ब्लग सोमबार, पुस २८, २०७६

निफन्नुको विज्ञान

कनकमणि दीक्षित

निफन्नुको विज्ञान

लेखक केदार शर्माले २० पुसमा सामाजिक सञ्जालमा एउटा तस्वीर राखे । त्यो एक तस्वीरका अनेक आयाम मस्तिष्कमा आए । अनि केदारजीलाई लेखें — यो तस्वीर बारे केही बताइदिनुस् ।

उत्तर यस्तो थियोः “किरण र म भोजन भ्रमण र खानपिनको रमाइलोबाट थपिएको शरीरको तौल कम गराउने प्रयासमा नवलपुर, रजहरमा रहेको ‘सामुदायिक प्राकृतिक चिकित्सालय’ मा बसेका थियौं । नौ दिनसम्म उपवास बसे पनि मन खानेकुरामै थियो ।

माघी आउन लागेकाले अन्तिम दिन हामी लाग्यौं दक्षिणको थारु गाउँतिर । यो तस्वीरमा चामल निफन्ने महिला लक्ष्मी पञ्जियार (३८) हुन् । उनी हामीलाई चिचर चखाउन अनदीको चामल केलाउँदै थिइन् ।”

केदारजीले तस्वीर खिच्न कुनै ‘प्रोफेशनल’ क्यामेरा नभई हुवावे नोभा थ्री–आई स्मार्टफोन प्रयोग गरेका थिए । खिच्नुको एङ्गल, तस्वीर खिच्दाको प्रहर, अवस्था, महिलाको सीप, नाङ्लोद्वारा चामल निफन्ने विज्ञान, निफन्नुको सांस्कृतिक पाटो, यी सबै प्रतिबिम्बित भएकै कारण फोटो उत्कृष्ट बन्यो ।

चामल निफनेको एउटै सामान्य तस्वीरले नेपाली संस्कृति, विज्ञान, समाज र परिवर्तनको झल्को दिन्छ ।

बिहानै खिचिएको तस्वीरमा घाम झ्यालबाट छिरेको थियो, नत्र अलिपछि भएको भए यसरी घामको टकले न ‘मध्य–उडान’ मा रहेको चामलको दानालाई यसरी दर्साउँथ्यो, न यसको उज्यालोको परावर्तनमा देखिने नाङ्लोको वास्तुकला ।

नाङ्लोमा चामल निफन्ने चलन कमी हुँदै गएको छ, किनकि बजारमा केलाएकै ‘प्याक्ड’ चामल उपलब्ध छ । ननिफनी सोझै पकाउन सकिने यस्तो चामलको प्रयोग बढ्दै जाने क्रममा कुनै दिन निफन्ने सीप नै लोप नहोला भन्न सकिन्न — जसरी लामो इतिहास बोकेका थुप्रै परम्परागत कामकाज आज लोपोन्मुख छन् ।

सांस्कृतिक पाटो भन्ने हो भने ‘छिन्किने’, ‘निफन्ने’, ‘फड्काउने’ र ‘केलाउने’ जस्ता शब्दको प्रयोगमै कमी आइरहेको छ — आधुनिकता र सामाजिक एकीकरणका कारण । नाङ्लोमा अन्नपात फड्काउँदा आउने ध्वनि र त्यो ध्वनिलाई दिइएको अनुकरणात्मक शब्द ‘पट्याँस’ दुवै सुनिन छाडेको छ ।

नेपाली भाषामै त त्यस्तो हुँदैछ भने अन्य राष्ट्रिय भाषाको अवस्था के होला ! 

शब्दावलीका साथै परम्परागत खानपिन पनि हराउँदैछन् । केदारजीको तस्वीरले महत्व राख्दछ, किनकि नवलपुरका आदिवासी थारु जातिको लोकप्रिय र विशिष्ट खानेकुरा ‘चिचर’ बनाउन अनदीको चामल प्रयोग हुँदैछ । 

निफन्नुको पनि विज्ञान हुन्छ, भौतिक विज्ञान । नाङ्लोमा कति चामल राख्ने, कति ढल्काउने, कुन गतिमा निफन्ने । निफन्दा पूरै चामलको रास ढिक्का जस्तो गरी आकाशिन्छ, जुन क्रममा हल्का पदार्थ (भुस र अन्य) माथिपट्टि बस्दै छुट्टिन्छन् ।

कनिका भने तलतिर थिग्रिन्छन्, जसलाई छुट्याउन छिन्किने काम हुन्छ या त फड्काउने । निफनेपछि केलाउने काम पनि हुन्छ ।

तस्वीरमा लक्ष्मी पञ्जियारको फड्कार्ने र निफन्ने सीप व्यावसायिक र कलात्मक लाग्छ ।

चामलको रासको बीच भाग बाक्लो हुने हुनाले घामको किरण पुग्न नसकेर अलि गाढा देखिएको छ भने पातलो छेउतिर उज्यालो । उछिट्टिएका चामलका दाना र कनिका मध्य–उडानको दृश्य रोमाञ्चक छ ।

अनदीको चामल निफन्दै कुजौली, नवलपुरकी लक्ष्मी पञ्जियार ।

 

तपाईं भन्नुहोला चामल निफन्दाको तस्वीर न हो यो, के ठूलो कुरा भयो र ! हो, यति सजिलो गरी तस्वीर खिच्न आजको स्मार्टफोन प्रविधिले हामी सबैलाई क्षमता र सुविधा त दिएको छ तर कतिले यस्ता तस्वीर खिचिरहेका छौं त ? थप, यस्ता परम्परागत कर्मलाई चाहिंदो महत्व दिइरहेका छौं त ?

हो, यहींनेर तस्वीरचेतको कुरा आउँछ । फोटोकी पात्र लक्ष्मीजी र फोटोग्राफर केदारजीलाई धन्यवाद !

प्रतिकृया दिनुहोस