कला/साहित्य आइतबार, फागुन २५, २०७६

निस्किएन होलीको ‘अल्बेलो बाराती’

कमल रिमाल

निस्किएन होलीको ‘अल्बेलो बाराती’
फाइल तस्वीर। तस्वीरः कमल रिमाल

होलीमा जन्ती र बेहुला बनेका उत्तिकै सिंगारिएका हुन्थे । आकर्षक र फरक पहिरनमा निस्किने जन्ती र बेहुला बेहुली लिन विराटनगरको गोल्छा निवास पुग्थे।

यो चलन पुरानै हो तर, यस पटक कोरोना भाइरस संक्रमणको भयले ‘अल्बेलो बाराती’ निस्किएन ।

फागुपूर्णिमा (तराईको होली) को दुई दिनअघि बेढङ्गका जन्ती निस्किएर सबैलाई चकित पार्दै आएका थिए । होलीको खुसियालीमा मारवाडी समुदायको अगुवाइमा निस्कने बेढङ्गे जन्तीलाई यहा“ ‘अल्बेलो बारात’ भनिन्छ । जन्तीमा सबै महामूर्ख बनेर निस्किएका हुन्थे । आफूलाई महामुर्ख साबित गराउन बारातीमा निस्कनेहरूले अर्कै रूप धारण गरेका हुन्थे ।

महामूर्खहरूको जन्तीमा सामेल हुनेहरू नै एकले अर्कोलाई नचिन्ने भएर आएका हुन्थे । कोही बेहुला, बेहुली, कोही मलामी, कोही दानव त कोही देवताको भेषमा निस्कने गरेका थिए । पुरुष महिला बनेका हुन्थे भने युवक वृद्धवृद्धाको भेषमा जन्तीमा निस्कने गर्थे । भाइरसको त्रास नभएको भए २५ फागुनमा यस वर्ष विराटनगरको मुख्य बजारमा जन्तीको ताँती हुने थियो ।

मारवाडी युवा मञ्च विराटनगरले सार्वजनिक सूचना जारी गरेर अल्बेलो बाराती स्थगित गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले होलीका सार्वजनिक कार्यक्रम नगर्न सूचना जारी गरेकाले कार्यक्रम स्थगन गर्नुपरेको मञ्चले जनाएको छ । प्रशासनको आदेश आएपछि कार्यक्रम स्थगित गरिएको मारवाडी समाजका अगुवा पवन सुरानाले बताए ।

अपरान्ह साढे ५ बजे महामूर्खको भेषमा ट्राफिक चोकमा भेला भएर गोल्छा निवाससम्म बाराती जाने गरेको थियो । दानवले बालकलाई काट्ने प्रयास गरेको दृश्य सबै भन्दा डरलाग्दो हुन्थ्यो । दानव बनेर हातमा ठूलो तरबार बोकेका मानिसले बालकलाई समाएर पटक पटक काट्ने प्रयास गरिरहेको देखिन्थ्यो ।

 

बालककी आमा बनेका एक व्यक्ति दानवको खुट्टा समाएर अनुनय विनय गरिरहेकी हुन्थिन् । सडकको माझमा यस्तै अभिनय गर्दै निस्किएका महामूर्खहरूलाई हेर्न बजारका पसल बन्द गरेर स्थानीय सडक किनारमा निस्किने गरेका थिए । विराटनगर शहर बसेदेखिनै यहा“का मारवाडी समुदायले महामूर्खहरूको जस्ती निकाल्न थालेका हुन् ।

महामूर्ख सम्मेलन हुने

अल्बेलो जन्तीले गोल्छा निवासमा बेहुली भित्र्याएर रात्रि भोज गरेको भोलिपल्ट हुने महामूर्ख सम्मेलनले भने निरन्तरता पाउने भएको छ । जैन भवनमा हुँदै आएको सम्मेलन यस पटक २६ फागुनमा अतिथि सदनमा हुने भएको छ ।

मारवाडी समाजका अगुवा तथा सम्मानित व्यक्तिलाई महामूर्खको उपाधि दिने चलन छ । महामूर्ख सम्मेलन भड्किलो नहुने र समारोहमा गरिने भएकाले नरोकिएको सदनका पूर्व उपाध्यक्ष समेत रहेका सुरानाले बताए । २०२३ सालमा महामुर्ख सम्मेलनमा नेपाली गीत गाएर मनोरन्जन दिएको बताउने मारवाडी कवि लक्ष्मण नेवटिया महामूर्ख सम्मेलनलाई परम्पराका रूपमा निरन्तरता दिइएको बताउँछन् ।

 

पण्डित जगन्नाथ शर्मा शास्त्रीले २००८ सालमा तयार गरेको होलीको डायरी संरक्षण गरेर राखेका नेवटिया विराटनगरमा महामूर्ख सम्मेलनको सुरुवात त्यसभन्दा अघिदेखि भएको बताउँछन्।

त्यसबेला रामलाल गोल्छा, दुलीचन्द दुगड, मेघराज नौलखा, हरिसिंह दुगड, रामस्वरुप नेवटिया, अमोलखचन्द शर्मा, कालुराम तोदी, मदनलाल तोदीहरू महामूर्ख सम्मेलनका अगुवा थिए । अहिले उनीहरूका नातिले यसलाई निरन्तरता दिंदैछन् ।

त्यस बेला पनि रामलाल गोल्छा जस्ता ठूला व्यापारीदेखि सामान्य व्यक्तिसम्म बराबर हैसियतमा सम्मेलनमा भाग लिन्थे । त्यो परम्परा अहिलेसम्म कायम रहेको छ । महामूर्ख सम्मेलनस“गै पत्नीभक्त सम्मेलन र अनमेल विवाह गरिन्थ्यो । अहिले त्यस्तो सम्मेलन र विवाह गरिदैन । यसलाई पनि पुनः सुरुवात गर्नुपर्ने मारवाडी युवाहरूले आवाज उठाउँदै आएका छन् ।

 

प्रतिकृया दिनुहोस