दस्तावेज शुक्रबार, पुस २५, २०७६

नेपाल–भोट युद्ध तयारी: तराईको चामल स्याफ्रु गोदाममा

ज्ञानमणि नेपाल

नेपाल–भोट युद्ध तयारी: तराईको चामल स्याफ्रु गोदाममा
बारा, पर्सा, रौतहट र सर्लाहीका रैतीबाट उठाइएको चामल रसुवाको स्याफ्रुसम्म पुर्‍याउने बन्दोबस्त मिलाउन प्रधानमन्त्री जङ्गबहादुरले तराईमा खटिएका काजी र खजाञ्चीलाई अह्राएका थिए।
 
ज्ञानमणि नेपाल
प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाले राजधानी काठमाडौंबाट नजिकै पर्ने हिसाबले पहिले कुती र केरुङको बाटोबाटै भोटमाथि आक्रमण गर्ने योजना बुनेका थिए । त्यसका लागि केरुङतर्फ बाटो मर्मत र सैनिक बस्ने थर्पु निर्माण भइरहेको थियो । यस्तै, पूर्वको ओलाङ्चुङ्गोला, मध्यपश्चिमको कोरला र सुदूरपश्चिम हुम्लाको यारी नाकाबाट हमला गर्न सैनिक खटाइसकिएको थियो ।

हिउँद महीनाभरि हातहतियार र खाद्यान्न जोहो गरी सीमा नाकाहरूमा पुर्‍याउन जोड दिइएको थियो । त्यसै क्रममा रसुवाको स्याफ्रुमा खटिएका मेजर कप्तान महारुद्र खत्रीलाई तराईका बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाबाट ल्याइएको अन्न भरेर रसिद दिने र गोदाममा राख्ने जिम्मा दिइएको थियो । मेजर खत्रीले प्रधानमन्त्री जङ्गबहादुरलाई चिठी लेखेर आफूलाई चाहिने कामदार र सरसामानको विवरण पठाएका थिए ।

उनले हरहिसाब गर्ने दुई जना मुखिया, ५० नौसिन्दा सहित चामल धोक्रामा हाल्ने, गोदाममा थन्क्याउने लगायतका लागि कामदार माग गरेकोमा प्रधानमन्त्रीले एक मुखिया र चार नौसिन्दा पठाएका थिए । चामल भर्ने, धोक्रा सिउने र थन्क्याउने काम गर्ने मानिसको बन्दोबस्त गर्न जमदारलाई अह्राएको जङ्गबहादुरले चिठीमा लेखेका थिए ।

माग गरिएको कागज, बत्ती बाल्ने ठूला बटुका लगायतका सामान हवल्दार सहवीर मार्फत पठाइएको थियो । मेजर खत्रीले ओछ्याउने सामान पनि मगाएका थिए, प्रधानमन्त्रीले स्याफ्रुमै चट्टाई बुन्न लगाउन सुझाएका थिए । कति–कति पाथी अट्ने धोक्रा कति भए भनी सबै खुलाएर दिनहुँको हिसाब पठाउन चिठीमा अह्राइएको थियो।

तराईका रैतीबाट चामल सङ्गलन गर्ने र पठाउने काममा काजी डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिंह राजभण्डारी खटिएका थिए ।

उठाइएको रसद गोरुगाडा र घोडामा बोकाएर धर्मनारायण साहुको पर्सौनीस्थित गोदाममा राख्ने, त्यहाँबाट चुरेमा बाटो बनाउन लगाएर गोरुगाडा र हात्ती मार्फत भीमफेदीसम्म ल्याउने र भरियाहरूलाई बोकाएर स्याफ्रुमा मेजर खत्रीलाई जिम्मा लगाउन ती दुईलाई प्रधानमन्त्रीले चिठी मार्फत अह्राएका थिए ।

पर्सौनीको गोदाममै गएर १० पाथी अट्ने धोक्रा चाँडै सिलाउन लगाई स्याफ्रु पठाउने व्यवस्था मिलाउन भनिएको थियो ।

चामल ढुवानी गर्न पैसाको अभाव देखिएकोमा छिट्टै नगद पठाउने, त्यसबाट घोडा र गोरुगाडाको भाडा तिरेर रसद बोकाउन भनिएको थियो । स्याफ्रुमा खाँचो परेको लेखन्दास तराईबाटै पठाइदिन प्रधानमन्त्री जङ्गबहादुरले अह्राएका थिए ।

प्रधानमन्त्री जङ्गबहादुरले कप्तान महारुद्र खत्रीलाई लेखेको चिठी

बारा पर्सा रौतहट सर्लाही जिल्ला ४ को रसद मार्ग वदि १२ रोज ६ का दिनदेखि बरोवर आयो चितवनको रसद पनि साज विहानमा आउँछ भंन्या विस्तार समेत जो भयाको विस्तार लेखन्या काम बढिया गर्‍याछौ. हाल मुखिया जना २ र नौसिन्दा जना ५० नभै काम चलेन भनि लेख्याका कुरालाइ मुखिया १ नौसिंदा ४ यहाँबाट पठाइदियाका छन्. हाल तिनै मानिसलाई लेखन लाउन्या काम गर्नु. भन्र्या मानिस र भर्‍याका चावल धोक्रामा हाल्न्या धोक्राको मुख स्यूनालाई चाहिन्या मानिसका कुरालाई ज्मादार समेतलाई अह्राएर पठायाको छ, मानिस ल्याउलान् काममा लाउनु. कागज कोरि १२५, लाहा धार्नी २५, बाति बालन्या पानसका कुरालाई ठुला कटौरा १० हवल्दार सहविर हस्ते पठाइदियाको छ पुगला. नपुगका कुरालाई चटाई बन्न लगाई विच्छाउन्या काम गर. धोक्राका कुरालाई आठ पाथि चावल अटाउन्या धोक्रा येति ५ पाथि अटाउन्या धोक्रा येति १० पाथि अटाउन्या धोक्रा भनि देहिखोलिन्या धोक्राको तपसिलको कागज लेखि रोज रोजको हाजिरि पठाउन्या काम गर. १९११ मार्ग शुदि १२ रोज ६

जङ्गबहादुरले काजी डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिंह राजभण्डारीलाई लेखेको चिठी

रसद गैह्रको वेहोरामा ताहा तिमिहरूले लेख्याका कामको विस्तार सहित जो भयाको लेखि पठाउन्या काम बढिया गर्‍याछौ. पत्रले विस्तार बुझियो. चावल राखन्या थैलाका कुरालाई ञाहा हामिबाट पनि धर्मनारान् साहुलाई उर्दि दियाको हो, तिमेरुपनि पर्सौनि गोदाममा गै १० पाथि अटाउन्या थैला चाडो सिलाइ थैला कप्तान महारुद्र खतृ जिम्मा चाँडो पठाइदिनु भनि ताकिति गर्न्या र धर्मनारान्का मानिससग तन्की गरि थैला लि चलान टार्नु. थैलाका मुख स्युनलाई सुतरी खरिद गरि कपतान महारुद्र खतृसग पठाइदिन्या काम बढिया गर्‍याछौ. गाडावयल तट्टु हाम्रा मुलुकको ताकिति गरि रहयाछौं, मजुरि दिन्या रुपैयालाई हर्कत भयाको छ भनि लेख्याका कुरालाई मधेस ४ जिल्लालाई रुपैया फाडि अघि तिमिहरूले लेखिपठाया बमोजिमका रुपैया ३६८ ।। को श्रीठाहिला भाइको दस्खत भै चाँडो आउन्या छन्. ति रुपैयाले गाडावयल तट्टुको मजुरी दि रसद वोकाउन्या काम गर्नु. चुरिको बाटो गाडावयल चलन्यागरि बनाउन्या तजविज गरि रैतिहरूलाई तसल्लह गरि भदैया धानको मजुरिमा बोकाउन्या बन्दोवस्त गरि झरा बन्दोवस्त भै आयो भनि कपतान महारुद्र खतृलाई लेखिजादा सडक बाटो बनाउनलाई लाठसाहि रुपैया २०० श्रीभैरुंपल्टनका ४ सिपाहि ८ ज्मादार पठाइदिन्या काम बढिया गर्‍याछौ. विछाखोरिबाट गाडामा राखि हेटौंडासम्म उतार्दा थोरै खर्चले पुगन्याछ. ताहाबाट भारि हाति र पिपाले भिमफेदिसम्म पुर्‍याइल्याया. औलाका याममा पनि चिसापानिमा बसि चावल सरासर चल्दो हो भन्या तजविज वेस गर्‍याछौ. तिमिहरूका तजविज बमोजिम गर्नु भनि श्रीकाहिलाभाइलाई पनि उर्दि दियाको छ. तेहि तजविजसग रसदको चलान गन्र्या काम गर्‍या वढिया होला. कपतान महारुद्र खतृले नेपालबाट लेखन्या मानिस आयेन भनि लेख्याका कुरालाई वहि तिमिहरूले पनि लेखन्या पटवारि पठाई दिन्याछौ. अरुपनि तजविज गरि येस कुराको वेहोरा श्रीठाइलाभाइलाई लेखनु उनका सल्लाह बमोजिम पठाइदिन्याछौं. अरुपनि तजविज गरि पटवारी पठाइदिनु. ञाहाबाट पनि १ मुखिया ४ नौसिन्दा पठाइदियाका छन्. रसिदको ढिला नहुन्यागरि बन्दोबस्त गन्र्या काम गर्नु. ताहाका रसदको कामलाई दुनिञालाई खातिर तसल्लह गरि येता श्री ५ सर्कारको काम चलन्या उता दुनियाँको चित्त बुझ्न्या गरि काम गर्न तिमेरुले जान्यैछौ. ञाहाका रजिडेंट साहेब मार्फत टक मान्र्या कल सुगौलिमा आइपुग्याको छ, सैसंभारसंग झ्किाउने काम गर्नु भनि श्रीठाहिलाभाइलाई अह्राइएको हो. ठाहिलाभाइवाट पनि तिमिलाई लेखिपठायाका छ. यो पटकको कल ताहाआई पुग्याको भया संभारसंग यसतरफ पठाइदिन्या काम गर.

प्रतिकृया दिनुहोस