टिप्पणी सोमबार, माघ ६, २०७६

यती मस्कट– पर्यटनको प्रत्युत्पादक सोच

वसन्त महर्जन

यती मस्कट– पर्यटनको प्रत्युत्पादक सोच
तस्वीरः विजय महर्जनको फेसबूकबाट

नेपालको सन्दर्भमा ‘यती’ रहस्य र रोचक विषय त हो तर वैज्ञानिक रूपमा पुष्टि भइनसकेको यो आख्यानले नेपालको प्रतिनिधित्व गर्दैन।

वसन्त महर्जन

यताका दिनहरूमा पर्यटकीय क्षेत्रहरूमा कुनै पहलमानको आकृति जस्तै लाग्ने अजङ्गको मूर्ति ठड्याउने प्रचलन देखिएको छ । यसलाई हिमालमा पाइने हिउँमानव वा ‘यती’ भनिएको छ । यतीको यो मूर्ति ‘भिजिट नेपाल २०२०’ को ‘मस्कट’ समेत बनाइएको छ । यही ‘मस्कट’ को सहारामा मुलुकको पर्यटन उद्योग प्रवर्द्धन गर्ने सोच ठीकै होला तर यसले पर्यटन र नेपाली समाजमा कस्तो असर पर्छ भनेर ध्यान दिएको पाइएन । 

हिमाली क्षेत्रमा यती सम्बद्ध कथा र घटनाहरू सुन्ने/सुनाउने परम्परा छ । यसलाई ‘मिथ’ कै रूपमा पनि लिन सकिन्छ । महिलालाई एकान्तमा बाटो छेक्न आउने, जिस्क्याउने, तर्साउने र उत्तिखेरै भाग्ने जस्ता कुराहरू सुन्न पाइन्छ । सगरमाथा क्षेत्रको खुम्जुङ गाउँको गुम्बामा यतीको टाउको भन्दै छालाले मोरेर टोपी जस्तो आकृति राखिएको छ । ठट्टा गर्न पनि यतीको सन्दर्भ निकालिन्छ । विदेशीहरू पनि के कम ! यतीलाई भेटेको वा समातेको जस्ता कुरा गरेर आफूतर्फ ध्यानाकर्षण गरिरहेको पाइन्छ ।

पश्चिमीजगतमा यतीबारे जानकारी दिने पहिलो व्यक्ति बेलायती पर्वतारोही तथा वनस्पतिविद् कर्नेल चाल्र्स होवार्ड–बुरी हुन् । सन् १९२१ मा तिब्बती मोहडाबाट सगरमाथा आरोहण गर्न आएका उनले १७ हजार फिटको उँचाइमा हिउँमाथि अनौठो पद–चिह्न देखेका थिए । त्यसउप्रान्त यतीका बारेमा सोधखोज गर्ने र लेख्ने क्रममा अनेकौं लेख, पुस्तक, डकुमेन्ट्री, फिल्म र कार्टूनहरू निर्माण भइसकेका छन् ।

सन् १९५१ मा यतीको पाइला भनी फोटो खिचेर प्रचार गर्ने तथा यस सम्बन्धी लेख लेखेर जीव वैज्ञानिकहरूको ध्यानाकर्षण गर्ने काममा पर्वतारोही एरिक सिप्टनले ठूलै योगदान पुर्‍याएका थिए । जीव विज्ञानले यतीको अस्तित्व अझैसम्म स्वीकार नगरे पनि यस सम्बन्धी गतिविधिमा पूर्णविराम लागेको छैन ।

पछिल्लो गतिविधिका रूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा यतीका मूर्तिहरू जताततै राख्ने अभियान चलेको छ । मस्कटका रूपमा प्रयोग गरिएको यतीको यो विशालकाय र एकै आकृतिको मूर्ति न बोधगम्य छ न आकर्षक नै ।

काठमाडौं उपत्यकास्थित ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा क्षेत्रहरूमा यतीको आकृति सान्दर्भिक छैन । यो क्षेत्रको कलाकृति तथा सांस्कृतिक सम्पदाहरू नै यहाँको पहिचान र आकर्षणका विषय हुन् । भ्रमण वर्षको आयोजनासँगै अचानक राख्न ल्याइएका यतीका मूर्ति स्थानीय कला संस्कृतिसँग मेल खाँदैनन् ।

कुनै उपभोग्य वस्तुको विज्ञापन गर्न राखिएको व्यावसायिक सामग्री जस्तो देखिने यतीको यो आकृति भद्दा र अशोभनीय देखिएको छ । यतीका विषयमा ठोस रूपमा बताउन नै नसकिरहेका वेला विभिन्न आकार–प्रकारका मूर्ति तथा चित्रकलाहरू भ्रम उत्पन्न गराउने खालको छ । 

सुनिंदैछ, १०० भन्दा बढी संख्यामा यतीका मूर्तिहरू बन्दैछन् । त्यसमध्ये केही संख्या पर्यटन प्रवद्र्धनका लागि विदेशमा लगिन्छन् । करीब दश करोड रुपैयाँ लगानी गरेर बनाइएका यी यती–मूर्तिहरूले न कसैको ध्यानाकर्षण गर्छन् न नेपाल चिनाउने संभावना नै छ । यी मूर्तिका बारेमा व्याख्या विश्लेषण गर्न सहायक हुने जानकारीको अभाव पनि उत्तिकै छ । पर्यटक आकर्षित गर्न अरू कुनै कुरा नभएर यतीको काल्पनिक आकृति देखाउन खोजेको हो भने यो प्रत्युत्पादक सोच हो ।

 

प्रतिकृया दिनुहोस