टिप्पणी आइतबार, फागुन २५, २०७६

कोरोना त्रासमा ‘चाँदीको घेरा’

शेखर खरेल

कोरोना त्रासमा ‘चाँदीको घेरा’
तस्वीर: बिक्रम राई
शेखर खरेल

वसन्त ऋतुले हिउँदमा नाङ्गिएका बोटबिरुवामा मुना अङ्कुराउने मात्र होइन, मानिस र पशुपक्षीमा पनि नयाँ उत्साह संचारित गर्छ । वसन्तसँगै बढ्ने न्यानोपना र हरियालीले हामीभित्र खुशियालीको भाव जगाउँछ । वसन्तले आगन्तुक अर्थात् बाह्य पर्यटकको समेत चहलपहल बढाउँछ । यस्तो चहलपहल जति बढ्छ, हाम्रो अर्थतन्त्रलाई उति नै योगदान पुग्छ ।

सरकारले यस वर्ष ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय अभियान मार्फत २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । यसका लागि स्वदेशमा अत्यन्त तामझामका साथ भ्रमण वर्ष शुभारम्भ र विदेशका शहरहरूमा अनेकौं कार्यक्रम मार्फत अभियान संचालन भइरहँदा उत्तरी छिमेक चीनबाट फैलिएको महामारीले समस्त विश्वसँगै हाम्रा सपनामाथि पनि तुषारापात गरिदिएको छ ।

नोभल कोरोना भाइरस (कोभिड–१९) को प्रकोप महीना दिनभित्रै दक्षिण कोरिया, जापान, खाडी क्षेत्रका देशदेखि युरोपेली मुलुक इटाली, फ्रान्स तथा अष्ट्रेलिया, अमेरिकासम्म फैलिएको छ ।

कोभिड–१९ ले मानव जातिलाई जति आक्रान्त पारेको छ, विश्व अर्थतन्त्रलाई उति नै तहसनहस पारेको छ । संसारभरका वैज्ञानिक यसको रोकथामका लागि जुटिरहेका छन्, तर अहिलेसम्म यसको भरपर्दो उपचार फेला परिसकेको छैन ।

त्यसैले संक्रमणबाट बच्न भाइरसको जोखिम भएका मुलुक, क्षेत्र वा मानिसको सम्पर्कमा नपुग्ने, भ्रमण वा हिंडडुल कम गर्ने, भीडदेखि परै रहने जस्ता निरोधात्मक विधि अपनाउनेहरू बढेका छन् । हिंडडुल वा आवागमनको संकुचनसँगै पर्यटकीय गतिविधि संसारभर नै असाध्यै सुस्त हुन पुगेको छ ।

ग्रेगोरियन नव वर्षारम्भसँगै कोभिड–१९ को प्रकोप फैलिन थालेपछि विश्वका धेरै मुलुकले निरोधात्मक विधि अवलम्बन गरे । भाइरसको उद्गमस्थल हुपेई प्रान्तको वुहानलाई चीन स्वयंले सम्पूर्ण रूपमा बन्द गरिदियो ।

तर, भाइरस संक्रमणको संवेदनशीलताप्रति बेपरवाह हुँदै हामी वितेका दुई महीनासम्म मुलुकमा पर्यटक भित्र्याउने च्याखे दाउमा लागिरह्यौं । कोभिड–१९ उद्गमभूमिमा जान र त्यहाँबाट फर्किएका पर्यटकसम्मलाई बाँकी विश्वले रोक लगाउँदै वा ‘क्वारेन्टाइन’ मा राखिरहँदा हामीले पर्यटकको संख्या बढाउन ‘अनअराइभल’ भिसाको रातो कार्पेट बिछ्याइरह्यौं।

भाइरस संक्रमणको संवेदनशीलताप्रति बेपरवाह हुँदै हामी वितेका दुई महीनासम्म मुलुकमा पर्यटक भित्र्याउने च्याखे दाउमा लागिरह्यौं । कोभिड–१९ उद्गमभूमिमा जान र त्यहाँबाट फर्किएका पर्यटकसम्मलाई बाँकी विश्वले रोक लगाउँदै वा ‘क्वारेन्टाइन’ मा राखिरहँदा हामीले पर्यटकको संख्या बढाउन ‘अनअराइभल’ भिसाको रातो कार्पेट बिछ्याइरह्यौं।

भाइरसको प्रकोपपछि मात्र प्रतिमहीना तीन हजारभन्दा बढी चिनियाँ नेपाल आएको तथ्याङ्क छ । धन्न अहिलेसम्म नेपालमा कोभिड–१९ को नयाँ बिरामी भेटिएका छैनन् । र, ढिलै भए पनि सरकार भ्रमण वर्षलाई स्थगन गरी भाइरसप्रति सजग र सक्रिय देखिएको छ ।

कुनै तयारी विनाको भ्रमण वर्ष २०२० लहडको अभियान थियो । अस्तव्यस्त पूर्वाधार, एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, प्रचार र प्रवर्द्धनको अन्योलका बीच थालिएको यो अभियान परिणाममुखी हुन नसक्ने पक्का थियो ।

भ्रमण वर्षको शुरूआतमै मिथकीय हिममानव यतीको भद्दा मस्कटले आलोचना मात्र बढाएन, नेपाल चिनाउने नाममा यस्तो अनुपयुक्त विम्ब प्रयोग गर्ने अभियान संचालकहरूको टीठलाग्दो सोच पनि देखायो । मूर्त सम्पदा, विशिष्ट वनस्पति र जीवजन्तुले भरिपूर्ण नेपालमा अमूर्त र मिथकीय चरित्र यती नै रोज्नुको कारण र औचित्य प्रष्ट पार्न कोही अघि सरेनन् ।

असफलता उन्मुख भ्रमण वर्ष कोभिड–१९ को प्रभावका कारण स्थगन गरिनु आफैंमा राष्ट्रिय अभियानमा धक्का देखिए पनि यसभित्र हामीले ‘कालो बादलमा चाँदीको घेरा’ देख्न सक्छौं । यो स्थगनबाट एकातिर हामीसँग भाइरसको महामारीबाट बच्न सचेतनाको अवसर उपलब्ध छ, अर्कातिर तयारी विनाको अभियानको लक्ष्य पूरा नहुँदा जुन क्षति र असफलता सिर्जना हुन्थ्यो, त्यो टरेको छ ।

भ्रमण वर्षको पूर्वसन्ध्यामै हिमाल ले आवरण मार्फत सन् २०२० भ्रमण वर्षका लागि उपयुक्त नरहेको, बरु यसलाई पर्यटन पूर्वाधार वर्षका रूपमा लिइँदै यथोचित तयारीसँगै केही वर्षपछि विशेष अभियान घोषणा गरिनु उपयुक्त हुने आलेख प्रकाशन गरेको थियो । भ्रमण वर्ष स्थगनलाई सरकारले आफ्नो कमजोरीबारे आत्मसमीक्षा गर्ने र भविष्यमा गरिने यस्ता कार्यक्रमका लागि पर्याप्त पूर्वतयारी गर्ने अवसरका रूपमा उपयोग गर्न सक्छ ।

प्रतिकृया दिनुहोस