‘पत्रकारलाई लाइसेन्स अनावश्यक' : सांसद राधेश्याम अधिकारी (भिडियाे सहित)
राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले मिडिया काउन्सिल विधेयकमा पत्रकारले परीक्षा दिनुपर्ने भन्ने विषयप्रति आपत्ति जनाउँदै त्यो व्यवस्था संसदबाट पारित गर्न नहुने बताएका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार पारित गरेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पत्रकारका लागि लाइसेन्स लिनुपर्ने प्रावधान थपिएपछि यसको विरोध भएको छ।
हिमालखबरसँग सांसद अधिकारीले भने, “मन्त्रीज्यू पनि पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्नथ्यो तर उहाँले पनि बलियो अडान नलिएको र नेकपाका ठगेन्द्र प्रकाश पुरीलगायत समितिका केही सदस्यहरुको अडानका कारण समितिले अन्तिममा त्यो प्रावधानसहित पारित गरेको बताए ।
उनले राष्ट्रियसभाबाट यो विधेयक पारित भए पनि प्रतिनिधिसभाले यसलाई पारित गर्न नहुने बताए ।
हाल पत्रकारिता गरिरहेकाले स्वतः लाइसेन्स पाउने तर नयाँ प्रवेश गर्नेका लागि काउन्सिलले पत्रकारिता प्रवेश अनुमतिपत्र लाइसेन्सका लागि जाँच दिनुपर्ने व्यवस्था विधेयकमा दफा नै थप गरेर गरिएको छ ।
यो विधेयकका बारेमा यसअघि विभिन्न विषयमा विवाद भए पनि अनुमति पत्रको प्रावधान भने नयाँ थपेर समितिले पास गरेको हो ।
विधेयक राष्ट्रिय सभामा पेश
मिडिया काउसिल विधेयक राष्ट्रिय सभामा पेश भएको छ । मंगलबार बसेकोे बैठकमा राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सभापतिले यो विधेयक पेश गरेका हुन् ।
समितिले सोमबार पारित गरेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्दै सभापति गुरुङले ३२ वटा दफा भएको विधेयकमा ३ वटा नयाँ दफा थप गरी ३५ वटा बनेको जानकारी दिए । आमसञ्चार क्षेत्रबाट विरोध भएको यो विधेयकमा १०३ वटा संशोधन परेको थियो ।