टिप्पणी विहीबार, माघ १६, २०७६

शहीद परिवारको सत्यकथा

शेखर खरेल

शहीद परिवारको सत्यकथा
शेखर खरेल

आदिभक्तका दुई पत्नी मार्फत पाँच छोरा र चार छोरीको प्रवासमा जीविकोपार्जनको संघर्ष, जेठा छोरा धर्मभभक्तको प्रजापरिषद्सँगको आबद्घता र राणाशाही विरुद्धको बगावत पुस्तकको ‘क्लाइमेक्स’ हो।

माथेमा थरविशेषको उच्चारण मात्रले नेपालमा नागरिक अधिकार र शिक्षा मार्फत सामूहिक चेतनाको प्रवद्र्धनमा समर्पित एक प्रतिष्ठित परिवार वा कुलको छवि उत्पन्न हुन्छ । तर, आज जस्तो वृक्षको आकारमा यो कुल देखिएको छ, त्यसको जरा खोतल्दै जाने हो भने त्यो शक्तिको ‘इपिसेन्टर’ दरबारसम्मै पुग्दछ ।

गैर दरबारिया (राणा परिवार) लाई मात्र उपलब्ध सर्वोच्च पदवी ‘सरदार’, ‘काजी’ र ‘सुब्बा’ ले माथेमाहरूको हैसियत उकासियो । तर, पनि माथेमाहरू राणाकै कोपभाजनको शिकार भए । सत्ता विरुद्ध ‘बगावत’ का कारण परिवारको आर्थिक हैसियत रसातलसम्म पुगे पनि सामाजिक हैसियत भने झन चुलियो ।

‘दि लाइफ एण्ड टाइम्स अफ ध्रुवभक्त माथेमा (कन्टेक्स्टः मार्टर धर्मभक्त माथेमा)’ पुस्तकले माथेमा परिवारका रहस्यमयी, नागरिक अधिकारका लागि बलिदान सँगसँगै जिजीविषाका अनेकौं लोमहर्षक कथ्य उधिनेको छ । कुनै वेलाको (राणा) दरबारको आँखाका नानी माथेमा (परिवार) एकाएक कसरी शासककै आँखाका कसिङ्गर बन्न पुगे र निर्वासनमा धपाइए, त्यसको नालीबेली माथेमा परिवारका एक महत्वपूर्ण सदस्य तथा पुस्तकका सूत्रधार ध्रुवभक्तले खुलासा गरेका छन् ।

तर, शीर्षकमा ‘लाइफ एण्ड टाइम’ भनिए तापनि, यो पुस्तक विशुद्ध रूपमा ध्रुवभक्तको जीवनी भने होइन । माथेमा कुलको वंशावली, दरबारसँगको प्रेम र घृणाको सम्बन्ध, नागरिक अधिकारका निम्ति बलिदानदेखि जिजीविषाको संघर्ष पुस्तकले चर्चेको समय र भावभूमि (टाइम एण्ड स्पेस) हो ।

ध्रुवभक्त आफ्ना पूर्वज हरिभक्त मार्फत माथेमा वंशको जरा खोतल्छन् । हरिभक्त वास्तवमा हरि (भगवान विष्णु) का उपासक हुन्, जो कोतपर्वकै समयमा ‘सुब्बा’ बनिसकेका हुन्छन् । राणाशाहीको अनवरत ४२ वर्षको सेवापछि उनी वीरशमशेरको दरबारमा ‘सरदार’ मा पदोन्नति हुन्छन् ।

हरिभक्तका छोराहरू भागवतभक्त तथा नारायणभक्त समेत ‘काजी’ र ‘सरदार’ को पदवीसँगै दरबारमा हैसियत बनाउन सफल हुन्छन् । तर, भागवतभक्तका छोरा आदिभक्तसम्म आइपुग्दा परिस्थिति बदलिन्छ । चन्द्रशमशेर सत्तामा आएपछि माथेमा कोपभाजनमा पर्छन् । पुस्तकको ‘टर्निङ प्वाइन्ट’ नै माथेमामाथिको चन्द्रशमशेरको वक्रदृष्टि हो ।

आदिभक्तलाई सम्पन्नताको उँचाइबाट खसाउन चन्द्रशमशेर व्यापारको प्रस्ताव गर्छन् र जवाहरात उद्यमका लागि राज्यकोषबाट तीन लाख रूपैयाँ लगानी गर्छन् । तर, चन्द्रको ‘ग्राण्ड डिजाइन’, त्यो उद्यम सफल हुन सक्दैन । आदिभक्त आफ्नो पदवी र जायजेथा दुवै गुमाउन पुग्छन् र चन्द्रको राज्यकालभर नेपाल नफर्कने वाचा गर्दै कलकत्ता निर्वासन रोज्छन् ।

शहीद धर्मभक्त । (बायाँ)

आदिभक्तका दुई पत्नी मार्फत पाँच छोरा र चार छोरीको प्रवासमा जीविकोपार्जनको संघर्ष, जेठा छोरा धर्मभक्तको प्रजापरिषद्सँगको आबद्धता र राणाशाही विरुद्धको बगावत पुस्तकको ‘क्लाइमेक्स’ हो । जेठा धर्मभक्तको शहादतपछि माइला ध्रुवभक्तमाथि आइपरेको वृद्ध बाबुसहित संयुक्त परिवारको लालनपालनको जिम्मेवारीको कठोर संघर्षको कथानकसँगै यो पुस्तक कोइराला वा (जवाहरलाल) नेहरू परिवार झैं सम्पन्न परिवारभित्र पनि विद्रोही जन्मिने परिस्थिति निर्माणको फेहरिस्त बन्न पुगेको छ ।

एउटा प्रेरणादायी प्रसङ्ग यस्तो छ, ‘कलकत्तामा एक दिन धर्मभक्त विद्यालयबाट जीउभरि घाउ लगाएर घर फर्कन्छन् । तर, विद्यालयमा भएको पिटाइबारे उनी घरमा कसैलाई बताउँदैनन् । जब आदिभक्तले छोरामाथिको पिटाइबारे थाहा पाउँछन्, उनी कड्किंदै छोरालाई भन्छन्– कसैले पनि कमजोरमाथि आदर जनाउँदैन । अबदेखि प्रत्येक दिन पाँच रुपैयाँ लिने र कसरत गर्ने’ (पृष्ठ ३२) ।

पिताको यसै प्रेरणाबाट धर्मभक्त व्यावसायिक बडीविल्डर बन्छन् । ‘बङ्गाल च्याम्पियन’ बनेका धर्मभक्त नेपाल फिर्तीपछि राजा त्रिभुवनका व्यायाम गुरु बन्न पुग्छन् । यस क्रममा प्रजापरिषद्मा आबद्ध उनलाई राणाको गाथगादी ताकेको अभियोगमा ३१ वर्षको उमेरमै संवत् १९९७ माघ १३ गतेको राति सिफल (काठमाडौं) मा झुण्ड्याएर मृत्युदण्ड दिइन्छ ।

प्राध्यापक भवेश्वर पंगेनीले ध्रुवभक्त माथेमासँग वार्ताका माध्यम कथ्यहरूको सँगालो नेपालीमा प्रकाशित गरेका थिए । यही पुस्तकलाई ध्रुवभक्तका जेठा छोरा केशवभक्तले केही परिमार्जन सहित अंग्रेजीमा अनुवाद गरेर यो पुस्तक तयार पारेका हुन् । ९६ वर्षको सुदीर्घ जीवन बाँचेका ध्रुवभक्तले पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलन, दोस्रो विश्वयुद्ध, बङ्गालको अनिकाल र भारत स्वतन्त्रतापछि कलकत्तामा फैलिएको जातीय हिंसाको वर्णन पनि गरेका छन् ।

कालिम्पोङमा तत्कालीन तिब्बती ट्रेड एजेन्टमा नोकरी र नेपाल फिर्तीपछिको संघर्ष पनि समेटिएका छन् । राजा त्रिभुवनको सद्भाव रहँदारहँदै पनि ध्रुवभक्त अन्ततः अमेरिकी सहयोग निकाय (अहिलेको युएसएड) मा नोकरी गर्न बाध्य हुनपुग्छन् ।

प्रस्तुत पुस्तक माथेमा कुलको वंशावली कम, नेपाली प्रजातान्त्रिक आन्दोलनको एक जीवन्त र आधिकारिक दस्तावेज हो । परिमार्जन सहित अंग्रेजीमा अनूदित पुस्तक मार्फत केशवभक्तले बुवाप्रति श्रद्धाभाव मात्र प्रकट गरेका छैनन्, पठनको दायरालाई पनि विस्तारित गरेका छन् ।

 

प्रतिकृया दिनुहोस