ब्लग सोमबार, फागुन १९, २०७६

आङ खस्ने प्रकोप

कनकमणि दीक्षित

आङ खस्ने प्रकोप
हिमाल १–१५ भदौ २०५९ को अड्ढमा छापिएको स्केच।

छाउ (महीनावारी) बार्ने चलन अझै पनि देशका खास–खास ठाउँमा कठोर छँदैछ, तर पनि सामाजिक चेतना, जुझारू क्रियाकलाप र सरकारी पहलका कारण यसको प्रकोप घट्दो छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा छाउपडी जति प्रचारित छ, त्यसको दाँजोमा हिमाल, पहाड र तराई–मधेशका लाखौं महिलाले बेहोरिरहेको यो दुरवस्थाप्रति भने चर्चा नगन्य नै छ — त्यो हो ‘आङ खस्ने’ अवस्था ।

आङ खस्ने नेपालको ऐतिहासिक राष्ट्रिय व्यथा मान्न सकिन्छ, जसले अहिलेसम्म समाजलाई सताइरहेको छ । यसले गाउँघरको कष्टकर जीवन र नेपाली महिलाको सामाजिक ‘हैसियत’ पनि जनाउँछ ।

तर यसबारे न आमजनमा पर्याप्त सूचना छ न पीडितलाई उपचारको जानकारी । आफ्नो पाठेघर र अन्य भित्रीभाग गुप्ताङ्गबाट लत्रँदा हुने असहजपन, निक्लने दुर्गन्ध, परिवार र घरछिमेकले थाहा पाउलान् भन्ने पीर, सहज जीवनयापन गर्न नपाउने पीडा — महिला दुनियाँले सहेको कष्ट भनिसाध्य छैन ।

आङ खस्ने प्रकोपबारे चेतना जगाउन केही समयअघि ‘खेमा नेपाल’ संस्थाले कार्यक्रम गरेको थियो, जहाँ यस सम्बन्धी गहिरो अध्ययन गरेका डा. अरूणा उप्रेती, डा. लक्ष्मी तामाङ, डा. गेहनाथ बराल र जनस्वास्थ्य–जुझारू राधा पौडेलबाट ‘अपडेट’ हुने मौका मिल्यो ।

कार्यक्रममा क्यानेडियन डा. मागली रबर्टले यो पनि बताइन् कि चलनचल्तीको ‘पाठेघर खस्ने’ (युटेरिन प्रोल्याप्स्) ले यो अवस्थाको सही चित्रण गर्दैन, किनकि यस्तो वेला पाठेघर मात्र नभई छेउछाउका अङ्गहरू पनि झर्ने, लतारिने गर्छन् (युटेरस, ब्लाडर, रेक्टम् र स्मल इन्टेस्टिन् आदि) । यसैले सही शब्दावली ‘पेल्भिक् अग्र्यान प्रोल्याप्स्’ हो, अर्थात् ‘आङ खस्ने’ ।

आङ खस्ने मुख्य कारक हुन्, बालविवाह र बुहारीको काम । बच्चा भर्खरै जन्माएकी सुत्केरीलाई तङ्ग्रिन पनि नपाउँदै १५ दिनभित्रै घरबारको श्रममा लगाइन्छ ।

तथ्याड्ढले भन्छ, नेपालका ६.६ प्रतिशत महिला आङ खस्ने समस्याबाट पीडित छन् । यसको अर्थ १० लाखभन्दा बढी महिला यस समस्याबाट पिरोलिनु हो । त्यसैले पनि यसलाई राष्ट्रव्यापी प्रकोप भन्न मिल्छ । भन्नै पर्दछ ।

भारी बोक्ने, सोत्तर उठाउने जस्ता श्रमले शरीरको ‘पेल्भिक् फ्लोर’ मा जबरजस्ती धक्का लाग्छ, र यही दबाबले विभिन्न अङ्गलाई योनिबाट बाहिर थिचीथिची निकालिदिन्छ । डा. मागलीका अनुसार नेपाली महिलाले बाँध्ने पटुका पनि शायद यो अवस्थाको थप कारण हो । कुपोषण अर्को कारण ।

आङ खस्ने समस्याबाट पीडित महिलाहरूले दशकौंसम्म पनि आफ्नो यस्तो शारीरिक विराम लुकाउने गर्छन् । राधा पौडेल सम्झिन्छिन्– जुम्लामा आङ झरेर ग्रस्त एक महिलाले १७ वर्षसम्म टर्चलाइटको बिर्कोलाई प्लाष्टिकले बेरेर त्यसलाई गुप्ताङ्गमा घुसारेर बडो कष्टपूर्वक जीवनयापन गरेकी रहिछन् ।

कार्यक्रममा उपस्थित मकवानपुरकी एक महिलाले भनिन्, “१४ वर्षमै बिहे भयो, काम र धन्दा गर्दागर्दै दिन–रात बित्यो । २० वर्षमा छोरो जन्मियो त्यसपछि अरू छोरा र छोरी । उही त हो नि घाँस, पानी, दाउरा, भकारो, सोत्तर । मुहान टाढा थियो, राति दुई बजे नै उठेर घाम उदाउँदासम्म चार–पाँच गाग्री पानी लगातार ल्याउनुपथ्र्यो । २६ वर्षको उमेरमा आङ झरिगो । कसैलाई भन्न लाज भयो । ५७ वर्षसम्म बोकें । एक दिन रूख–रूखमा खेमा नेपालले सूचना टाँगेको देखेपछि बुहारीलाई भनें र उपचार गर्ने मौका मिल्यो ।”

तथ्याड्ढले भन्छ, नेपालका ६.६ प्रतिशत महिला आङ खस्ने समस्याबाट पीडित छन् । यसको अर्थ १० लाखभन्दा बढी महिला यस समस्याबाट पिरोलिनु हो । त्यसैले पनि यसलाई राष्ट्रव्यापी प्रकोप भन्न मिल्छ । भन्नै पर्दछ ।

मुलुकभर आङ खस्ने अवस्थाबारे सही र पर्याप्त सूचना पुग्न जरुरी छ किनभने पुगिरहेको छैन । यसको उपचार सम्भव मात्र होइन अधिकांश केसमा पूर्णतः निको हुन्छ भन्ने सन्देश दिन पनि उत्तिकै आवश्यक छ ।

तथ्याड्ढले यो पनि देखाउँछ कि पश्चिमा मुलुकमा ७० काटेका महिलालाई आङ खस्ने अवस्थाले असर पार्छ भने नेपालमा २० वर्ष उमेर नपुग्दै । विशेषगरी सुदूरपश्चिम प्रान्तका पहाड र मुलुकभरिको तराई–मधेशका दलित लगायत सीमान्तकृत समुदायमा यो समस्याको भयावह स्थिति छ ।

हिमाल खबरपत्रिकाले १–१५ भदौ २०५९ को अड्ढमा आङ खस्नेबारे विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो । डा. खेम कार्की र अनुसन्धानकर्ता टीका भट्टराईद्वारा लिखित रिपोर्ट सुर्खेत, जाजरकोट, दैलेख र अछाममा गरिएको अनुसन्धानमा आधारित थियो ।

मुलुकभर आङ खस्ने अवस्थाबारे सही र पर्याप्त सूचना पुग्न जरुरी छ किनभने पुगिरहेको छैन । यसको उपचार सम्भव मात्र होइन अधिकांश केसमा पूर्णतः निको हुन्छ भन्ने सन्देश दिन पनि उत्तिकै आवश्यक छ ।

‘पेस्सरी’ नामको रिङ ठाउँमा राखे मात्र पनि धेरै सहज हुन्छ पीडित महिलालाई । डा. गेहनाथ बरालका अनुसार, एक तिहाइ केसमा मात्र शल्यक्रिया गर्नुपर्छ, त्यसमा पनि धेरैजसो अवस्थामा खसेको आङलाई माथि तानेर गाँसिदिने हो । यसबारे शल्यचिकित्सकहरूलाई प्रशिक्षण दिनुपर्नेमा जोड दिंदै डा. बराल भन्छन्, “थोरै केसमा मात्र हिस्टेरेक्टमी गरेर पाठेघर नै निकाल्नुपर्छ । ८०–९० प्रतिशत शल्यक्रिया सफल हुने गर्छ ।”

आङ खस्ने अवस्था न पूर्वजन्मको पाप हो, न लोकलाजको विषय । यो त उत्पीडनबाट सिर्जित अवस्था हो, जसबारे समय घर्किसक्दा पनि पहिचान, प्रचार र उपचार हुनसकेको छैन । त्यसैले कसैको अभियान, सरकारी आह्वान नकुरिकन आङ खस्ने राष्ट्रिय प्रकोप विरुद्ध बोलौं, लेखौं, सूचना प्रवाह गरौं ।

प्रतिकृया दिनुहोस