दस्तावेज विहीबार, पुस १०, २०७६

नेपाल–भोट युद्ध तयारी: पूर्वाधार निर्माणमा जङ्गबहादुरको निर्देशन

ज्ञानमणि नेपाल

नेपाल–भोट युद्ध तयारी: पूर्वाधार निर्माणमा जङ्गबहादुरको निर्देशन

केरुङमा बाटो, पुल, सैनिक बस्ने थर्पु र रसदघर बनाउन खटिएका मेजर द्वयबाट कामको प्रगति विवरण बुझेपछि प्रधानमन्त्री  जङ्गबहादुरले थप तजबिज मिलाउन निर्देशन दिए।

ज्ञानमणि नेपाल

भोटसँग युद्धका लागि बन्दोबस्त मिलाउन केरुङमा खटिएका मेजरद्वय सताराम खत्री र दलजित विष्टले कामको प्रगति विवरण प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणालाई पठाएको बारे २२–२८ मंसीरको हिमाल मा पढिसकियो । उनीहरूलाई फौज हिंड्न र ठूला तोप लैजान सजिलो हुने फराकिलो बाटो र पुल, अन्न राख्ने गोदामघर, सैनिक बस्ने थर्पु (शिविर) बनाउन खटाइएको थियो । उनीहरू वेलावेला कामका प्रगतिबारे चिठी मार्फत जानकारी पठाइरहन्थे । 

पछिल्लो प्रगति विवरण पाएपछि जङ्गबहादुरले मेजर विष्टलाई यस्तो जवाफी चिठी लेखेका थिए । रसद राख्न स्याफ्रुमा पाँचवटा र थप दुई वटा गोदामघर बनाएकोमा प्रधानमन्त्रीले खुशी प्रकट गरे । पहिले लेखिपठाए बमोजिमको अन्न आउने भएकाले थप रसदघर बनाउनुपर्ने देखिए व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।

थर्पु बनाउने तयारी गरिएका ठाउँहरूमा चाँडै निर्माण गरिसक्न अह्राइएको थियो । तोप र सेना एउटै बाटो हिंडाउनुपर्ने भएकाले सजिलो र बलियो गरी बनाउन पनि जङ्गबहादुरले जोड दिएका थिए । रसदघरलाई पहरा दिन गोलीगठ्ठा सहितको जमदार खटाई नौसिन्दा राख्ने काम बेस भएको भन्दै सराहना गरिएको थियो ।

देशभरबाट रसद ल्याउन तागिता गरिराखेको र १५\२० दिनपछि दिनहुँ रसद आउने भएकाले भण्डारण घर निर्माणको काम सिध्याउन मेजर विष्टलाई स्मरण गराइएको थियो । रसदघर बनाउन चिसो ठाउँमा स्थानीयहरूभन्दा भोटेहरूले भरपेट खान पाए छिटो काम गर्ने भएकाले तिनैलाई लगाउन भनिएको थियो । कति दिनमा काम सक्छन् भन्ने तजबिज गरी लेखेर पठाए ज्यालाको बन्दोबस्त गर्ने चिठीमा उल्लेख थियो ।

अन्न भुट्ने हाँडी, पानी भर्ने गाग्री लगायत अन्य आवश्यक भाँडाकुँडा बनाउने काम अघि बढाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । वेत्रावतीदेखि बट्टारसम्म माटो जहाँ राम्रो पाइन्छ, त्यही ठाउँमा बट्टारकै कुमालेहरू लगाई भाँडा बनाउन भनिएको थियो । ती कुमाले पर्याप्त नभए काठमाडौंबाट पनि पठाउनुपर्ने भए लेखी पठाउन अह्राइएको थियो ।

श्री ३ जङ्गबहादुरले कप्तान दलजित विष्टलाई लेखेको चिठी

तयारी भयाका रसद घरको र तयारि भयाका थर्पु र तयार गर्नु पर्न्या थर्पुका अड्डा लेखियाको फर्द स्मेत जो भयाको लेखिपठाउन्या काम बढिया गर्‍याछौ. फर्दले र अर्जिले सवै विस्तार बुझि यो. स्याफ्रु बरावल्मा रसद घर ५ तयार भयेछ बढिया भयो. तै ठाउँमा अरु रसदघर २ बनाउनु लाउन्या काम बढिया गर्‍याछौ. येति बाहेक बनाउनु पर्न्या रसदघर तिमिले तजविज गर्‍याका जगामा अस्ति लेखिगया बमोजिम्को रसद अन्न अटाउन्या गरि बनाउन लगाई तयार गर्न्या काम गर्दै छौ. तयारि भयाका थर्पु र बनाउनु पर्न्या थर्पुका कुरालाई तयार भयाका कुरा भैगयो बढियै भयो. तयार गर्नु पर्न्या थर्पुहरू पनि तिमिले तजविज गर्‍याका अड्डामा चाडो बनाइ तयार गर्न्या काम गर्नु. तोप लस्कर यकैबाटो हिडाउनुपर्छ. विकट बाटोले होइ सक्तैन तोप र लस्कर जान्याबाटो तिमिहरूका तजविजले ठहराई बहुत बलियो मजबुतिसंग बनाउन लाउन्या काम गर्नु. रसदघरमा पहरा चौकि गर्नलाई गोलिगठ्ठा भयाको ज्यामादारको पट्टीलाई खटाई नौसिन्दा बहिदार राखन्या काम बेस भयेछ. रसदको चलाउन आउदो रहेनछ भनि लेख्याका कुरालाई मुलुक भरको रसद ल्याउने वन्दोवस्तको ताकिति हुन लागिरहेछ. १५ ।२० दिन देखि बराबर रसद आउन्या छ. तहासम्म रसद घरको बहुतै ताकिति गरि रसद घर सिध्याउन्या काम गर्नु. घर बनाउनलाई ताहाका मानिस भंदा खानाको बन्दोबस्त भया भोट्याहरूले बनाउन्या रह्याछन्. ठंडिको जगा दोचा बख्खु लगाई काम गर्नु पर्न्या जिउका बलिया चाडो तयार गर्लान् कि भने जस्तो लाग्छ भनि लेख्याका कुरालाई बढिया तजविज गर्‍याछौ. ताहिका भोट्याहरूलाई लगाइ घर बनाउन्या काम गर्नु. घर बनाउनलाइ ञाहाबाट लुहकर्मि आउंदैनन्. थामिया तिघर बनाउन्या भोट्याहरूलाई ज्याला माग्या चाहिन्या रहेछ. कति दिनमा सकन्या रहेछन् तजविज गरि लेखि पठाउ र बन्दोबस्त गरि पठाउन्या काम गरियेला. हाडि गाग्रा पार्नलाई बेत्रावती देखि वट्टार सम्म माटो जाहा बढिया ठहर्छ उसै ठाउँमा वट्टारका कुह्माललाई लगाइ बनाउन्या तजविज बढिया ठहराया छौ. तिनै कुह्मालले पुग्दछकि ञाहाबाट पनि पठाउनुपर्छ तजविज गरी लेखि पठाउन्या काम गर.

१९११ मार्ग शुदि १२ रोज ६

 

प्रतिकृया दिनुहोस