सम्पादकीय बुधबार, पुस १६, २०७६

भ्रमण वर्षको परीक्षा

किरण नेपाल

अनेकन् योजना अघि सार्नुभन्दा सरकारका लागि २०२० लाई आधार वर्ष बनाउने अवसर छ। आगामी वर्षलाई पर्यटन पूर्वाधार वर्ष ठानी त्यसअनुरूप विभिन्न योजनामा युद्धस्तरमा काम गर्न सकिन्छ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउँदैछ । आउँदो १ जनवरी (१६ पुस) मा काठमाडौंको दशरथ रङ्गशालामा विशेष समारोह गरी भ्रमण वर्ष शुभारम्भ गर्ने तय गरिएको छ । त्यसै दिन सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशबाट भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रम छ । यसबाट सरकारले राष्ट्रिय महोत्सवकै रूपमा भ्रमण वर्ष मनाउन लागेको देखिन्छ । तर, यति धेरै तामझमबीच पनि यसले पर्यटन जगतसहित आम रूपमा उत्साह भने जगाउन सकेको छैन ।

यसको मूल कारण हो, अपर्याप्त तयारी । सरकारद्वारा २०१७ मै घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ तयारीका लागि तीन वर्ष छोटो अवधि थिएन । तर, सार्वजनिक र निजी क्षेत्रबीच समन्वय नै हुन सकेन । बरु सरकार एकोहोरो २० लाख पर्यटक भित्र्याउने अङ्कगणितमा लागिरह्यो । र, अहिले पनि यही रटान लगाइरहेको छ । एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप र आन्तरिक अव्यवस्था अझै उस्तै छ भने विकल्प ठानिएका भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका आधार तय हुनै बाँकी छ । थप, पर्यटकीय गन्तव्यका सडक र पदमार्गको रुग्ण अवस्था, गन्तव्यमा असुविधा, व्यवसायी र पर्यटक दुवैका लागि झञ्झटिलो कानून, नीतिनियम पनि बाधक बनिरहेको छ ।

एकै वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सुन्दा महत्वाकांक्षी लागे पनि सन् १९९८ मा आयोजित भ्रमण वर्ष र २०११ को पर्यटन वर्षको अनुभवले यो अङ्क हासिल गर्न असम्भव नहुन सक्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार, अघिल्लो वर्ष सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल आएका थिए ।

यो वर्षको १० महीनामा १० लाख पर्यटक आइसकेका छन् । तर, लक्ष्य अनुसार पर्यटक आए के तिनलाई धान्न सक्ने पूर्वाधार, आतिथ्य सत्कार कुशलतापूर्वक व्यवस्थापन गर्ने क्षमता हामीसँग छ त ? यसको प्रष्ट र भरपर्दो जवाफ सरकारसँग पनि छैन । जनमानसमा यही चुनौती र संशय चिर्न पनि सरकारले पछिल्लो समय २०२० लाई पर्यटन प्रवद्र्धन गर्ने र आत्मविश्वास बढाउने वर्षका रूपमा व्याख्या गर्न थालेको छ । त्यसैका आधारमा २०२०–२०३० लाई पर्यटन दशकका रूपमा मनाउने योजना पनि सुनिएको छ ।

कमजोरी ढाकछोप गर्न अनेकन् योजना अघि सार्नुभन्दा सरकारका लागि २०२० लाई आधार वर्ष बनाउने अवसर छ । आगामी वर्षलाई पर्यटन पूर्वाधार वर्ष ठानी त्यसअनुरूप विभिन्न योजनामा युद्धस्तरमा काम गर्न सकिन्छ । सन् १९९८ मा आयोजित भ्रमणमा लक्षित ५ लाख पर्यटक त आएनन् तर यसले आन्तरिक पर्यटनमा कायापलट ल्याउन महत्वपूर्ण भूमिका खेलेको जानकारहरूको विश्लेषणले पनि पूर्वाधार वर्षको यो अवधारणा सार्थक हुने देखिन्छ ।

हामीकहाँ पर्यटनका केन्द्र भनेका काठमाडौं, पोखरा, लुम्बिनी, सौराहा, सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र मात्र हुन् भन्ने मानसिकता छ । पर्यटकको बसाइ अवधि लम्ब्याउन नयाँ–नयाँ गन्तव्यको पहिचान र विकासमा संघीय सरकारदेखि स्थानीय सरकारसम्म चुकेका छन् । सामान्य अवस्थामै गरिनुपर्ने यो काम भ्रमण वर्षको विशेष उत्सवमा पनि नहुनु पर्यटन उद्योगका लागि विडम्बना हो । भ्रमण वर्षले यो अवस्था हटाउनुपर्छ ।

निःसन्देह नेपालमा पर्यटन उद्योगको इतिहास लामो छैन । राणाशासन अन्त्यपछि मात्र विधिवत् रूपमा नेपाल बाँकी विश्वका लागि घुमफिर गर्न खुला भएको हो । सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथामा मानव पाइला राखेपछि नेपाल एकाएक पश्चिमी देशहरूमा साहसिक पर्यटनका लागि पुग्नैपर्ने गन्तव्य बन्यो । तर, सरकारले पर्यटनलाई अर्थतन्त्रको आयाम मान्दै अनुकूलका नीति बनाउन र देशलाई ‘ब्राण्डिङ’ नै गर्न सकेन ।

यसो गर्न नसक्नुमा ३० वर्षे पञ्चायत, माओवादी सशस्त्र हिंसा, त्यसपछिको दशक लामो संक्रमणकाललाई पनि कारण बताउन सकिएला, तर अहिले देशमा जनचाहनाको राजनीतिक प्रणाली मात्र छैन, स्थिर सरकार पनि छ । भूराजनीतिक हिसाबमा पनि मुलुकको छवि सुदृढ बन्दै गइरहेको छ । कूटनीतिक सम्बन्ध पहिलेभन्दा धेरै विस्तारित छन् । विज्ञान र सूचनाप्रविधि विकासले पनि देशलाई भावनात्मक रूपमा नजिक तुल्याइदिएको छ । पर्यटन क्षेत्र विकासका लागि अब सरकारसँग कुनै वहाना छैन ।

‘नेपाल भ्रमण वर्ष २०२०’ पर्यटनलाई नेपाली अर्थतन्त्रको आधार बनाउन ‘कोसेढुङ्गा’ बन्नुपर्छ । भ्रमण वर्षलाई सरकारले अर्थतन्त्रको बलियो टेकोका रूपमा पर्यटनलाई स्थापित गर्ने दिशामा उपयोग गर्नुपर्छ । जुन सम्भव मात्र छैन, आवश्यक पनि छ । किनकि दशकसम्म रेमिटेन्सले धानेको हाम्रो अर्थतन्त्रमा बिस्तारै विदेशी मुद्रा भित्रिन कम भइसकेको छ ।

वैदेशिक व्यापार घाटा बढ्दो छ । राजनीतिक स्थिरताका कारण स्वाभाविक रूपमा आर्थिक वृद्धिदर देखिए पनि अर्थतन्त्रको अहिलेकै जगमा मुलुकले फड्को मार्न सम्भव छैन । त्यसैले पनि, सरकार र हाम्रा योजनाहरू पर्यटनतर्फ केन्द्रित हुनुपर्ने बाध्यता छ । त्यसका लागि यो भ्रमण वर्ष ‘सुखद संयोग’ बन्नुपर्छ । जसको सार्थकताले मुलुकको आर्थिक समृद्धिको यात्रा सुनिश्चित गर्नेछ । 

प्रतिकृया दिनुहोस