अन्तर्वार्ता/विचार सोमबार, पुस १४, २०७६

‘१० वर्षे पर्यटन अभियान घोषणा गर्दैछौं’

मुकेश पोखरेल

‘१० वर्षे पर्यटन अभियान घोषणा गर्दैछौं’
योगेश भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री । तस्वीर: बिक्रम राई

‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुआत कसरी हुँदैछ ?

नेपाल भ्रमण वर्षको उद्घाटन दुई चरणमा हुनेछ । १ जनवरी अर्थात् १६ पुसमा नेपालमा नै गर्ने उद्घाटनको तयारीस्वरुप पर्यटन व्यवसायीका संघ–सङ्गठन, सरकारका विभिन्न निकाय र नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगसँग परामर्श बैठक गरिरहेका छौं ।

७ जनवरीमा विदेशस्थित प्रत्येक नेपाली कूटनीतिक नियोगहरूको आयोजनामा सम्बन्धित देशहरूमा पनि भ्रमण वर्षको उद्घाटन हुँदैछ । ८० देशमा आफ्नो सङ्गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि आफ्नो तयारी गरिरहेको छ । विश्वका विभिन्न ठाउँमा आयोजना भएका मेला, महोत्सव, एक्स्पोहरूमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्न हाम्रा प्रतिनिधि गएका छन् । विभिन्न देशका सञ्चारमाध्यममा नेपालको भ्रमण वर्षबारे समाचार, विज्ञापन प्रसारण भइरहेका छन् ।

पर्यटक संख्या २० लाख पुर्‍याउने लक्ष्य लिइएको छ तर, त्यो संख्यालाई धान्न सक्ने विमानस्थल, होटल, गन्तव्य जस्ता पूर्वाधार छन् त ?

अहिलेको अवस्थाले नै २० लाख पर्यटकलाई धान्न सक्छ । अब अर्को विमानस्थल पनि थपिंदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेका छौं । उत्तर–दक्षिण जोड्ने सडक यातायात पनि एकपछि अर्को थपिंदै छन् । त्यसले पनि पर्यटन आगमन सहज बनाउँछ । अहिले हामीसँग वार्षिक २५ लाख पर्यटकलाई राख्न सक्ने होटलको क्षमता छ । पूर्वाधारको विकास क्रमशः हुँदै जाने हो । जस्तो, दीर्घकाललाई ध्यान दिएर निजगढ विमानस्थलको काम अघि बढाइरहेका छौं ।

हामीसँग पर्याप्त पूर्वाधार छैन । पहिला पूर्वाधार नबनाई अभियान गर्दा नकारात्मक सन्देश जाँदैन ?

पहिला पूर्वाधार अनि पर्यटन भन्नु र पूर्वाधार भनेको केही होइन पहिला पर्यटक ल्याऔं भन्नु– दुवै कुरा अतिवादी हुन् । पर्यटन र पूर्वाधारलाई सँगसँगै लैजानुपर्छ । विगतभन्दा पूर्वाधार विकास भएका छन् । हिजोभन्दा आज सडक यातायात र हवाई यातायातको पहुँच बढेको छ । सञ्चारको पहुँच बढेको छ । पर्यटकहरूका लागि उद्धार पनि छिटो हुन्छ । गुणस्तरीय पूर्वाधारमा भने बहस गर्न सकिन्छ ।

भ्रमण वर्षबारे देशभित्रको प्रचारले त पर्यटक आउँदैनन् तर, विदेशमा पर्याप्त प्रचार भइरहेको छैन नि !

अन्तर्राष्ट्रियस्तरमा प्रचार नभएको होइन । हामी १० वटा अन्तर्राष्ट्रिय बजारमा बढी केन्द्रित छौं । भारत, चीन, अमेरिका, बेलायत, बाङ्लादेश, श्रीलंका, म्यानमार, जापान, थाइल्याण्ड लगायत मुलुक नेपाल आउने पर्यटकहरूको मुख्य स्रोत हुन् । अहिले प्रचारप्रसारको कार्यक्रम ती देशमा बढी केन्द्रित छ । जनशक्ति र साधनस्रोत त्यही अनुसार व्यवस्था गरिरहेका छौं ।

भ्रमण वर्षको सचिवालय र अन्य सरोकारवाला निकायबीच काममा किन तालमेल भइरहेको छैन त ?

त्यस्तो धेरै नमिलेको केही छैन । छेउकुना नमिलेको रहेछ भने मिलाउँदै गइन्छ । यी छलफल, बैठकबाट किनारा लाग्ने विषय हुन् ।

भ्रमण वर्षको मुखैमा नेपाल पर्यटन बोर्ड नै प्रमुख कार्यकारी अधिकृत (सिईओ) विहीन छ !

यो सबै स्वाभाविक घटना हो । नियमावलीले जुन समयमा कार्यकाल सकिने हो त्यहीवेला पद खाली हुन्छ । सिईओ नियुक्तिको प्रक्रिया शुरु गरेका छौं, छिट्टै नयाँ नेतृत्व आउँछ । त्यसैले केही दिन समस्या भए पनि लामो जाँदैन ।

भ्रमण वर्षमा त्यस्तो के हुन्छ, जुन कारण यो वर्ष आउने पर्यटकले विशेष अनुभूति गर्न पाउँछन् ?

विगतभन्दा नेपालले राजनीतिक स्तरमा नयाँ उँचाइ प्राप्त गरेको छ । जहिले पनि पर्यटकहरू आउँदा बन्द, हड्ताल हुन्थ्यो, यसपटक त्यस्तो देखिने छैन । विमानस्थलमा सूट्केश घिसार्दै आउने बाध्यताको पनि सन् २०२० मा अन्त्य हुनेछ । केही नयाँ हिमाल खोल्ने र हिमाल आरोहणमा लाग्ने दस्तुर घटाउने गृहकार्य गरिरहेका छौं । राष्ट्रिय निकुञ्ज तथा प्रतिबन्धित क्षेत्रमा जाने पर्यटकले दस्तुर तिर्नुपर्छ, त्यसलाई पनि घटाउने र त्यहाँको बसाइ लम्ब्याउन योजना ल्याउने तयारीमा छौं ।

यो वर्षमै सबै सुविधा दिन सम्भव छैन । सबै पूर्वाधार पनि बनिसक्दैनन् । त्यसकारण एक दशकको अभियान २०२०–२०३० चलाउनुपर्छ । यो बीचमा हाम्रा मुख्य गन्तव्य सुनिश्चित गरेर पहुँचमा सुधार गर्दैछौं । निर्माण भइरहेका मुख्य विमानस्थलको काम सम्पन्न हुन्छन् । ५३ वटा आन्तरिक विमानस्थलको गुणस्तरमा सुधार हुन्छ । सडक यातायातमा सुधार आउँछ । होटल र शैक्षिक जनशक्ति पनि थपिंदै जान्छन् । १० वर्षको पर्यटन अभियान चलाउने विशेष योजना छिट्टै घोषणा गर्दैछौं ।

‘पहिला पूर्वाधार अनि पर्यटन भन्नु र पूर्वाधार भनेको केही होइन पहिला पर्यटक ल्याऔं भन्नु– दुवै कुरा अतिवादी हुन्। पर्यटन र पूर्वाधारलाई सँगसँगै लैजानुपर्छ। विगतभन्दा पूर्वाधार विकास भएका छन्।’

हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा भ्रमण वर्षभरि मात्र पनि पानी र शौचालयको सहज सुविधा र फोहोर व्यवस्थापन होला ?

यो समस्या हिजो थियो, आज छैन । अहिले हाम्रो विमानस्थलको सरसफाइ, सेवा प्रवाहदेखि अन्य व्यवस्थापनमा सुधार आएको छ । आज पनि हिजोको आँखाले हेर्नुहुँदैन । यद्यपि, कमजोरी नभएका होइनन् ।

विमान ‘होल्ड’ गराउने, अवतरण गर्न नसक्दा नजिकैका विमानस्थलमा जानुपर्ने लगायत कारणले त्रिभुवन विमानस्थलको बद्नाम भएको छ । भ्रमण वर्षमा यस्ता समस्याका कारण पर्यटकले दुःख पाउँदैनन् ?

त्रिभुवन विमानस्थलमा रनवे, ट्याक्सी वेको पुनर्निर्माण सम्पन्न गरिसकेका छौं । पार्किङ क्षेत्र पनि विस्तार गरेका छौं । त्यसैले अहिले ‘होल्ड’ हुने समस्या कम भएको छ । पार्किङ क्षेत्र अझै विस्तार गर्नुछ । अर्को अन्तर्राष्ट्रिय टर्मिनल निर्माण र आन्तरिक टर्मिनलको स्तरोन्नति पनि गर्छौं । यी काम पाइपलाइनमा छन् । त्यसको लागि डीपीआर बन्दैछ । यस्ता सामान्य सुधारले मात्रै काठमाडौंको आकाशमा हुने जामलाई हटाउन सक्दैन । त्यसकारण हामीलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै चाहिन्छ ।

महँगो हवाई इन्धन र ग्राउण्ड ह्याण्डलिङ शुल्क, आन्तरिक सेवामा विदेशी यात्रुसँग महँगो भाडा असुली जस्ता कारण नयाँ विमान कम्पनी नआउने र पर्यटकलाई पनि नराम्रो सन्देश जाने भइरहेको छ नि !

हवाई इन्धनको मूल्य केही बढी छ । त्यो मूल्यबाट नेपाली जनतालाई खाना पकाउने ग्याँसमा अनुदान दिइएको छ । मन्त्रालयको तर्फबाट मूल्य घटाउन प्रस्ताव गरेका छौं । इन्धनको कारणले हवाई भाडादर पनि बढी नै छ । त्यसलाई पनि घटाउन भनेका छौं । पहिलादेखि नै विदेशीलाई अलग भाडा लिने गरिएको थियो, यो चलन ठीक होइन । स्वदेशी र विदेशीलाई एउटै भाडादर हुनुपर्छ । विमान सेवा सञ्चालकहरूसँग यसमा सहमति कायम गर्ने पहल भइरहेको छ । तर, ग्राउण्ड ह्याण्डलिङ शुल्क अरु देशको तुलनामा महँगो छैन ।

भ्रमण वर्षमा नयाँ वायु सेवा कम्पनी आउँदैछन् ?

अहिले नेपालमा २९ वटा वायु सेवा कम्पनीले उडान गरिरहेका छन् । केही नयाँ एअरलाइन्सबाट पनि आवेदन आएको छ । के कति एअरलाइन्स थपिने भन्ने यकिन भइसकेको छैन ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ ?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० भित्रै सञ्चालनमा आउँछ । यसले लुम्बिनी र पश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ । निर्माण अन्तिम चरणमा छ । निर्माण सकिएपछि सञ्चालनका लागि भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुरक्षा प्रबन्धको व्यवस्था गर्न थप तीन महीना लाग्छ । मार्चसम्ममा सञ्चालन गर्ने योजना थियो तर, थप दुई महीना जति लाग्ने भएको छ ।

नेपालमा हिमाल र ट्रेकिङबाहेक पर्यटनका अन्य सम्भावनाको खोजी र प्रचार किन भएन ?

अहिले लुम्बिनी, रामायण र शिव सर्किटको सम्भावना खोजी भइरहेको छ । यसबाट धार्मिक र सांस्कृतिक पर्यटकहरूको संख्या वृद्धि गराउने उद्देश्य हो । त्यसका लागि हामी नेपालका धार्मिक, सांस्कृतिक क्षेत्रलाई एकअर्कासँग जोड्ने र सांस्कृतिक सर्किट बढाउने विषयमा केन्द्रित छौं ।

हामी पर्यटन संख्यामा केन्द्रित हुन्छौं तर, पर्यटनबाट आय बढाउन सक्दैनौं । खर्च गर्न सक्ने पर्यटक भित्र्याउन के तयारी छ ?

हामीले दुई कोणबाट काम गर्नुपर्छ, पहिलो ‘मास टुरिजम’ लाई पनि छोड्नुहुँदैन । मास टुरिजम विकास हुँदै जाँदा एउटा अवधिमा पुगेपछि गुणात्मक पर्यटनमा जान्छौं । अहिले नै गुणात्मक खोजेर अन्य पर्यटकलाई निषेध गर्ने ठाउँमा जान हुँदैन । गुणात्मक पर्यटनमा पुग्न सेवालाई अझै स्तरीय बनाउनुपर्छ । शैक्षिक जनशक्ति उत्पादनको स्तरलाई पनि बढाउनुपर्छ ।

 

प्रतिकृया दिनुहोस