आईसीयूमा पल्टिरहँदा पनि कार्यकारी अधिकार कोसँग छ भन्ने प्रष्ट हुन सकेन । धन्न राष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट मानवीय क्षति भइसकेको छैन, अन्य कुनै दैवी वा मानवीय विपत्ति आइलागेन । तर, सधैं यस्तो अवस्था नरहन सक्छ ।

डिस्चार्जपछि प्रमका दिन सजिलो हुने छैनन् । उनले अत्यावश्यक निर्णय छिनछिनमा लिनुपर्नेछ, जसका कारण उनको स्वास्थ्यमाथि थप दबाब पर्नेछ । र, अन्ततः प्रत्युत्पादक हुनसक्नेछ । त्यसैले डिस्चार्ज लगत्तै उनले एउटा महत्वपूर्ण निर्णय गर्नु जरूरी छ।

त्यो भनेको पार्टी र सरकार दुवैको सहज सञ्चालनको व्यवस्था गर्नु हो । पार्टीमा सहअध्यक्ष रहेका कारण उनले आगामी महाधिवेशनसम्मलाई नेतृत्व हस्तान्तरण गर्न सक्नेछन् । सरकारको हकमा चाहिं, पार्टीका वरिष्ठ सदस्यहरूलाई मन्त्रिपरिषदमा ल्याएर आफूलाई हदैसम्म खुकुलो पार्न सक्छन् ।

हिजो गोकुल बाँस्कोटालाई पुल्पुल्याए जसरी मन्त्रिपरिषद्का एकाध सदस्यको कुरा सुन्ने र बाँकीबाट अलग्गिने गर्नुहुँदैन । प्रम ओलीको स्वास्थ्यसँगै अहिले मुलुक अप्ठेरो मोडमा आइपुगेको छ, जसको निकास स्वयं ओलीले नै दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस