टिप्पणी मंगलबार, पुस २९, २०७६

माघी आयो !

केदार शर्मा

माघी आयो !
पाहुनालाई ‘चिचर’ले स्वागत गर्दै कुजौली, नवलपुरकी लक्ष्मी पञ्जियार । तस्वीरहरूः केदार शर्मा

कतै ‘ठोप्वा’ पाक्ला, कतै ‘भत्कुन’, कतै ‘ढिकरी’ त कतै ‘चिचर’; कतै ‘सुरिक पक्वा’ खालान्, कतै ‘घुँघी’ र ‘चाउर धुवनी’ को झोल हालेको ‘बरारी मछली’ ! परिकार फरक होलान् तर थारू भएका ठाउँमा माघी यसरी नै आउँछ।

केदार शर्मा

माघी आयो । झण्डै २० लाखको संख्यामा रहेका थारूहरूको चाड । माघेसंक्रान्ति नेपालभर मनाइन्छ, तर ‘माघी’ थारूहरू मात्रको हो । दशैं मनाउनेका लागि ‘आश्विन शुक्ल दशमी’ र ‘दशैं’ भन्नुमा जति अन्तर छ, थारूका लागि माघेसंक्रान्ति र माघीमा त्यति नै अन्तर ।

नवलपुर, पिप्रहरकी जानकी महतोले पनि गाउँठाउँका अरूले जसरी नै माघीका लागि अनदीको चामल कुटाएर राखिसकेकी छन् । २७ पुसमा भिजाएर २८ मै त्यो चामल बफ्याइन्छ, जसलाई चिचर भनिन्छ । भोलिपल्ट (२९ पुस) चिचरलाई भोर्लाका पातमा पोको पारेर केराका दाम्चाबाट निकालेको ‘दमेचा’ वा कुनै डोरीले बाँधिन्छ ।

संक्रान्तिका दिन बिहान चारै बजे उठेर आगो बालेर छाउर (भुत्भुते खरानी) मा ती पोकालाई पोल्न हालिराखेर जानकी पनि नारायणी नदीमा नुहाउन जान्छिन् । माछा–मासु पनि २९ पुसमै पकाएर राखिएको हुन्छ । माघीका दिन नुहाएर फर्किंदा चिचरका डल्ला पाकेर ‘भत्कुन’ तयार भइसकेको हुन्छ ।

सुँगुरको मासु पकाउने परम्परागत थारू तरिका हो– बफाएर (उसिनेर) पकाउने । उसिनेको मासुलाई भुटभाट गरे पनि हुन्छ, पोलपाल गरेर खाए पनि हुन्छ । “जे पकाउँदा पनि हामी तेल थोरै हाल्छौं । लसुन र खुर्सानी बाहेक अरू मरमसला खासै चलाउँदैनौं” जानकी भन्छिन् । उनी थप्छिन्, “माघीमा अरू जे खाए पनि हुन्छ, तर भत्कुन अनिवार्य खानै पर्छ ।”

उता दाङमा भने चिचर खाने चलन छैन । थारू सांस्कृतिक अभियन्ता अशोक थारू भन्छन्, “अनदीको बफ्याएको भात खाने चलन यता पनि थियो, लगभग हराइसक्यो । चितवनतिर चिचर वा भत्कुन खाए जस्तो हामी भने ठोप्वा खान्छौं । ‘ठोप्वा’ अनदीको चामलबाट बनेको पुरी जस्तो रोटी हो । कैलाली, कञ्चनपुरका थारूको माघीको अनिवार्य परिकार भने ढिकरी हो । चामलको पीठोका लाम्चा रोटीलाई बफ्याएर बनाइने परिकार ढिकरी चाहिं अनदीबाट बनाइँदैन ।

अनदीकाे भत्कुन ।

पश्चिमका थारू बहुल ६ जिल्ला (दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत) मा सुँगुरको मासु नखाने थोरै हुन्छन् । पूर्व लाग्दै जाँदा भने ‘सुँगुर हिजोआज उति खाइन्न’ भनेको सुनिन्छ । वीरगञ्जका प्रकाश थारूका अनुसार बारा पर्सातिर चाउर धुवनी (चौलानी) को झोल हालेको बरारी मछली (बुहारी माछा) सित जुटेसम्म चिचर, नजुटे पाएसम्मको अरू मीठो–मसिनो खाइन्छ । तिलको लड्डु, कोन वा अलुवा (सखरखण्ड) पनि पूर्वका थारूको माघी परिकारमालामा पर्छन् ।

“माघीका वेला नयाँ लुगा हाले पनि परम्परागत थारू समाजमा अरू किनमेल हुँदैनथ्यो । खासगरी खानेकुरा किन्न त कोही पनि बजार जाँदैनथ्यो । तर हिजोआज पहिलेको तुलनामा माघीमा पनि बजारको हस्तक्षेप बढेको छ”, अशोक थारू बताउँछन् । उनका अनुसार कबिला युगको अवशेषका रूपमा रहेका थारू समुदायले लामो समयसम्म जीवनयापन र समाज व्यवस्थाका आधारभूत सीपहरू मात्र जानेको थियो । बजार र विकासले ल्याएका आधुनिक भनिने कुराहरूले त लगभग पाँच दशक यता मात्र यो समुदायमा प्रवेश पाएका हुन् ।

तर ‘जीवनयापन र समाज व्यवस्थाका आधारभूत सीप’ आफैंमा धेरै फराकिलो विषय हो । यस भित्रै पर्छ आफ्नो क्षेत्रको भूगोल, प्रकृति र जैविक विविधताको ज्ञान ।

त्यसैबाट विकास हुन्छन् ठाउँ अनुसारका सीप र कला । उब्जाउनु, बनाई–तुल्याई गर्नु, पकाउनु, खानु र आफ्ना उत्पादनहरूको प्रयोगबाट रमाउनु पनि थारूहरूको बाँच्ने कलाका मुख्य अङ्ग हुन् ।

साझा सांस्कृतिक चेत

माघी थारूहरू सबभन्दा रमाउने चाड हो । तराई मधेशका सबै जिल्ला तथा भित्री मधेशका सुर्खेत र उदयपुरमा फैलिएका थारूहरूका बीचमा भाषा, चालचलन, खानपिन– धेरै कुरामा धेरै अन्तर छ । साझा कुरा मध्येको प्रमुख हो– माघी ।

‘भत्कुन’ पकाउनु अघि ।

माघी एउटा लोकपर्व हो । थारूहरूलाई सूर्य मकर राशिमा जाने कुरासित पनि मतलब छैन । उनीहरूलाई ‘मकर संक्रान्तिका दिन गरिएको दानको १०० गुणा प्रतिफल पाइन्छ’ भन्ने पुरोहितवादी कुराले छुँदैन । उनीहरूका लागि यो पर्व पाप, पुण्य, पूजा, अनुष्ठान, देवता, पुरोहित जस्ता सबै कुराबाट मुक्त छ ।

माघीमा घरका सबैले छोएर केही दान गर्ने चलन भने प्रायः सबैतिर छ, तर ‘निस्राउ’ भनिने त्यो दान पनि कुनै पुरोहितलाई होइन, छोरी चेली वा कुनै आफन्तलाई गरिन्छ । माघेसंक्रान्तिका दिन बिहान नुहाईधुवाई सकेपछि गरिने निस्राउमा दाङतिर उर्द (कालो दाल), चामल, नून हुन्छ भने बारा पर्सातिर कालो दाल, तिल, अदुवा, बेसार र चामल आदि दान गरिन्छ ।

अनुसन्धानकर्मी कृष्णराज सर्वहारी भन्छन्, “माघीका दिन बिहान नुहाईधुवाई सकेपछि गाउँका प्रत्येक व्यक्ति गाउँका प्रत्येक घरमा छिर्ने चलन छ । कसैसित झगडा नै परेको भए पनि हामी त्यस दिन घरमै गएर उमेर अनुसारको सेवा ढोग गर्छौं । यो नै माघीको सबभन्दा ठूलो सामाजिक सौन्दर्य हो ।”

सबैतिर जस्तो आधुनिकताको बाढीले माघीका पनि धेरै रोचक कुरा बगाउँदैछ । सासू–ससुरालाई आगो तपाउने दाङको चलन द्रुतगतिमा हराउँदैछ । पहिले पहिले दाङमा चुरेसम्म पुगेर धूपी सल्लाका दाउरा ल्याएर, राम्रा चिटिक्क परेका दाउराका मुठा भारमा हालेर सेतो कछाड लगाएर ससुराली हिंडेका व्यक्तिहरू प्रशस्त देखिन्थे, अहिले भने त्यस्तो दृश्य देखिंदैन ।

आधुनिकताको वहावसँगै बगेका सबै कुरा पुनर्स्थापित त नहोलान्, तर बढ्दो सांस्कृतिक चेतले धेरै कुरा बौराउने सम्भावना भने देखिन थालेको छ । “एक पटक त अनदी धानको खेती एकदम कम भएको थियो । अहिले चिचर र भत्कुन खोज्दै आउने ग्राहकका कारण यसको खेती बढेको छ”, नवलपुरको पिप्रहर सामुदायिक होमस्टेका अध्यक्ष झनक महतो बताउँछन् ।

अनदीको खेतीबाट पुनर्स्थापन हुन थालेका थारू लोक परिकार र परम्पराप्रति यो समुदायको मात्र नभई सबैको आदरभाव बढ्दै जाओस् । माघीको शुभकामना !

 

प्रतिकृया दिनुहोस