दस्तावेज शुक्रबार, माघ १०, २०७६

नेपाल–भोट युद्ध तयारी: अन्न राख्ने ठाउँको अभाव

ज्ञानमणि नेपाल

नेपाल–भोट युद्ध तयारी: अन्न राख्ने ठाउँको अभाव

तराईबाट हेटौंडामा आएको चामल स्याफ्रुमा चलान हुन नसक्दा गोदाम भरिएर थप अन्न राख्ने ठाउँको अभाव भएको पत्र जङ्गबहादुरलाई पठाइएको थियो।

ज्ञानमणि नेपाल

रसुवाको स्याफ्रुमा खटिएका मेजर महारुद्र खत्रीलाई भोटसँगको युद्धका लागि तराईका जिल्लाहरूबाट ल्याइएको चामलको हरहिसाब राख्नेदेखि गोदाममा थन्क्याउनेसम्मको जिम्मा दिइएको थियो । बारा, पर्सा, रौतहट र सर्लाहीबाट आएको अन्न हेटौंडाबाट आइनपुगेको उनले प्रधानमन्त्रीलाई चिठी मार्फत जानकारी गराएका थिए ।

हेटौंडाको गोदाम भरिएर अन्न राख्ने ठाउँको अभाव भएको थियो । चामल राख्ने धोक्रा पनि नहुँदा समस्या परेको खबर आफूले पाएको खत्रीले चिठीमा लेखेका थिए । त्यहाँबाट अन्न स्याफ्रुमा चलान गरिएको भए थप आउने चामल राख्न ठाउँ खाली हुँदै जान्थ्यो । तर गोरुगाडा आइनपुग्दा चामल हिंडाउन कठिनाइ भएको उनले चिन्ता व्यक्त गरेका थिए ।

उता युद्धका लागि बन्दोबस्त मिलाउन केरुङमा खटिएका मेजर दलजित बिष्टले पनि बाटो, पुल, अन्न राख्ने गोदामघर, सैनिक बस्ने थर्पु (शिविर) निर्माणमा भएको प्रगति विवरण चिठी मार्फत प्रधानमन्त्रीलाई पठाएका थिए ।

टिमुरेमा रसदघर बनाउन जमदार ऐमान खत्रीलाई खटाएर तागिता गरिरहेको, घट्ट बनाउन स्थानीय भोटेहरूलाई जिम्मा दिएको, हाँडी र गाग्रा बनाउन बट्टारको माटो राम्रो ठहर्‍याई कुमालेहरूलाई लगाएको उनले जाहेर गरेका थिए । बाटो र गौडा बलियो र फराकिलो पार्न मेजर सताराम खत्री र हाँडी/गाग्रा बनाउन लेफ्टिनेन्ट सेवकराम थापा खटिरहेको जानकारी पनि गराइएको थियो ।

कतिपय ठाउँमा खोला पनि तर्नुपर्ने भएकाले डुङ्गा बनाउन कामदारलाई काठ काट्न लगाइएको थियो । मेजर बिष्टले निर्माण गर्न लागिएको डुङ्गाको आकार र विवरण पनि चिठीमा उल्लेख गरेका थिए ।

मेजर महारुद्र खत्रीले प्रधानमन्त्री जङ्गबहादुर राणालाई लेखेको चिठी

बारा, पर्सा, रौतहट, सर्लाही ४ जिल्लाबाट आयाको रसद हेटौंडामा रसद राखन्या घर चावल राखन्या जगा ज्मा भयाका चावल धोक्रामा हालौ भन्या पनि धोक्रा आइपुग्याको छैन. ञाहा भयाका चावल चलाउनु पर्न्या बेहोरा भयादेखि ञाहाका जम्मा भयाका चावल गैसकिन्या थियो. जगा खाली भया फेरि आयाका चावल राखनलाई जगा पनि हुन्थ्यो. चावल चलान गर्नलाई बयलगाडा पनी केही आयाको छैन. ञाहा ज्मा भयाका चावल चाँडो चलान गर्न्या वेहोरा नभयाता चावल ढेर भयापछि उठी सकन्यालाई कठिन होलाकी भंन्याजस्तो मेरो चित्तमा लाग्छ. लेखन्या मानिस नआउँदा रैतानलाई रसिद फर्काउन सकियेन.

१९११ मार्ग शुदि १५ रोज

मेजर दलजित बिष्टले जङ्गबहादुरलाई लेखेको चिठी

अघि बनायाको थर्पुका अड्डा जो भयाको लेखि पठाउन्या काम बढिया गरेछौ. यति बाहेक बनाउनु पर्न्या रसदघर तिमिले तजविज गर्‍याका जगामा अस्ति लेखिया बमोजिमको अन्न अटाउन्या गरि बनाउन तयार गर्न्या काम गर्न्यै छौ. तयार भयाका अड्डाका थर्पु चाँडो तयार गर्न लाउनु. तोप लस्कर जान्या बाटो तिमिहरूका तजवीजले ठहराइ वलियो मजबुति बनाउनु. मुलुकभरको रसद ल्याउन्या बन्दोबस्तको ताकिति लागिरहेछ. १५ ।२० दिन देखि बराबर रसद आउन्याछन्. तहासम्म रसदघरको ताकिति गरि सिध्याउन्या काम गर्नु. घट्ट बनाउनलाई ताहाको बोट्याहरूलाइ बनाउन लाउनु. ज्याला खाजाकै रकम चाहिन्या रहेछ कति दिनमा सकिन्यारहेछ तजविज गरि लेखि पठाउ. घट्टलाई चाहिने सरजाम १ ।२ दिन भित्रमा आउला. हाँडि गाग्रा बनाउनलाई वरटारका कुम्हाल्हरूलाई लाउनु. मानिस पुगेन भनि लेखि पठाया बमोजिम पठाइदिउँला.

ञाहाका लुहकर्मि थामिया भनि मर्जि आयाको अर्थ जोग्यो. वरावलको रसद घरमा पहरा चौकि गर्न फेरि २ घर बनाउनु भनि कझुंडिका पट्टिलाइ लायाको थियो. ज्मादार चन्द्रवीर खतृलाइ पनि थपिदिञा बरोबर गरि काम गर्दै छन्. टिमुर्‍या गाउँमा रसद घर बनाउनु भनि ज्मादार अ‍ैमान खतृलाई खटाइ गयाका छन्. ताकिति गर्दै छु. ढुंगाको गारो र फल्याकको छाना पर्दै छ. ताहाँबाट रसद आउन्ज्याल तयार हुंदै थन्कीदै गर्ला. घट्ट बनाउनाका अर्थलाई अखाडा लेखि जिम्मा लायाको छ. पान सये सात सये खोलाका ढुङ्गाका काम गर्न जान्या सिपालु छानि काममा लाउनु भनि ज्यामदारलाई अह्रायाको छ. सबै गाउ गाउका मानिस सामेल भयाको छैन. १ ।२ दिनमा सामेल गरि हाजिर लेखि जो खर्च चाहियेला विंति चह्राउला. नसिद्धियाका थर्पु पनि सिध्याउन लायाको छ. बाटो गौडा गल्फाका पहरामा बलियो मजबुति भरिसक्य फराक गरिबनाउनु भनि कप्तान सताराम खतृलाई भनि पठाउँदैछु. धुन्चेको साघुमा बल ढेर चाहिंछ र धुन्चेमा बस्याको १० दिन भयो. वरोवर काम चलाउदा वारिपट्टि ४ पारिपट्टि ३ जिव वस्न्या मैदानको तजविज गरि मैदान चह्राइ वेत्रावतिका साँघुमा झुलंगा खिंयातको साँघु पनि विग्रयाको रहेछ. २ ।२ जिप फेरि मैदान फेर्नु पर्न्या छ. ठाडा खहर्‍या धेरै छन्. १ ।२ फल्याकको साँघु हाल्न गाउँ गाउँको जिम्मा गर्‍याको छ. तिनमा पनि हेरि बसि मानिस राखी बनाउन लाउछु. हाडि गाग्रा पार्न्यालाई वरटारमा सिपाहि पठायाको छ. लेफ्टेन सेवकरामथापाको नगिचै पर्दा रहेछ र तिमिले ताकिति गरिरहनु भनि पठाउँदै छु. उनबाट पनि ताकिति हुदैछन्. हाँडि गाग्रा पार्न्यालाई वरटारका कर्णमुलका स्थान छेउ नयाँ बगैचामा माटाको खानिको नगिच पारी पञ्चकीको अठवर्त गरि हाडि पार्न लायाको छ. परालको पूर्जि गरि काम गर्नु लायाको छु. डुङ्गाको तपसिल चह्राई पठायाको छ जाहेर होला. ६ हजार फल्याक काट्न भनि लायाको छ. नयाँ बनाउनु पर्न्या घरलाइ पनि खिचयात पट्टी बोसिहरूलाइ काठ कटाउन साघुपारि तारि राख्न लायाको छ. जति तयार हुनान् लेखि विंति चह्राई पठाउला. नुवाकोट सेरा दरबार पनि तयार भयो.

१९११ मार्ग शुदि १५ रोज

प्रतिकृया दिनुहोस