कला/साहित्य शनिबार, माघ १८, २०७६

आस्था राउतलाई हिरासतमा लिदा धुमिल बन्याे प्रहरी छबि

शेखर खरेल

आस्था राउतलाई हिरासतमा लिदा धुमिल बन्याे प्रहरी छबि

मूलधार भनिने मिडियामा कलाबारे कमै चर्चा हुन्छ । नेता र नीतिनिर्माताका झिनामसिना कुराले प्रथम पृष्ठ र सम्पादकीय ओगट्ने ठूला पाते (ब्रोडशीट) पत्रिकामा कलाका लागि मध्य वा अन्तिम पृष्ठ छुट्याइएको हुन्छ ।

तर, अहिले कलासँग जोडिएकी एक पात्र प्रथम पृष्ठ र सम्पादकीयमा छाएकी छिन् । तर, यो स्थान कलाका कारण नभई राज्यको नियमनकारी निकाय विरुद्ध टिप्पणी वा प्रतिरोधबाट सिर्जित भएको हो ।

माघेसंक्रान्तिका दिन गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा भएको भनाभन र त्यसपछि विकसित घटनाक्रम कुनै खास प्रकरणभन्दा बढी प्रहसन मात्र देखिएको छ ।

आस्थाको ‘मोर द्यान इक्वेल’ को सेलिब्रिटी मानसिकता र प्रहरीको आलोचनाको शून्य सहनशीलता यो प्रहसनरूपी सिक्काका दुई पाटा हुन् । एक मात्र शब्द ‘माफी’ बाट हल हुनसक्ने सामान्य भनाभन फौजदारी अपराध सरह मानेर आस्थालाई हिरासतमा लिने रवैयाले प्रहरीकै छवि धुमिल बनेको छ ।

एक मात्र शब्द ‘माफी’ बाट हल हुनसक्ने सामान्य भनाभन फौजदारी अपराध सरह मानेर आस्थालाई हिरासतमा लिने रवैयाले प्रहरीकै छवि धुमिल बनेको छ।

आस्थालाई प्रहरी हिरासतसम्म पुर्‍याउने एक मात्र कारक ‘फेसबूक लाइभ’ हो । सुरक्षा जाँच कक्षको सीसीटीभीमा देखिए झ्ैं उनी प्रहरी जवान रमिता श्रेष्ठसँगको सामान्य भनाभनसँगै ‘डिपार्चर लाउन्ज’ तिर बढ्छिन् । सुरक्षा जाँच पश्चात न प्रहरी जवान श्रेष्ठले उनलाई पछ्याएकी छिन् न श्रेष्ठले आफ्नो अपमान भएको गुनासो ‘चेन अफ कमाण्ड’ सँग गरेकी छिन् ।

यदि आधा दशक अघि मात्र (जुनवेला सामाजिक सञ्जालको यतिविघ्न प्रकोप थिएन) यस्तो घटना भएको भए त्यसले ‘कानूनी उपचार’ नै खोज्नुपर्ने अवस्था आइपर्ने थिएन । तर, ड्यूटीमा रहेकी प्रहरी जवानसँगको सवालजवाफ भन्दा पनि ‘फेसबूक लाइभ’ को अमर्यादित शब्दचयनले आस्थालाई सङ्कटको भुमरीमा पार्‍याे ।

आस्थाको टिप्पणी उनकै ‘इरर अफ जजमेन्ट’ हो । आफूमाथि भएको ‘दुव्र्यवहार र अन्याय’ उनले सम्यक् प्रकारले अभिव्यक्त गरेकी भए, प्रशस्तै सहानुभूति बटुल्न सक्थिन् ।

किनकि, प्रहरीको ‘कोतवाली झपट’ मा नपरेका व्यक्ति शायदै पाउन सकिन्छ । विडम्बना चाहिं, न्याय र सदाचार अपेक्षा गर्ने आस्था ‘कनिष्ठ दर्जाका व्यक्ति निम्न चारित्रिक मनोवृत्तिका हुन्छन्’ भन्ने निचोडमा पुग्छिन् । कनिष्ठ दर्जाका प्रहरीलाई ‘डन्ठे’, ‘प्युसो’ र ‘प्युसी’ सम्बोधन गर्दै आफूभित्रको वर्गीय आग्रह प्रकट गर्छिन् ।

लोकतान्त्रिक र सामेली समाजमा जुनसुकै ओहोदा र कर्म मर्यादित हुन्छ भन्ने मान्यताका कारण हिजोका अपमानबोधक पदावली आज प्रयोग गरिंदैनन् । सुरक्षा र कानून प्रवर्तनका लागि बर्दी भिरेका कुनै पनि दर्जाका सुरक्षाकर्मी आदरका पात्र हुन् । एक व्यक्तिसँगको ‘वादविवाद’ आम तप्कालाई हियाउने प्रकारले सामान्यीकृत हुनुहुँदैन ।

आस्था प्रकरणबाट स्वनामधन्य सेलिब्रिटी र सामान्यजन सबैले सिक्नुपर्ने पाठ चाहिं क्रोध व्यवस्थापन हो । अझ्, कला–मनोरञ्जन क्षेत्रमा लागेकाले त झ्न् आम नागरिक र प्रशंसकसँग मात्र नभई सार्वजनिक स्थानमा आफ्नो उपस्थिति र व्यवहारबारे सचेत हुनु जरूरी छ ।

सेलिब्रिटी भ्रम
अंग्रेजी भाषाको शब्द ‘पपुलर’ को अर्थ प्रसिद्ध र लोकप्रिय दुवै हुन्छ । तर, दुवै शब्दको अर्थ फरक छन् । सेलिब्रिटीहरू प्रसिद्ध वा लोकप्रिय वा दुवै हुनसक्छन् । नेपालको परिप्रेक्ष्यमा लोकप्रिय र प्रसिद्ध दुवै रहेका सेलिब्रिटी विरलै भेट्न सकिएला । किनकि, कोही वाह्वाही कमाउन सफल रहे पनि आदरसम्मान निम्ति योग्य रहँदैनन् । जब कुनै व्यक्ति प्रसिद्ध हुँदै लोकप्रिय हुन्छ, असलमा ऊ नै सेलिब्रिटी हो ।

आस्था प्रकरणमा हास्य अभिनेता दीपकराज गिरीले ‘नेपालमा कोही पनि सेलिब्रिटी भई नसकेको र सबैले आफूलाई आम मानिस ठान्नु श्रेयस्कर हुने’ टिप्पणी गरेका छन् । यो यथार्थपरक छ । आजको युगमा अखबार, अनलाइन, टेलिभिजन र यूट्यूबमा घरीघरी देखिने अनुहारलाई धेरैले चिने पनि सम्मान दर्शाउन नसक्लान् ।

फेरि प्रसिद्धि भन्नु पनि धेरैजस्तो अवस्थामा पानीफोका न हो, आज नाम त भोलि गुमनाम । लता मङ्गेशकर, अमिताभ बच्चन, पउल मकार्टनी जस्ता सर्वकालिक सेलिब्रिटी संसारमा कति पाइएलान् ? असलमा व्यक्तिलाई सेलिब्रिटी बनाइराख्न प्रतिभा सँगसँगै व्यवहार र विनम्रता उत्तिकै जिम्मेवार छ । त्यसैले प्रतिभा सुन हो भने, विनम्रता सुवास ।

प्रतिकृया दिनुहोस