टिप्पणी बुधबार, फागुन ७, २०७६

'बत्तीमुनि'काे अँध्याराे बन्याे अन्तर्राष्ट्रिय बाैद्ध महाेत्सव

वसन्त महर्जन

'बत्तीमुनि'काे अँध्याराे बन्याे अन्तर्राष्ट्रिय बाैद्ध महाेत्सव
तस्वीर: लुम्बिनी बौद्ध विश्वविद्यालय ।
वसन्त महर्जन

विश्वविद्यालयले बृहत्तर दृष्टिकोण बोक्छ र व्यापक भू–क्षेत्र समेट्छ । डेढ दशकअघि स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालय भने निकै साँघुरो दायरामा छ । दृष्टान्त विश्वविद्यालयले २४–२६ माघमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव’ मा देखियो ।

महोत्सवमा प्राज्ञिक बहस, कार्यपत्र प्रस्तुति, कविता वाचन, पुस्तक प्रदर्शनी लगायतका विविध कार्यक्रम भए । तर, महोत्सवमा उपस्थिति निकै पातलो थियो । त्यसमा पनि स्थानीय समुदायको खासैै सहभागिता नदेखिनुले महोत्सव ‘बत्तीमुनिको अँध्यारो’ झैं बन्यो।

झट्ट हेर्दा विश्वविद्यालयको काम प्राज्ञिक गतिविधि मात्रै हो, यस बाहेकका पाटाहरू विषय क्षेत्रमै पर्दैन जस्तो बुझाइ पनि हुनसक्छ । तर, कुनै पनि विश्वविद्यालयले आफ्नो आधार क्षेत्र बलियो पार्न जरूरी हुन्छ । अझ, बौद्ध अध्ययन केन्द्रको रूपमा विकास गर्ने उद्देश्य लिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि त त्यस्तो आधार अपरिहार्य नै हुन्छ ।

र, स्थानीय समाजसँग सम्पर्क र कसिलो सम्बन्ध नै मुख्य आधार हुन् । तर विडम्बना, स्थानीयमा विश्वविद्यालय भिज्न नसक्दा पहिलो पटक भएको अन्तर्राष्ट्रिय महोत्सवमा समुदायको आकर्षण देखिएन ।

बुद्ध जन्मस्थल रहेको प्रदेश–५ को प्रस्तावित नाम ‘लुम्बिनी’ छ । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्ने सम्भावना अपार छ । यो क्षेत्रलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्दै लैजाने कार्यमा संघीय तथा प्रदेश सरकारले पछिल्लो समय जोड दिइरहेका छन्, जुन सराहनीय छ । तर, त्यो मार्गमा विश्वविद्यालय अपेक्षा गरे अनुसार अग्रसर देखिंदैन ।

लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको बौद्ध विश्वविद्यालयको स्थापना हुनुपर्ने बौद्ध समुदायको सोच २०५५ सालमा भएको प्रथम विश्व बौद्ध सम्मेलनमा मुखरित भएको थियो । जुन २०६३ सालमा साकार भयो । तर, स्थापनायता विश्वविद्यालयले आफ्नो विशिष्टता अनुसार बहुआयामिक विकासको योजना तय गर्न सकिरहेको छैन ।

इतिहासमा संसारका प्राचीनतम ज्ञान केन्द्रहरूमध्ये पर्ने नालन्दा, विक्रमशील लगायतका बौद्ध विश्वविद्यालयहरू विभिन्न समयका शासकको आक्रमणबाट ध्वस्त भएको बारे बोलिएको, लेखिएको पाइन्छ । तर, ती विद्यालय कमजोर हुँदै सखाप हुने बाटोतर्फ जानुमा स्थानीय जनजीवनसँगको कमजोर सम्बन्ध पनि कारक थियो भनेर कतै चर्चा हुँदैन ।

ती विश्वविद्यालयहरूले प्राज्ञिक क्षेत्रमा मात्रै ध्यान दिंदा स्थानीय जनजीवन बौद्ध धर्मदर्शनबाट टाढिंदै गएको थियो । विश्वविद्यालयले स्थानीय जनतासँग दूरी बढाउँदा आधार कमजोर हुनु स्वाभाविकै भयो । यो पक्षलाई मनन गर्ने हो भने लुम्बिनी विश्वविद्यालयले स्थानीय समाजसँग सरोकार राख्नैपर्छ ।

निश्चय पनि कला र संस्कृति आजको भोलि विकास हुँदैन । महोत्सवमा पनि त्यस्तै देखियो  । तर, बौद्ध कला र संस्कृति लुम्बिनी बाहिरका क्षेत्रहरूबाट पनि समेट्न सकिन्थ्यो । काठमाडौं, मुस्ताङ लगायत ठाउँमा प्रचलित कला र संस्कृतिलाई यस्ता महोत्सवमा समेट्नुका साथै विश्वविद्यालयले प्रदर्शनी र शिक्षणमा प्रयोग गरेर घेरा फराकिलो पार्न सक्छ । 

महोत्सवको अन्तिम दिन बौद्ध विषय सम्बन्धी कविता पाठमा भने स्थानीय साहित्यकारहरू जुर्मुराएको देखियो, जसमा महिला सहभागीको संख्या पनि उत्साहजनक थियो । वाचन सशक्त रहे पनि दर्शनको कसीमा कविताहरू अलि कमजोर थिए, यद्यपि नेपाली साहित्यमा बौद्ध विषयवस्तुको सिर्जना कम हुने पृष्ठभूमिमा महोत्सवले राम्रो संकेत दियो ।

समग्रमा, समुदायसँग घुलमिल हुँदै बृहत्तर क्षेत्रमा फैलिने उद्देश्य हासिल गर्न विश्वविद्यालयसँगै लुम्बिनी विकास कोष र प्रदेश–५ सरकारले संयुक्त हातेमालो गर्नु अपरिहार्य छ ।

 

प्रतिकृया दिनुहोस