टिप्पणी शनिबार, फागुन १७, २०७६

सम्यक् महादान

वसन्त महर्जन

सम्यक् महादान

नेपाललाई बुद्ध र बौद्ध सन्दर्भका के–के कुरासँग जोडेर चिनाउन र लाभ लिन सकिन्छ भनेर चिन्तन गर्नु सामयिक नै हुनेछ । ‘बुद्ध जन्मिएको देश’ मात्रै होइन ‘सम्यक् पर्व मनाउन शुरू गरिएको देश’ भनेर पनि चिनाउन सकिन्थ्यो कि ! यो अनुसन्धान गर्नुपर्ने नयाँ क्षेत्र हो ।

काठमाडौं, ललितपुर (पाटन) र भक्तपुरको बौद्ध समाजमा सम्यक् पर्व मनाउने परम्परा छ । काठमाडौंको स्वयम्भूस्थित भुइँखेलमा प्रत्येक बाह्र वर्षमा मनाइने सम्यक् पर्व अन्यत्रको भन्दा विशेष मानिन्छ । प्रत्येक पाँच वर्षमा ललितपुरको पाटनमा मनाइने ‘इतिल्हने सम्यक्’ ले पनि विशिष्ट महत्व राख्छ ।

 

त्यसैगरी प्रत्येक माघ महीनाको पहिलो दिन भक्तपुरमा सम्यक् पर्व मनाउने परम्परा छ । यस अतिरिक्त कुनै दाताले इच्छा गरेको अवस्थामा पनि ‘ऐच्छिक सम्यक् पर्व’ मनाउने चलन छ । परम्परादेखि मनाइँदै आएको यस पर्वलाई सही ढङ्गले पहिचान र प्रचारप्रसार गर्न नसक्दा स्थानीय नेवार बौद्ध समाजमा मात्रै सीमित हुन पुगेको छ ।

सम्यक् पर्व विशेषतः दान र दिपङ्कर बुद्धसँग सम्बन्धित छ । दिपङ्कर बुद्धलाई श्रद्धा व्यक्त गर्न दान गर्नु नै सम्यक् महादान पर्व हो । मानव बुद्धका रूपमा २८ बुद्धहरूको नाम ज्ञात छ । तीमध्ये गौतम बुद्ध पछिल्ला हुन् ।

भविष्यमा बुद्ध बन्छु भनेर अठोट गरी साधना गर्नेहरूले सर्वप्रथम कुनै एक मानव बुद्ध समक्ष प्रणिधान (दृढ प्रतिज्ञा) गर्नुपर्ने मान्यता छ । यही मान्यता अनुसार सुमेध ऋषिले दिपङ्कर बुद्धसमक्ष भविष्यमा आफू बुद्ध हुन सकूँ भनी प्रणिधान गरेको उल्लेख छ ।

तिनै सुमेध ऋषि जन्मौंजन्मसम्म साधना गरी कालान्तरमा गौतम बुद्ध बनेको कुरा ‘बुद्धवंश’ लगायतका बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ । अट्ठाइसमध्ये दिपङ्कर चौथो बुद्ध हुन् ।

गौतम बुद्धलाई वर्तमान बुद्ध, उनीभन्दा अघिका सम्पूर्ण बुद्धलाई अतीत बुद्ध र पछि हुनेहरूलाई भविष्य बुद्ध मान्ने चलन छ । विशेषतः वर्तमान बुद्धलाई प्रमुख रूपमा लिने चलन विश्वभर रहे पनि नेपालमा दिपङ्कर बुद्धको पूजा–आजा तथा पर्व मनाउने चलन विशिष्ट किसिमको छ । गौतम बुद्धसँग सम्बन्धित भएर वा अन्य कारणले पनि नेपालमा दिपङ्कर बुद्धको स्थान महत्वपूर्ण रहेको मान्न सकिन्छ ।

विश्वका समस्त बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धलाई अनेकौं बुद्धमध्येका एक भनेर चिन्छन् । नेपाल चिनाउनु पर्‍यो भने लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई औंल्याएर ‘बुद्ध जन्मिएको देश’ भनिन्छ । विभिन्न सम्प्रदायमा विभक्त भए पनि सबैले गौतम बुद्धभन्दा अघिका अतीत बुद्धहरूका सम्बन्धमा प्रायः एकमत राखेको पाइन्छ । बुद्धको उपदेशमा समानता पाइने भन्दै सबैलाई उत्तिकै श्रद्धा व्यक्त गरिन्छ ।

ललितपुरको क्वावहाः मा १५ फागुनमा आयोजित इतिल्हने सम्यक् महादान पर्व । तस्वीरहरूः मोनिका देउपाला

जसरी नेपालका सबै बौद्ध सम्प्रदाय सम्यक् पर्वमा सहभागी हुन्छन्, त्यसरी नै विश्वभरका बौद्धहरूका लागि यो साझा पर्व हुनसक्छ । ललितपुरको नागबहालमा फागुन २०७६ मा सम्पन्न सम्यक महादान पर्वमा श्रीलङ्का, भारत, भुटान, मालद्विभ्सलगायतका देशबाट आएका भिक्षुहरुको सहभागिताले पनि यसको पुष्टि गरिसकेको छ । यही पर्वले पनि नेपाललाई एउटा अपूर्व बौद्ध गन्तव्यका रूपमा विश्वसामु उभ्याउन सक्छ । यस सम्बन्धमा थप प्रचारप्रसार र अध्ययन गर्न सके लाभदायी नै हुन्छ ।

 

प्रतिकृया दिनुहोस