कला/साहित्य विहीबार, माघ ९, २०७६

मुहारका कथा

सेवा भट्टराई

मुहारका कथा
तस्वीरहरु: सेवा भट्टराई

व्यक्तिको मुहार चित्र कोर्नुमा सकारात्मक प्रभाव पार्ने अभिप्राय मात्र हो भन्ने पनि लाग्न सक्छ । यो पूर्णतया असत्य पनि होइन । किनकि चित्रकारहरू व्यावसायिक रुपमा पनि यो काममा लागेका छन्। तर, २४ पुसदेखि काठमाडौं बौद्धस्थित तारागाउँ सङ्ग्रहालयमा भइरहेको प्रदर्शनी भने व्यावसायिकताभित्रैको कला कर्मको खोजी हो ।

‘ए पोट्रेट स्टोरी’ नाम दिइएको यो प्रदर्शनीमा खासगरी मुहार आकृतिको चित्रकला प्रदर्शन गरिएको छ, जहाँ वृद्धवृद्धा सबै उमेर, फरक समुदाय, संवेदनाले भरिएका यथार्थपरक र अमूर्त शैलीका प्रतीकात्मक चित्रकला छन् ।

प्रदर्शनीमा सबैभन्दा पुरानो राणा प्रधानमन्त्री चन्द्रशमशेर, पत्नी बालकुमारी र उनका दुई छोराको तस्वीर छ । त्यो वेला तस्वीर,  रवाफको साधन, पछिसम्म सुनाम राख्ने मेलो पनि थियो । किनभने क्यामेरा किन्ने, फोटोग्राफर राख्ने क्षमता सीमित धनीहरूसँग मात्र हुन्थ्यो, चित्रकारले पनि पारिश्रमिक अनुसारकै चित्र बनाउँथे ।

२१औं शताब्दीको गति द्रुत छ । अहिले यहाँ हरेकजसो व्यक्तिसँग मोबाइल फोन छ । फोनबाट सेल्फी लिएर एउटा ‘की’ थिच्नेवित्तिकै तस्वीर संसारभर प्रसार गर्न सकिन्छ ।

“चित्रकलाको माध्यमबाट हामी पारिश्रमिक लिएर बनाएको चित्रकला सहजै चिन्न सक्छौं”, प्रदर्शनीकी सह–क्यूरेटर शिवाङ्गी वंशल भन्छिन्, “हामीले यो प्रदर्शनीमा व्यावसायिक कलाभन्दा फरक चित्रकारिता विधा खोजी गर्ने प्रयत्न गरेका छौं ।”

यस्तो पोट्रेट कला एउटा प्रयोग पनि हो, जहाँ अनुहारका सम्पूर्ण विवरण अप्रासङ्गिक हुन्छन् । कलाकारले बाह्य वस्तु, प्रकाश र छायाँसँग खेल्छन् ।

‘सिरानी’ शीर्षकको चित्रमा मनिषलाल श्रेष्ठले निधारको एकछेउ कोरेका छन् । प्रमिला वज्राचार्यले नेपाली महिलाको आयामिक व्यक्तित्व देखाउन खोजेकी छन् । कपिलमणि दीक्षितको अमूर्त चित्रकला आम चित्र जस्तो छैन । सौर्यगंगा दर्शनधारीले अनुहार विनाको ‘पोट्रेट’ बनाएका छन् ।

चित्रकलामा आधुनिकता थपिएको छ । ‘डिजिटल म्यानिपुलेसन’ को प्रयोग राम्रो देखिन्छ । टाउकोमा पूरै मन्दिर भएको कुमारीको तस्वीर एउटा उदाहरण हो ।

तारागाउँ संग्रहालय र डाँफे आर्टको आयोजनामा २३ माघसम्म चल्ने प्रदर्शनीमा लोक चित्रकार, विधाता केसी, निलेश शाक्य, शशांक रञ्जित लगायतका कलाकारका चित्रकला राखिएको छ ।

प्रतिकृया दिनुहोस