ब्लग आइतबार, पुस १३, २०७६

सुन्ने 'बीबीसी', पढ्ने 'न्यूयोर्क टाइम्स्'

कनकमणि दीक्षित

सुन्ने 'बीबीसी', पढ्ने 'न्यूयोर्क टाइम्स्'

बाँकी दक्षिण एशियालीले नपाएको बीबीसी र न्यूयोर्क टाइम्स् सुन्ने\पढ्ने सुविधा सधैंका लागि सुरक्षित गर्ने हो भने पाइरहेको अवसरको उचित कदर हुनुपर्छ ।

दक्षिणएशियाका अरु मुलुकको तुलनामा नेपाल खुला समाज रहेको प्रमाण थुप्रै छन्, तर यस्ता सामाजिक ‘पूँजी’ र संस्थाको कदर र सम्भव बनाइदिने संवैधानिक, कानूनी र राजनीतिक स्थितिको मूल्याङ्कन गर्ने हो भने राजनीतिक उतारचढावसँगै संकुचन पनि आउन सक्छ ।

तुलनात्मक रुपमा नेपाल खुला भएको प्रमाणित गर्ने दुई उदाहरण हुन्, बीबीसी वर्ल्ड सर्भिस एफ्एम् र द न्यूयोर्क टाइम्स् दैनिक । यो संसारमै विरलै र दक्षिणएशियामा त अन्यत्र पाइँदै नपाइने सुविधा हो । तर के यो सुविधाको पर्याप्त हेक्का हामीलाई छ त ? वेलैमा गम्नुपर्छ, जुन कुराको ‘भ्याल्यू’ गरिंदैन, त्यो गुम्न पनि सक्छ ।

संसारका हजारौं भाषामध्ये ४४ भाषामा मात्र बीबीसी को कार्यक्रम चल्दछ, जसमध्ये ‘बीबीसी नेपाली’ पनि एक हो । यस सेवाले नेपालभरि साप्ताहिक ६० लाख बढी नियमित श्रोता बटुलेको छ, आफ्नो विश्वसनीय पत्रकारिता र उदार ‘वर्ल्डभ्यू’ का कारण ।

सरकार वा सत्ता कुनै पनि वेला स्वतन्त्र रिपोर्टिङ र टिप्पणी गर्ने संस्थाप्रति असहिष्णु बन्न सक्छ । नियम र प्रक्रियाको अवरोधले होस् वा उग्रराष्ट्रवाद वा अन्य लोकरिझ्याइँ विधिबाट सञ्चारमाध्यम कमजोर बनाइन सक्छ । एउटा उदाहरण हिमाल साउथएशिया पत्रिका नै छ ।

पंक्तिकारसम्बद्ध यो पत्रिका, जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको बोलवाला भएको वेला सञ्चालनमै अवरोध गरियो र अन्ततः पत्रिका काठमाडौं छाडेर कोलम्बो स्थानान्तरण हुन बाध्य भयो । आज कसैको सोच त्यता नहोला तर नियतिले बीबीसी नेपाली सेवा माथि संस्थागत दबाब नपरोस् भनी नागरिक सचेत हुन जरुरी छ ।

नेपाली भाषामा प्रसारण हुने बीबीसी नेपाली सेवा को महत्व सांकेतिक होइन, टड्कारो छ, तसर्थ यसलाई विस्थापित गर्न सजिलो नहोला । तर एफ्एम् मार्फत उपस्थिति जनाइरहेको बीबीसी वर्ल्ड सर्भिसको अंग्रेजी प्रसारणको पनि विचार गरौं ।

शर्टवेभ् नभई एफ्एमकाे अवरोधरहित आवाज मार्फत हामीले बीबीसी अंग्रेजी अन्तर्राष्ट्रिय सेवाको खबर, विश्लेषण, मनोरञ्जन, अन्तर्वार्ता स्थानीय एफ्एमबाट सुन्न पाउँछौं । यसले हामीलाई अंग्रेजी भाषामा दखलसँगै ‘सचेत विश्व नागरिक’ बन्न समेत सघाउँछ । पत्रकारिताका विद्यार्थीलाई सही अभ्यास र प्रस्तुति दिनानुदिन सिकाइरहेको हुन्छ ।

हामीले अन्तर्राष्ट्रिय रेडियो कार्यक्रम र दैनिक छापा यसरी सुन्न\पढ्न पाएको निर्भीक समाज भएकैले हो । पंचायतकालको सुनसान मात्र सम्झिए पुग्छ आजको मूल्य बुझ्न । कथं हाम्रो घरमा बीबीसी सुनिन छोड्यो, न्यूयोर्क टाइम्स् पढ्न पाइने अवस्था रहेन भने देश बन्द समाजतर्फ उन्मुख भएको बुझ्नुपर्छ । त्यता नजानलाई निरन्तर सचेतता, चासो र चिन्ता चाहिन्छ । 

जोखिम छ, बीबीसी अंग्रेजी सेवा सरकारी स्वामित्वको रेडियो नेपाल मार्फत एफ्एम् १०३ मेगाहर्जबाट प्रसारण हुन्छ । कुनै दिन फ्याट्ट कुनै सरकारी अधिकारीले ‘कतै नभएको यस्तो प्रसारण हामीकहाँ मात्र किन ?’ भन्न पनि सक्छन् । त्यसैले पनि नागरिक निगरानी बढाउन जरुरी छ ।

बरु हाल उपत्यकामा मात्र सीमित यो एफ्एम् सेवा संघीयताको मर्म अनुरुप हरेक प्रान्तमा रेडियो नेपाल मार्फत नै सुनाइने प्रबन्ध गर्न सकिन्छ । यही सन्दर्भमा रेडियो नेपाल जस्तो सरकारी प्रसारण सेवालाई स्वायत्त संस्थामा परिणत गर्ने बहसलाई पुनः ताजा पारौं ।

बीबीसी नेपाली सेवा लाई प्रसारण गर्न लण्डन बीबीसी मुख्यालयले सहयोग गर्दैछ भने रेडियो नेपाल ले ‘रिले’ गरिदिएको छ । दुवैलाई धन्यवाद !

हामी कृतज्ञ हुनुपर्ने अर्को संस्था निजी क्षेत्रको ‘नेपाल रिपब्लिक मिडिया’ प्रति हो, जसले अमेरिकी न्यूयोर्क टाइम्स् दैनिकको अन्तर्राष्ट्रिय संस्करणलाई एकाबिहानै हाम्रो घरैमा ‘डेलिभरी’ को व्यवस्था मिलाइदिएको छ । यसले न्यूयोर्कवासीले ब्रेकफास्टसँगै लिने न्यूयोर्क टाइम्स् (‘एन्.वाई.टी.’) को स्वाद नेपालीसामु ल्याइदिएको छ । आज हामीलाई पनि त्यही दिनको पत्रिका त्यही रवाफका साथ पढ्ने अवसर छ । (न्यूयोर्क शहरमा एक दशक विताएको यस पंक्तिकारले यसबाट पाउने सन्तुष्टिको त कुरै नगरौं !)

जसरी हामीले बीबीसी वर्ल्ड सर्भिस प्रसारणको पर्याप्त सदुपयोग गरेका छैनौं, न्यूयोर्क टाइम्स् को ताजा खबर र उत्कृष्ट विश्लेषणको लाभ पनि उति लिन सकिरहेका छैनौं । भन्नै पर्दा, सुन्नेको लागि बीबीसी, पढ्ने र लेख्नेका लागि न्यूयोर्क टाइम्स् हामीसामु उपलब्ध हुनुलाई नजरअन्दाज नगरौं ।

आज स्वतन्त्र मिडिया कस्तो हुनुपर्छ भन्ने उदाहरण पनि न्यूयोर्क टाइम्स् बनेको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको युगमा धेरै पत्रिका र टेलिभिजन स्टेशन कसरी सरकार पक्षीय बनेका छन्, देखिरहेकै छौं ।

तर अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको दक्षिणपन्थी अराजकतासामु जसरी अखबार (विशेषगरी वाशिङ्गटन पोस्ट्, न्यूयोर्क टाइम्स्) र टीभी च्यानल (विशेषगरी सीएन्एन् र एम्एस्एन्बीसी) राज्यशक्ति र घातक लोकरिझ्याइँ विरुद्ध उभिएका छन्, शिक्षाप्रद छ । र, संयोगवश न्यूयोर्क टाइम्स् हामीले चाहँदा एकाबिहानै घरैमा आइपुग्छ ।

हामीले अन्तर्राष्ट्रिय रेडियो कार्यक्रम र दैनिक छापा यसरी सुन्न\पढ्न पाएको निर्भीक समाज भएकैले हो । पंचायतकालको सुनसान मात्र सम्झिए पुग्छ आजको मूल्य बुझ्न । कथं हाम्रो घरमा बीबीसी सुनिन छोड्यो, न्यूयोर्क टाइम्स् पढ्न पाइने अवस्था रहेन भने देश बन्द समाजतर्फ उन्मुख भएको बुझ्नुपर्छ । त्यता नजानलाई निरन्तर सचेतता, चासो र चिन्ता चाहिन्छ । 

प्रतिकृया दिनुहोस