अर्थ/बजार आइतबार, पुस १३, २०७६

चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र ब्यांकको निर्देशन

रासस

नेपाल राष्ट्र ब्यांकले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रूपमा समावेश गरेको छ ।

पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय ब्यांकले विद्युतीय चार्जिङ स्टेशन निर्माणलाई समेत बढावा दिन प्राथमिकता प्राप्त क्षेत्रमा सूचीकृत गरेको हो ।

ब्यांक तथा वित्तीय संस्थाले चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहजरुपमा ऋण दिने व्यवस्था गर्नुपर्ने ब्यांकको निर्देशनमा उल्लेख छ ।

केन्द्रीय ब्यांकले हालै जारी गरेको निर्देशनमा भनिएको छ, “जलविद्युत् नवीकरणीय ऊर्जासम्बन्धी क्षेत्र तथा नवीकरणीय ऊर्जाबाट चल्ने सार्वजनिक सवारी साधन एवं चार्जिङ स्टेशनलाई समेत जनाउनेछ ।”

ब्यांकको यस व्यवस्थाले चार्जिङ स्टेशन निर्माण गर्न चाहने व्यवसायीलाई फाइदा पुग्नेछ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ आगामी १० वर्षभित्र देशैभर विद्युतीय सवारी साधनको मात्रालाई बढाएर ३० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका र प्रमुख राजमार्गमा ५० वटा चार्जिङ स्टेशन निर्माणको कामलाई अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस