जयवागीश्वरीभित्र अर्को मन्दिर
वसन्त महर्जन
मन्दिर र मन्दिर पुनर्निर्माण गर्न भत्काउने क्रममा भेटिएको पुरानो भित्तेचित्रको संरक्षण गरेर ऐतिहासिक तथ्य पुष्टि गर्ने अवसर खेर फाल्नुहुँदैन।
१२वैशाख, २०७२ को भूकम्पले पशुपति क्षेत्रस्थित जयवागीश्वरी मन्दिरको माथिल्लो भागमा क्षति पुर्यायो । पुनर्निर्माण गर्न भत्काउने क्रममा मन्दिरभित्र अर्को पुरानो मन्दिर र त्यसको भित्तामा चित्रकला समेत भेटियो ।
यो जानी–नजानी भएको ठूलै खोज हो । सम्बद्ध निकायले भने यो खोजलाई उपलब्धि मान्नुको साटो मन्दिर भत्काउने र पुनर्निर्माण सम्पन्न गर्ने काममा बाधकको रूपमा बुझेको पाइयो ।
भूकम्पले क्षतिग्रस्त मन्दिर लगायतका सम्पदाहरू अध्ययन–अनुसन्धान गर्ने अवसरका रूपमा प्रयोग गर्न सकिने भए पनि सम्बन्धित निकाय त्यसप्रति उदासीन हुँदा धेरै नोक्सानी बेहोर्नु परेको छ । यो अज्ञात वा किंवदन्तीमा आधारित कतिपय ऐतिहासिक तथ्य पुष्टि गर्ने ठूलो अवसर पनि हो । यसलाई बेवास्ता गरिएको पछिल्लो उदाहरण हो, पशुपतिनाथ क्षेत्रको प्रसिद्ध जयवागीश्वरी मन्दिर ।
मन्दिरको वर्तमान स्वरुप राजा नृपेन्द्र मल्ल (वि.सं. १७३१–१७३७) का पालामा तयार भएको हो । तर इतिहासकार धनवज्र वज्राचार्यका अनुसार मन्दिरको गर्भगृहभित्रको मुख्य मूर्तिको पादपीठमा रहेको एक हरफको अभिलेख सातौं शताब्दी अर्थात् लिच्छविकालको हो । लिपिको आधारमा यो अभिलेख लिच्छविकालका राजा अंशुवर्माकालीन हो भनेर उनले आफ्नो पुस्तक ‘लिच्छविकालका अभिलेख’ (पृष्ठ ५८३) मा लेखेका छन् । वंशावली लगायत अन्य स्रोतले पनि यो मन्दिर लिच्छविकालीन नै हो भन्ने देखिन्छ ।
तस्वीरहरु: नरेन्द्र मानन्धरकाे फेसबूकबाट साभार ।
केही समयअघि मन्दिर भत्काउँदा त्यहाँभित्र अर्को पुरानो मन्दिरको तीन वटा गजुर भेटिएका थिए । पछिल्लो पटक पर्खालमा कलात्मक चित्र र बुट्टेदार आँखीझयाल भेटिएका छन् । भित्तेचित्र माटो निर्मित गारोमा लिउन लगाएर कोरिएका छन् । भित्तेचित्र भएको गारो निकै कमजोर रहेको बताइन्छ, जसलाई सुरक्षित राखेर संरक्षण गर्ने ‘प्रविधि’ प्रयोग गर्न सकिन्छ ।
भित्तेचित्र प्रचलित चित्रकलाभन्दा फरक देखिनु र धेरै बिग्रेको अवस्थामा भए पनि पाइनु नै महत्वपूर्ण कुरा हो । यसलाई लिच्छविकालीन भित्तेचित्र हो भन्ने अनुमान गरिएकाले हालसम्म त्यो वेलाको चित्रकला नपाइएको सन्दर्भमा यो अझ् महत्वपूर्ण हुन्छ । यसबारे गहन अध्ययन हुनु आवश्यक छ । लिच्छविकालीन नै नभए पनि यही भित्तेचित्रको आधारमा अन्य ऐतिहासिक पाटो उजागर हुने संभावना छ ।
मौलिकता नष्ट नगरी थप सुधार गर्न पुरानो सम्पदालाई सुरक्षित तवरले छोपेर त्यसैमाथि अर्को बनाउने प्रचलन पुरानै हो । लुम्बिनी क्षेत्रको निग्लिहवास्थित अशोक स्तम्भमा रहेको अभिलेख अनुसार कनकमुनि बुद्धको जन्मस्थल मानिएको उक्त ठाउँमा पहिल्यैदेखि एउटा स्तूप रहेको र त्यसलाई छोपेर मौर्य सम्राट अशोकले आफ्नो राज्याभिषेकको बीसौं वर्षको अवसरमा पहिलेभन्दा ठूलो स्तूप बनाएको उल्लेख पाइन्छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी मात्रै नभएर रामग्राम लगायत अन्य सबै संरचनाहरू यसरी नै पुरानोलाई संरक्षण गरी छोपेर नयाँ निर्माण गरेको पाइन्छ । यो परम्परा जयवागीश्वरीमा कायम नै रहेको पाइए पनि हाल पुनर्निर्माणका क्रममा त्यसलाई बेवास्ता गरेको पाइयो ।
धर्मचक्रको दायाँ–बायाँ मृग ।
पश्चिमाभिमुख जयवागीश्वरी मन्दिर अन्यभन्दा धेरै दृष्टिले फरक छ । देवी सरस्वतीको अर्को नाम वागीश्वरी पनि हो र यसलाई स्थानीय जनता ‘श्वेतसरस्वती’ का रूपमा पनि पूजा गर्छन् । मन्दिरको गर्भगृहमा तीन वटा मूर्ति छन् र बीचमा उभिएकी जयवागीश्वरीको चार हातमा सिन्हःमू, ज्वालान्हायकं, चक्र र खड्ग छन् ।
सामान्यतः सरस्वतीका हातमा वीणा र पुस्तक हुन्छन् । सरस्वतीको दायाँतर्फ भैरव र बायाँतर्फ गणेशको मूर्ति छ । यहाँ गणेशको स्वरुपमा विघ्नेश्वर पनि छन् । गणेशको हात्तीको टाउको हुनुभन्दा अगाडिको रूप नै विघ्नेश्वर हो । यी तीनै वटा मूर्ति सेतो रङका छन् ।
तस्वीरः एकराम सिं
मन्दिरको उत्तरतर्फको गर्भगृहको बाहिरी भित्तामा भैरवको आकृति तथा सामाजिक विषयवस्तुका चित्रकला अंकित छ । दक्षिणतर्फको गर्भगृहमा मातृकाका प्राचीन मूर्तिहरू छन् । यसरी नै बौद्ध स्थलमा प्रयोग हुने धर्मचक्र र त्यसको दायाँबायाँ मृग आकृति रहेको शिलाखण्ड यहाँ खुड्किलाका रूपमा प्रयुक्त भएका छन् ।
ऐतिहासिक तथा पुरातात्विक स्थलमा कुनै नयाँ कुरा फेला पर्दा त्यसलाई उपलब्धिका रूपमा लिई विशेष अध्ययन थाल्नुपर्ने हुन्छ । एउटा बौद्ध स्तूपको उत्खनन हुँदै गर्दा स्तूपभन्दा मुनि अर्को संरचना देखिएको र त्यसको अध्ययनबाट नै सम्पूर्ण इतिहास बदल्ने सिन्धु घाटीको सभ्यता उजागर भएको घटना यहाँ स्मरणीय छ ।