दस्तावेज शुक्रबार, फागुन २३, २०७६

नेपाल–भोट युद्ध तयारी: सित्तैमा काममा जोताएको गुनासो

ज्ञानमणि नेपाल

नेपाल–भोट युद्ध तयारी: सित्तैमा काममा जोताएको गुनासो
ज्ञानमणि नेपाल

तराईबाट चामल उठाउन खटिएका कर्णेल डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिं राजभण्डारीले निश्चित काइदा कानून बमोजिम रसद संकलन गरिरहेका थिए । पर्सादेखि महोत्तरीसम्मका पाँच जिल्लामा रैकर (माल जग्गा) को आवादी जग्गा हुनेले प्रति बिघा रु.३ का दरले चामल दिनुपर्ने व्यवस्था गरी रसद उठाइएको थियो । घरबारी कमसल र ऐलानी जग्गाको भने थोरै रसद तोकिएको थियो ।

सर्लाहीबाट रु.३५ हजार ५४, रौतहटबाट रु.४४ हजार ४७०, बाराबाट रु.४९ हजार ९६८, पर्साबाट रु.२४ हजार ३५६ र महोत्तरीबाट रु.२३ हजार ४१५ बराबरको चामल सङ्कलन भएको थियो । संकलित चामल गोरुगाडा, घोडा आदिमा बोकाएर हेटौंडामा जम्मा पारिंदै थियो । तर त्यहाँ पुर्‍याइएको चामल भीमफेदी चलान गर्न भरिया नहुँदा र गोरुगाडा हिंड्ने बाटोको अभावमा कठिन भइरहेको थियो ।

बस्न्यात र राजभण्डारीले प्रधानमन्त्री जङ्गबहादुर राणालाई पठाएको चिठीमा चामल भर्ने र यस सम्बन्धी हरहिसाब लेख्ने मानिस नभएर अप्ठेरो परिरहेको उल्लेख गरेका थिए । चामल भर्ने ७/८ जना मात्र हुँदा भ्याई–नभ्याई थियो । यो समस्याबारे रसुवाको स्याफ्रुमा खटिएका मेजर महारुद्र खत्रीलाई चिठी मार्फत दुई/तीन पटक जानकारी गराए पनि सम्बोधन नभएको उनीहरूको गुनासो थियो ।

भदैया धानको चामल केही मात्रामा बोकेर रैतीहरूले हेटौंडामा पुर्‍याइरहेका थिए । तर, त्यहाँ चामल भर्ने र हिसाब विवरण राख्ने मानिस नहुँदा रैतीहरू ५/६ दिनसम्म दिक्क मान्दै बस्नुपर्ने र त्यसो हुँदा आफैंले बोकेर ल्याएको चामल आधाजसो खाइसक्ने समस्या देखिएको थियो ।

हेटौंडामा जम्मा चामल बोक्न भरिया नआउँदा सबै रसद मक्किने जोखिम देखिएको थियो । प्रधानमन्त्रीले चामल हेटौंडासम्म मात्र पुर्‍याउनू, बोकाउने विषयमा पछि विचार गर्ने बताए पनि अहिलेसम्म व्यवस्था नगरिएकोबारे चिठीमा बस्न्यात र राजभण्डारीले ध्यानाकर्षण गराएका थिए । बर्खा लागेपछि फौजलाई चामल बोकाउँदा चौपट हुनेतर्फ पनि चिन्ता व्यक्त गरिएको थियो । चामल भीमफेदी पुर्‍याउन भैंसेसम्म गोरुगाडा जान सक्ने बाटो बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

त्योसँगै उनीहरूले मकवानपुरमा बाटो धमाधम बनिरहेको सुखद खबर पनि चिठीमा उल्लेख गरेका थिए । आफूहरू आउँदा बाटो निर्माणमा खटिएका ५/६ गाउँलेले चिसापानीका हाकिमले केही पनि नदिई काममा जोताएको गुनासो गरेको र उनीहरूलाई चित्त बुझएर काममा लगाएको जानकारी गराएका थिए ।

बस्न्यात र राजभण्डारीले ती रैतीहरूलाई विशेष प्रयोजनको लागि गोरुगाडा हिंड्ने बाटो बनाउनुपर्ने, अहिले सहयोग गरे बारबार सित्तैंमा काम गर्नु नपर्ने र राजाबाट निगाह हुने आश्वासन दिएका थिए । बाटो खन्नेहरूलाई भोज ख्वाउन दुईवटा बडेमानको राँगा र चारवटा खसी, पाँच मन चामल र नून–तेल पठाइदिएपछि उनीहरू खुशी भएर काम गरिरहेको चिठीमा उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री जङ्गबहादुर राणालाई कर्णेल डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिं राजभण्डारीले पठाएको चिठी

जिल्लै पर्सा जिल्लै बारा जिल्लै सर्लाहि तप्या रौतहट् जिल्लै महुतरि ५ का विगहाको दस्खत बमोजिम् माल विर्ताको फर्द लगाइने निजका फर्द उतारि चह्राइ पठायाको छ नजर भै जाहेर होला. त्यो चावल हेटौंडामा आइपुग्न्या र नपुग्न्या हजुरबाट तजविज गरि बक्स्याजाला. हेटौंडाको चावल भिमफेदि पुर्‍याउनलाई गाडा चलन्या बाटो भैस्यासम्म बनाउन लाया बढिया होला भनि कपतान महारुद्र खतृलाई २/३ फेर लेखि पठाञा. हजुरमा पनि अर्जि लेखि चह्राइ पठायाको हो. माहारुद्र खतृले पनि नेपालतिर अर्जि चह्राइ भर्न्या र लेखन्या मानिस झिकाउनु नसकन्या. अ‍ैल्हे अलिकति भदैया चावल सिरमा बोकि लैजादा कति कतिको चावल आयो झिजो मान्या. चावल भर्न्या मानिस पनि ७/८ जनादेखिन् बढता छैन भनि दारोगा देवालले सुनायो. लेखन्या मानिस भन्र्या मानिस नहुंदा रैतिहरु ५/६ दिनसम्म हेटौंडामा बस्नुपर्दा साह्रै दिगदारि छन्. आफ्नु रसद बोकि लग्याको आधा ता हिं बसि खान्छन् भनि तारासुवाले पनि भन्यो. त्येस्तो भयापछि काम बरबाद हुन लाग्यो. हिउदो मैन्हामा हेटौंडाको चावल अझसम्म पिपा खलासिले बोकन नआउँदा यो पनि आश्चर्य लाग्यो. हेटाैंडाका टाडि छाना सबै माटो भैगयो यो चावल पनि तस्तै होला भनि टोपि राखि कराउछ. अब आँखाले पनी देखिसक्यु. तिमिहरुले हेटौंडामा लिउन्या बोकाउन्या र नबोकाउन्या पछि थाहा होला भनि मर्जि भयाको हो. भदैया धानको चावलको ता यो दशा निसरिहनको चावलको क्या दशा हून्या हो. वर्षामा फौजले चावल बोकन आउला फौजको बरबाद होलाकि भन्या जस्तो लाग्छ. हामि नेपालबाट आउँदा मकवानपुर वर्दरा, पाउस, सुनाचुरि, सुपिंग, संग्रामटार इनैडाँडा अगलबगलका रैतिहरुले बाटो बनाउनुलाई काँढा आफाल्नु र झरालि काम गर्नु लाग्याको थियो र उसै बेलामा हामी पुग्यौं. चिसापानिका हाकिमले जसै हिउँद लाग्यौ पुल बनाउनु र बाटो बनाउनु, टंटा लाउन्या येक मुठि कैल्हे खान पाउँदैनौ, सबै झराको मात्रि हामिलाई टंटा गर्नु, अहिल्ये तिमिहरु नकराउ अघिपछि काजको बेला छैन, यो बाटोमा गाडा चलन्या गरिबनाउनु पर्न्या छ, तिमिहरुलाई श्री ५ कोसर्कारबाट निगाहा रहन्या छ, अ‍ैल्हे राँगा खान्यालाई राँगा, खसि खान्यालाई खसि हामिहरु मधेश पुग्ने वित्तिकै पठाइदिने छौं, अ‍ैल्हे १ फेरा तिमिहरुले गोहारिदियौ तिमिहरुले बारबार गुहार दिनुपर्दैन, श्री ५ को सर्कारमा विंति गरि तिमिहरुको ज्यालाको बन्दोबस्त गरिदिउँला तिमिहरु हडबडाउनु पर्दैन भन्दा पेटको याद गरि ज्यू दि काम गर्नालाई हामि हाजिरि छुं भनि राजि भै रह्याको थियो. बरेवा पुगन्या वित्तिकै सतार राँगा २ खसी ४ चावल मन १ नुन तेल खुर्सानि सबै पठाइदिञौ. राजी पनि भयाको थियो. बाटो बनाउनलाई पनि श्री ५ को सर्कारबाट निकासा भै आयाका टट्टु, बयलको मजदुरिको पनि निकासा भै आयो. बाटो बनाउनुलाई पनि रुपैया पठाइदियाको थिञ्यू. ज्मादार हुँदा सिपाहि पनि पठाइ दियाको थिञ्यू. रुपैया पनि फिर्ता भै आयो. ञाहाका मानिसलाई अरु काम लाउनु भनि दस्खत आयो. मे कपतान महारुद्र खतृले चिठ्ठी लेखि पठाया पत्थरबाटो बनाउनलाई मधेशियाको पहुँचै नपुगन्या जान पनि मनसुवा नगर्न्या. जबरजस्ति गरि पठाउ भंया १ जना परवतियाले काम गर्‍याकोमा १० जना मधेस्या लागन्या. त्यो पनि काम्त तफा नहुन्या १ जनालाई ज्यालादि पुगन्यामा १० जनालाई दिनुपर्न्या धेरै रुपैयाँ लागन्या जो मर्जि –––

१९११ पौष वदि ६ रोज ६

प्रतिकृया दिनुहोस