टिप्पणी सोमबार, पुस १४, २०७६

भ्रमण वर्षका भ्रम

शेखर खरेल

भ्रमण वर्षका भ्रम
चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गर्दै आन्तरिक पर्यटक ।

राम्रो गृहकार्य र कार्ययोजना भन्दा पनि सन् २०२० मा २० लाख पर्यटकको ‘म्याजिक नम्बर’ बनाउने लहडमा तय गरिएको भ्रमण वर्षको लक्ष्य भेट्टाउन मुश्किल छ।

शेखर खरेल

संसारमा केही यस्ता मुलुक छन्, जहाँको जनसंख्याभन्दा बढी पर्यटक पुग्छन् । फ्रान्स, स्पेन, इटाली, अष्ट्रिया आदि यसै कोटिमा पर्छन् । विश्व पर्यटकीय प्रवाह अधिकतर यूरोप उन्मुख भए पनि एशियाका केही मुलुकसमेत पर्यटकको रोजाइमा छन् ।

६० लाखभन्दा कम जनसंख्या भएको सिंगापुर भ्रमण गर्नेको संख्या सन् २०१८ मा एक करोड ८५ लाख थियो । त्यही वर्ष ७४ लाख जनसंख्या भएको चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा साढे ६ करोडभन्दा बढी पर्यटक पुगे ।

करीब सात करोड जनसंख्या रहेको थाइल्याण्डमा तीन करोड ८० लाखभन्दा बढी पर्यटक पुगे । सन् २०१९ मा यो संख्या गत वर्षको हाराहारीमै रहने देखिएको छ । केही वर्षदेखि थाइल्याण्डलाई छेवैको भियतनामले पनि पछ्याइरहेको छ । नेपालले पहिलोपल्ट ‘भ्रमण वर्ष’ मनाएको साल सन् १९९८ मा नेपालभन्दा झण्डै तीन गुणा बढी अर्थात् १५ लाख पर्यटकले भियतनाम भ्रमण गरे ।

पछिल्लो दुई दशकमा नेपालमा पर्यटकको आगमन दुई गुणा मात्र बढ्दा भियतनाममा करीब १० गुणा बढ्यो । सन् २०१८ मा करीब एक करोड ५५ लाखले भियतनाम भ्रमण गरे भने यो वर्षको नोभेम्बरसम्ममा ३९ प्रतिशतले बढोत्तरी भई एक करोड ८० लाख पुगिसकेको छ । झण्डै १० करोड जनसंख्या रहेको भियतनामका निम्ति आफ्नो आवादीको २० प्रतिशत पर्यटक भित्रिनु उत्साहजनक आँकडा हो ।

वैविध्यपूर्ण प्राकृतिक छटा, विपुल जैविक विविधता र जीवन्त संस्कृतिको धनी तीन करोड जनसंख्या भएको नेपालमा १० लाख हाराहारी पर्यटक मात्र आउनु चिन्ताको विषय हो । भियतनाम, थाइल्याण्ड, सिङ्गापुर जस्ता राष्ट्रमा समुद्र भएकाले त्यतातिर नै पर्यटक सोहोरिने तर्क गर्न सकिएला । भुल्न नहुने तथ्य के पनि हो भने, नेपालसँग रहेका विश्वका अग्ला हिमाल ती मुलुकमा छैनन् ।

बेलायती लेखक पर्सिभल ल्यान्डनले सन् १९२८ मा प्रकाशित ‘नेपाल’ पुस्तकमा नेपाल भ्रमण गर्ने युरोपेलीको संख्या १५३ भएको र तीमध्ये धेरै सन् १८८१ देखि १९२५ बीचमा आएको उल्लेख छ ।

सन् १९५० मा राणा शासनको पतन हुनुअघि ‘पर्खालबीच बन्द’ नेपाल पश्चिमाका लागि पर्यटकीय गन्तव्यभन्दा पनि ‘साङ्ग्रिला’ को मिथकीय भूमि थियो । तर, सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगद्वारा अन्नपूर्ण र सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा सगरमाथाको सफल आरोहणपछि नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिन शुरू भयो ।

सन् १९५० को राजनीतिक परिवर्तनपछि नेपालले खुला र आधुनिक समाजतिर पाइला चाले पनि प्रचारप्रसार र पहुँच (हवाई र स्थल यातायात) को सुगमता नहुँदा पर्यटकीय आगमनमा उल्लेखनीय बढोत्तरी भएन ।

सन् १९६० को दशकमा पश्चिमा मुलुकका युवाबीच उदाएको बिट् र हिप्पी संस्कृतिका कारण नेपाल लोकप्रिय गन्तव्य भयो, जसलाई पर्यटक आगमनको आँकडाले पनि पुष्टि गर्दछ । सन् १९६२ देखिको आँकडा समावेश पर्यटन मन्त्रालयद्वारा प्रकाशित ‘नेपाल पर्यटक तथ्याङ्क’ पुस्तक अनुसार उक्त वर्ष नेपाल आउने पर्यटकको संख्या ६ हजार १७९ थियो भने सन् १९६६ मा १२ हजार ५६७ पुग्यो । हिप्पीहरूको उत्कर्षको समय सन् १९७० मा त्यो संख्या ह्वात्तै बढेर ४५ हजार ९७० पुग्यो ।

एउटा विशेष परिस्थितिका कारण नेपालमा पर्यटन आगमनमा वृद्धि भए पनि आजपर्यन्त पर्यटकीय छविको विनिर्माण भने हुनसकेको छैन । धेरै पश्चिमाका लागि नेपाल अझै ‘साङ्ग्रिला’ र ‘हिप्पीको स्वर्ग’ नै हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमि लुम्बिनीको छविभन्दा पर नेपालको पर्यटन प्रचारप्रसार र प्रवर्द्धन हुनसकेको छैन ।

संसारका दुई मुख्य जातीय सभ्यता आर्य र मङ्गोलको सन्धिस्थल अनि विश्वका दुई ठूला धार्मिक आस्था हिन्दू र बौद्धको पुण्यभूमि नेपालको धार्मिक र सांस्कृतिक रूपमा जस्तो प्रचारप्रसार हुनुपर्ने त्यस्तो भएको छैन ।

६० लाखभन्दा कम जनसंख्या भएको सिंगापुर भ्रमण गर्नेको संख्या सन् २०१८ मा एक करोड ८५ लाख थियो । त्यही वर्ष ७४ लाख जनसंख्या भएको चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा साढे ६ करोडभन्दा बढी पर्यटक पुगे ।

यथार्थमा नेपालको पर्यटन संकुचनमा छ । सन् १९६० को दशकमा विकसित काठमाडौं, पोखरा र चितवनको ‘गोल्डेन ट्र्याङ्गल आइटिनरी’ को सीमादेखि पर्यटकीय गतिविधि बढ्न सकेको छैन । पछिल्लो दुई दशकयता बुद्धको जन्मस्थल लुम्बिनी एउटा संभावनायुक्त गन्तव्य भएको छ । तर, विश्वको बौद्धमार्गी जनसंख्याको आलोकमा त्यहाँ पुग्ने पर्यटकको संख्या झिनाे छ ।

अर्कोतिर नेपाल निश्चित मौसमका निम्ति मात्र उपयुक्त गन्तव्य रहेको भ्रम प्रसारित भइरहेको छ । पदयात्रा तथा आरोहण रुचाउनेका निम्ति सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधि मौसमी हिसाबले बढी उपयुक्त हो । तर, तीन महीनालाई नै ‘पिक सिजन’ मानिनु पर्यटकीय गन्तव्यका रूपमा नेपालकै अवमूल्यन हो ।

वर्षमा ६ ऋतु हुने पूर्वीय मान्यता अनुसार नेपाल ‘अल सिजन, अल रिजन’ अर्थात् सबै ऋतु र सबै उद्देश्यको विश्वमै एक उत्कृष्ट गन्तव्य हो । युरोप र अमेरिकामा मनसुन र दर्केझरी देख्न नपाएकाका निम्ति रोपाइँ सहितको मनसुनी मौसम एक अनुपम अनुभव हुन सक्छ । जसका लागि स्तरीय होटल रहेका काठमाडौं र पोखरा उपयुक्त गन्तव्य हुन् । बुद्धपूर्णिमालाई समेटेर बुद्धिस्ट प्याकेजदेखि शिवरात्रि, रामनवमी, विवाहपञ्चमी, नौरथा आदिका हिन्दू प्याकेज अन्य ऋतुमा उपयुक्त हुन्छ ।

‘म्याजिक नम्बर’ को सकस

सन् १९९८ को ‘भिजिट नेपाल’, सन् २०११ को ‘नेपाल टुरिजम इयर’ पछि आसन्न ‘भिजिट नेपाल २०२०’ तेस्रो राष्ट्रिय पर्यटकीय अभियान हो । सहस्राब्दीको आरम्भसँगै आयोजना गरिएको ‘डेस्टिनेशन नेपाल क्याम्पेन’ (डीएनसी) बाह्रमासे नेपाली चलचित्र जस्तै रिलिज हुँदाहुँदै फ्लप भयो । राम्रो गृहकार्य र योग्य संचालकका कारण ‘भिजिट नेपाल १९९८’ को नतिजा उत्साहप्रद रह्यो ।

पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यको हाराहारी पुगेको यो अभियानले समग्र पर्यटन क्षेत्र र आमनागरिकलाई तरङ्गित बनायो । अभियानले एउटा उम्दा गन्तव्यको रूपमा नेपालको उपस्थितिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्‍यो । यद्यपि त्यसपछिको एक दशक माओवादी सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणका कारण पर्यटन क्षेत्रका निम्ति सुखदायी भएन । यसैबीच सन् २०११ मा आयोजित ‘नेपाल टुरिजम इअर’ १० लाख पर्यटक आगमनको लक्ष्यभन्दा केही तल पुगे पनि विश्वबजारमा खस्किएको आफ्नो छवि उजिल्याउन नेपाल सफल रह्यो ।

२० लाख पर्यटक भित्र्याउने ‘भिजिट नेपाल २०२०’ को मूल लक्ष्य पर्यटकीय गन्तव्य र पूर्वाधारका आधारमा अप्राप्य होइन । तर, आवश्यक गृहकार्य र दक्ष तथा अनुभवी संयोजनकारी टीमको अभावमा लक्ष्य भेट्टाउन कठिन छ । राम्रो गृहकार्य र कार्ययोजनाभन्दा पनि सन् २०२० र २० लाखको ‘म्याजिक नम्बर’ बनाउने लहडमा बढाइएको अभियान शुरू हुनै लाग्दा जस्तो उमङ्ग संचारित हुनुपर्ने हो, त्यस्तो देखिंदैन ।

नगन्य बजेटसहित पर्यटन क्षेत्रका हस्तीलाई बाहिर राखेर गठित भ्रमण वर्ष सचिवालयमा गुटबन्दी व्याप्त छ । उता पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी वहन गरेको नेपाल पर्यटन बोर्ड भ्रमण वर्षको आरम्भमै नेतृत्वविहीन भएको छ ।

गत वर्षको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाँच महीनासम्म नेतृत्वविहीन रह्यो । सिङ्गो मन्त्रालय पाँच महीना नेतृत्वविहीन हुँदा पर्यटन वर्षको तयारी नराम्ररी प्रभावित भयो ।

 

प्रतिकृया दिनुहोस