टिप्पणी शनिबार, पुस २६, २०७६

काँडे भ्याकुर पर्यटन

कमल मादेन

काँडे भ्याकुर पर्यटन
तस्वीर: हटन चौधरी

काँडे भ्याकुर जस्ता थुप्रै लोपोन्मुख, दुर्लभ पक्षी संरक्षणमा ध्यान दिने हो भने पनि नेपाल पक्षी पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ।

कमल मादेन

डेनमार्कका बासिन्दा कार्सटन इन्भोल्सन (तस्वीर तल) यही जनवरीको पहिलो साता काठमाडौं आइपुगे । भर्खरै सरकारी सेवाबाट निवृत्त उनी यहाँ आउनुको उद्देश्य भने अचम्मको थियो ।

उनी प्रकृतिमा विचरण गरिरहेको काँडे भ्याकुर (स्पाइनी ब्याबलर) लाई धीत मरुञ्जेल हेर्न चाहन्थे । इन्भोल्सन हिमालयन नेचर संस्थाका पक्षी अध्येता सञ्जीव आचार्यको साथ लागेर पोखरास्थित विश्व शान्ति स्तूप पुगे । दुई दिनसम्म मज्जाले काँडे भ्याकुर हेरे ।

इन्भोल्सन मात्र होइन, संसारभरका चराप्रेमीलाई काँडे भ्याकुर हेर्न नेपाल नै आउनुपर्ने बाध्यता छ । किनभने, यो पक्षी अहिलेसम्म नेपालबाहेक अन्य देशमा पाइएकै छैन । 

काँडे भ्याकुर विश्वकै निम्ति नयाँ पक्षी भएको पत्ता लगाउने श्रेय ब्रायन हड्सनलाई जान्छ । हड्सनले सन् १८३० मा यो पक्षी काठमाडौं उपत्यकामा फेला पारेका थिए । हड्सनले १८३६ मा प्रकाशित आफ्नो लेखमा यो पक्षीको नाम टिमालिया निपालेन्सिस् राखे ।

त्यतिवेला कलकत्तास्थित जन्तु संग्रहालयमा क्युरेटर थिए– एडवार्ड ब्लिथ । ब्लिथलाई भारतीय पक्षी विज्ञानका पिता नै भनिन्छ । उनै ब्लिथले सन् १८५५ मा हड्सनद्वारा ‘डिस्क्राइब’ काँडे भ्याकुरको वैज्ञानिक टिमालिया नभई एकान्थोप्टिला समूहको हो भन्ने निक्र्योल गरे ।

तस्वीर: सञ्जय था श्रेष्ठ

बेलायतस्थित न्याचुरल हिस्ट्री म्युजियममा संग्रहित हड्सन संकलित काँडे भ्याकुरको नमूना र नेपालका अन्य चराको अध्ययन मार्फत आर.एल.एम.वारेन र सि.जे.ओ. ह्यारिसनले सन् १९७१ मा एकान्थोप्टिलालाई अर्कै प्रजाति भन्ठानी यसको नाम टुरडोडिज निपालेन्सिस् राखे ।

तर, सन् २०१६ मा ‘चेकलिष्ट अफ द बर्डस् अफ द वर्ड भोल्युम–२’ पुस्तकमा भने काँडे भ्याकुरको नाम पुनः एकान्थोप्टिला निपालेन्सिस् नै सही ठहर गरिएको छ । तर, प्रजातिको अन्योल भने कायमै छ ।

लोपोन्मुख काँडे भ्याकुर बर्खामा १५००–२१३५ मिटर र हिउँदमा ५००–१८३० मिटर उँचाइसम्म पाइन्छ । र, सामान्यतः बाक्लो झाडी तर खेतीपाती लगाइएको ठाउँभन्दा अलि टाढै बस्न रुचाउँछ ।

तस्वीर: सञ्जय था श्रेष्ठ

द स्टेटस अफ नेपाल्स बर्डस्ः द न्याशनल रेड लिष्ट सिरिज भोल्युम–६ का अनुसार काँडे भ्याकुर पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको बैतडीसम्म पाइएको छ । खप्तड राष्ट्रिय निकुञ्ज र पोखरा आसपासको क्षेत्रमा त नियमित रुपमै देखिने गरेको छ । तर, नेपालभरि यो पक्षी कति पाइन्छ भन्ने विस्तृत अध्ययन भने बाँकी नै छ ।

सञ्जीव आचार्य

सन् १९५९ मा जर्नल अफ द बम्बई न्याचुरल हिस्ट्रीमा प्रकाशित डेसिरी प्राउड लिखित ‘नोट्स अन् द स्पाइनी बाब्लर, एकान्थोप्टिला निपालेन्सिस् (हड्सन), इन काठमाडौं भ्याली’ आलेखमा सन् १९५० ताका काठमाडौं उपत्यकामा प्रशस्त मात्रामा काँडे भ्याकुर पाइने उल्लेख छ । तर, बढ्दो शहरीकरणले यो पक्षी देख्नै हम्मेहम्मे पर्न थालेको छ ।

नेपाली भूमिमा मात्र पाइने काँडे भ्याकुरलाई जोगाउन सरकारले वेलैमा दीर्घकालीन अवधारणा लागू गर्नुपर्छ । नत्र जोगाउनुपर्ने थुप्रै कुरा नासिए जस्तै काँडे भ्याकुर पनि ‘एकादेशको कथा’ मा सीमित हुनेछ । त्यसपछि इन्भोल्सन जस्ता पक्षी पर्यटक फर्केर कहिल्यै आउने छैनन् ।

 

प्रतिकृया दिनुहोस