ब्लग सोमबार, फागुन २६, २०७६

बाइरोडको बाटोमा. . .

कनकमणि दीक्षित

बाइरोडको बाटोमा. . .
टिष्टुङस्थित बाइरोडको बाटोमा अलकत्रा ड्रम–पाताले छाएका घर ।

बुवा कमलमणि दीक्षितको पुस्ताले सम्झने ­बाल्यकालको बाटो चित्लाङ–कुलेखानी–भीमफेदीको ऐतिहासिक पदमार्ग हो । मेरो पुस्ताको बाल्यकालको सम्झने भनेको ‘बाइरोडको बाटो’, अर्थात् त्रिभुवन राजपथ ।

राजमार्ग र लोकमार्ग, फास्ट ट्र्याक र सुमोमार्ग, मध्यपहाडी र डोजर–सडक — जताततै सडक र बाटा बन्दै गरेको आजको हाम्रो मुलुकमा पहिलो हाइवे थियो — त्रिभुवन राजपथ । यो राजपथ पंक्तिकार जन्मेकै वर्ष सन् १९५६ मा उद्घाटन भएको थियो ।

ऐतिहासिक कालदेखि नै चारकोसे झाडी, समथरको औल र महाभारत लेकका पहराले रखबार गरेको नेपाल खाल्डोलाई राणाशासनको अन्त्यसँगै अन्तर्राष्ट्रिय ‘व्यक्तित्व’ कमाउँदै गएको नेपाललाई बाहिरसँग यातायातले जोड्नै पर्‍यो ।

भारत पनि काठमाडौंलाई आफूसँग गाँस्ने तन्तु खोज्दैथियो । यही मेसोमा भारतीय सहयोग र उसको सेनाका इन्जिनियरले रक्सौलदेखि काठमाडौं जोड्ने सडक बनाउने भए ।

उतिवेलै चर्चा चलेको थियो, किन यसरी घुमाउरो बाटो गरी राजपथ काठमाडौं छिराएको होला ? सीधै भीमफेदीको पुरानै रूट किन छनोट भएन, या आज बन्दै गरेको फास्ट ट्र्याकको वागमती खोंच ।

‘भ्यूटावर’ को पहिलो दर्शन पनि यही बाटोमा पाइयो । आज जताततै अनगिन्ती भ्यूटावर बने पनि दामनमा सडक विभागका इञ्जिनियरहरूले खडा गरेको त्यति बान्की परेको भ्यूटावर अन्त देखेको छैन ।

किन राजमार्गले चारकोसे झाडी छिचोलिकन अमलेखगञ्ज, हेटौंडा, भैंसेदोभानहुँदै भीमफेदीतिर नलागी माथि सिमभञ्ज्याङ ताक्यो ? त्यहाँबाट टिष्टुङ–पालुङ अनि पाखैपाखाको लामो बाटो गर्दै धादिङको नौबिसे, नागढुङ्गा अनि थानकोट ।

उतिवेलै यस्तो तर्क सुनिन्थ्यो कि, भारतले आफ्नो सुरक्षा नीति अनुसार नै घुमाउरो बाटो बनाएको हो । मकवानपुर–धादिङको अनकन्टार भेकलाई राजमार्गसँग जोड्न यसो गरिएको भन्ने पनि थिए ।

तर भूगोलकै पनि एउटा कारण हुनसक्छ, वा कुनै । यसबारे कतै, कसैले लेखेको पनि हुनसक्छ, नभए यो अनुसन्धानको विषय हो ।

पाँच वर्षको हुँदो हुँ, ट्रकमा दाइ, बहिनी र आमासँग यो बाटो हिंडेको सम्झन्छु । अर्को पटक बुवाले हामी सबैलाई भक्सवागन विटल कारमा सिमभञ्ज्याङको हिउँमा चिप्लँदै रक्सौल सिमाना पार गर्दै भारतको विहार अनि फेरि नेपाल पसेर राजविराज पुर्‍याएको पनि सम्झना छ ।

त्यतिवेलासम्म त्रिभुवन राजपथ ‘बाइरोडको बाटो’ बनिसकेको थियो । कसरी जान्छौ भन्दा अंग्रेजीमा ‘बाइ रोड’ भन्ने साझा जवाफले राजपथको यस्तो नामकरण भयो ।

त्यसअघि नेपाल खाल्डोमा मोटर चल्ने पक्की बाटो २०–३० किलोमिटर हुँदो हो, जसमा चल्ने मोटरगाडी उही भीमफेदीबाट भरियाले बोकेर ल्याउँथे । बाइरोडको बाटोबारे जनमानसमा बाटोमा पर्ने विभिन्न ठाउँसँगै स्मरण गड्यो, बोलीचाली, कविता, गीत हुँदै आधुनिक नेपालको संस्कृतिमा छिर्‍यो ।

सम्झन्छु, धादिङपट्टिको ‘सात घुम्ती’ र मकवानपुरतर्फको ‘१२ घुम्ती’, जसले रिङ्ग्याउँदै धेरैलाई पहिलो पटक उल्टीको नमीठो अनुभव दिलायो । सोप्याङ्ग, खानीखोला, अघोर, टिष्टुङ–पालुङ, दामन जनजिब्रोमा पस्यो जसरी आज मलेखु, मुङ्गलिङ्ग र जुगेडी परिचित भए ।

त्रिभुवन राजपथ आज हाम्रा लागि गजबको ‘टुरिजम् मार्ग’ बनेको छ । आज पनि टिपरले सडक बिगारेको छैन, हरियाली जुर्मुराएको छ, सडकमा ट्राफिक छैन ।

‘भ्यूटावर’ को पहिलो दर्शन पनि यही बाटोमा पाइयो । आज जताततै अनगिन्ती भ्यूटावर बने पनि दामनमा सडक विभागका इञ्जिनियरहरूले खडा गरेको त्यति बान्की परेको भ्यूटावर अन्त देखेको छैन ।

जहाँबाट धौलागिरिदेखि सगरमाथासम्म नेपालको आधी भूभाग ढाक्ने हिमशृङ्खला देखिन्छ, र त्यो ‘स्नो लाइन’ मा विश्वडल्लोको गोलाकार समेत देख्न सकिन्छ । दामनबाट ठीक माथि रह्यो, सिमभञ्ज्याङको घना ‘क्लाउड फरेस्ट’, जसले पहाडी हरियालीको आभास दियो ।

त्रिभुवन राजपथमा सबैभन्दा ठूलो खतरा भीरबाट मोटर खस्नु थियो र अर्को ‘ब्लाइन्ड कर्भ’ मा झ्याप्प ट्रक/बस/कार जुध्ने खतरा । यो राजपथले नेपालीलाई सडक दुर्घटनाको पहिलो आभास पनि दियो । ठूला–साना बस या जीप दुर्घटनाले पूरै उपत्यकावासीको मन स्तब्ध हुन्थ्यो । आजभोलि त एक–दुई दिनमै जत्रोसुकै भयावह बस दुर्घटना पनि बिर्सिइन्छ ।

भारतीय टोलीले राजमार्ग बनाउँदा डाँडाका पाखापाखा घुमाउँथे । तर, सन् ७० को दशकमा आएको चिनियाँ सहयोगमा बनेको अरनिको र पृथ्वी राजमार्गले भने नदीको खोंच समाते — सडक निर्माणका दुई प्रविधि ।

त्रिभुवन राजपथ आज हाम्रा लागि गजबको ‘टुरिजम् मार्ग’ बनेको छ । आज पनि टिपरले सडक बिगारेको छैन, हरियाली जुर्मुराएको छ, सडकमा ट्राफिक छैन ।

बाइरोडको बाटोमा धेरै साइनपोष्टका पाता लट्ठामा रहँदैनथे । कसैले भनेको सम्झन्छु — गाउँलेले गुन्द्रुक खाँदेर ढक्कन लगाउन ती साइनपोष्ट उप्काउँथे । आजसम्म मैले यो कुरा पुष्टि गर्न सकेको छैन । तर आज नयाँ साइनपोष्ट ठाउँमै छन् ।

पराल या खरले छाउने त्यो भेकमा बाइरोडको बाटोले नयाँ कुरा भित्र्यायो । अलकत्राको ड्रम खोलेर छाना छाउने चलन धादिङदेखि मकवानपुरसम्म चल्यो । पुरानो युग सम्झाउने गरी अझै पनि ती अलकत्राका ड्रम पाताले छाएका स–साना गाउँले घर सडकछेउ भेटिन्छन् ।

प्रतिकृया दिनुहोस