कला/साहित्य आइतबार, फागुन १८, २०७६

‘आमा’: बदलिदो नेपाली सिनेमाको प्रतिबिम्ब

शुष्मा बराली

‘आमा’: बदलिदो नेपाली सिनेमाको प्रतिबिम्ब

नेपाली चलचित्रले विस्तारै कथावस्तु र प्रस्तुतिको शैलीमा परिवर्तन ल्याइरहेका छन् । अझैँ भनौं नेपाली सिने जगतले आफ्नो स्तरमा सुधार ल्याइरहेको छ ।

गत जनवरीमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएका भेट्रान बलिउड सिने निर्माता तथा निर्देशक प्रकाश झाले नेपाली सिनेमाले कथावस्तुको न्यारेटिभ धेरै राम्रो गरिरहेको भनेर प्रशंसा गरे । नेपाली सिनेकर्मी पनि मख्ख परे ।

हिन्दी दबंग र सिंघमको भन्दा नेपाली सिनेमाका काउण्टरमा दर्शकको भिड लाग्न थालेको छ । राम्रा चलचित्र बन्नु अपवाद मानिने नेपाली सिने जगतले विस्तारै आफ्नो परिचय बदल्दै छ । निर्देशक दीपेन्द्र के खनालले बनाएको चलचित्र ‘आमा’ नयाँ परिचय बनाएको एक चलचित्र हो ।

पितृसत्तात्मक मनोविज्ञान बोकेको समाजमा नारीले भोग्नुपर्ने तीनवटा कथालाई एकैसाथ उठाएर नारी विद्रोहको आवाजलाई उठाइएको छ ‘आमा’ चलचित्रमा । मुख्य गरी तीनवटा नारी पात्रलाई केन्द्रमा राखेर नेपाली समाजको आर्थिक अवस्था र त्यसले महिलामाथिको विभेदलाई कायम राख्न खेलेको भूमिका फिल्मले एकसाथ उठाउने चेतनात्मक आवाज हुन् ।

बिरामी बाबुको ज्यान बचाउन आफ्नै परिवारसँग लडिरहेकी छोरी (सुरक्षा पन्त) र उपचारका लागि छोरा (अर्पण थापा) को खोजी गरिरहेकी आमा (मिथिला शर्मा) को भूमिकाले धेरै कथाहरू एक पटक पस्किन सकेको देखिन्छ । एकातिर आमाको भूमिका अब पिर मानेर बस्ने होइन भन्ने देखाउँछ भने अर्कोतिर छोरीहरू पनि परिवारका जिम्मेवार सदस्य हुन् भन्ने देखाएको छ ।

रित्तिदै गरेका गाउँबस्ती र सुख र सुविधाको खोजीमा शहर छिरेका मानिसहरूको कष्टलाई फिल्ममा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

दैनिक गुजारा धान्न नसकेपछि खाडीमा भासिनुपर्ने नौ जवान युवाहरूको कथा र त्यसको शिकार बन्नुपर्ने जवान युवतीको कथाले समाज कति कहालीलाग्दो अवस्थामा पुगेको छ भनेर सोच्न बाध्य बनाउँछ । त्यति हुँदा पनि छोरी भएका कारण सामना गर्नुपरेका दर्दनाक कथाहरूलाई रेमिटेन्सले धानेको समाजबाट टपक्कै टिपेर निर्देशक खनालले फिल्ममा प्रस्तुत गर्न सकेका छन् ।

युवा विहीन गाउँबस्तीमा बूढापाकाले झेल्नुपरेको एक्लोपना पनि उसैगरी फिल्ममा प्रस्तुत गरिएको छ । समग्रमा फिल्मले अप्ठेराहरूसँग जुध्नुपर्ने पुरुषहरू विदेशमा भएका परिवारका आमा, श्रीमती र दिदीबहिनीले गर्नुपर्ने संघर्षको कथालाई फिल्मले देखाएको छ । नेपाली समाजमा महिलाहरूको परिवर्तित भूमिकालाई फिल्मले प्रष्ट झल्काएको छ ।

अर्कातिर मन्दिरदेखि मसान घाटसम्म पाइलैपिच्छे कमिशनका लागि पछ्याइरहेको दलालको कथाले हाम्रो समाजमा देखिएको भ्रष्ट मानसिकतालाई पनि चित्रित गर्दछ ।

सरकारी अस्पतालको बिजोग र निजी अस्पतालको महंगीले एउटा सामान्य आर्थिक अवस्था भएको परिवारका लागि कति कष्टकर हुन्छ भन्ने पनि फिल्मले देखाएको छ । सेतो कोट (एप्रोन) लगायतका चिकित्सकहरूको बिरामीमाथि राख्ने कालो नजर र परिवारले भोग्नुपरेका पीडालाई पनि फिल्ममा सरल अभिव्यक्ति दिइएको छ ।

चिकित्सकको लापरवाहीले बिरामीको ज्यान जानु र बिल भुक्तानी गर्न नसक्दा लासलाई अस्पतालबाट निकाल्न नपाउनु अहिलेको नेपालको स्वास्थ्य क्षेत्रको कुरुप यथार्थ हो । पुँजीवादको यही तीतो यथार्थलाई निर्देशक खनालले मीठो गरी पस्किएका छन् ।

चलचित्रको कथावस्तुलाई निर्देशकको मिहिनेत त छँदै छ, कलाकारहरूले पनि न्याय गरेका छन् । कलाकारहरू अशान्त शर्मा र अर्पण थापा पर्दामा कम देखिए पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भन्ने साबित गरेका छन् ।

मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्तको भूमिकाले सबै ठाउँमा भगवान पुग्न नसक्ने भएर नै आमा बनाइएकी हुन् भन्ने चलचित्रले व्यक्त गरेको छ ।

आमालाई छोराको साथ र सहयोगको आवश्यकता पर्दा पनि सँगै हुन नपाएर भक्कानिएकी आमा छोराको बाटो हेरी बसेका अर्धचेत वृद्ध बाबुको मन बुझाउन बोलाइएको संवाद निकै कारुणिक लाग्छ । छोरीलाई भन्दा बढी प्राथमिकता छोरालाई दिने हाम्रो समाजको यथार्थसँग जुध्नुपर्दाको अवस्था र महिला पुरुषबीचको विभेदको जर्जरता प्रस्ट देखाउन सकेको छ ।

यस सँगै फिल्ममा गुजाराका लागि विदेशमा रगत, पसिना बगाउन बाध्य नेपाली युवाको यथार्थ पनि छ । २१औं शताब्दीमा फरक धर्म वा अन्तर्जातीय विवाह गरेकी महिलाले समाज र परिवारभित्रै संघर्ष गर्नुपर्ने यथार्थ हो । त्यसमा पनि कथा अन्ततः जन्मिदै रोगले थलिएको शिशुलाई एकपटक पनि छुन नपाउने आमाको कथामा पुग्छ । जुन कथाबाट दर्शकको ध्यानलाई भंग हुन नदिने निर्देशक खनालको खुबी हो ।

चलचित्र आमाको कथावस्तु समग्रमा नेपालको सामाजिक अवस्थाको वास्तविक ऐना हो । कलाकार मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिश निरौला लगायत कलाकारको भूमिकाले कथावस्तुलाई झनै न्याय गरेको छ । कहीं कतै संवाद र संगीतले फिल्ममा बढी सिंगारपटार गर्ने पुरानो रोग दोहोरिन खोजेको जस्तो पनि देखिन्छ । तर, कथाले दर्शकलाई बाँध्न सक्ने भएकाले त्यो सहायक जस्तो लाग्न पुग्छ ।

‘आमा’ कथालाई न्याय गरेको एउटा दर्शनीय चलचित्र हो भन्नुपर्छ । आशा गरौँ, प्रकाश झाहरूसँग नेपाली सिने जगतले सहकार्य त गर्न सक्ला तर फेरि पनि अपेक्षा आफ्नै फिल्म उद्योगसँग गर्ने हो । त्यसका लागि बलियो आधार हो दीपेन्द्र के खनालको फिल्म ‘आमा’ ।

प्रतिकृया दिनुहोस