टिप्पणी मंगलबार, पुस १, २०७६

अनावश्यक ‘भ्यू टावर’

वसन्त महर्जन

अनावश्यक ‘भ्यू टावर’
काठमाडौंबाट उत्तरतर्फ मुड्खु भञ्ज्याङमा रहेको ‘भ्यू टावर’ ।

पर्यटक आकर्षित गर्ने नाममा लाखौं रुपैयाँ खर्च गरेर धेरै जिल्लामा बनाइएका टावरमध्ये कति त प्रयोजनहीन भइसकेका छन्।

वसन्त महर्जन

काठमाडौं उपत्यकाको चारैतिरका हरिया डाँडाहरू स्थानीय सामाजिक तथा सांस्कृतिक जीवनसँग घनिष्ट सम्बन्ध रहेका धार्मिक स्थल पनि हुन् । जामाचो (नागार्जुन पर्वत), सिपुचो (शिवपुरी), फूचो (फुल्चोकी), धिनाचो (चम्पादेवी) लगायतका डाँडाहरूमा वर्षको एक पटक मेला लाग्दछ ।

त्यहाँ घुम्न अरु दिन पनि मानिसहरू पुग्छन् । ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्ने ती धार्मिक स्थलहरूबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न पाइन्छ । वास्तवमा यी र यस्तै डाँडाहरुकै कारण हाम्रो प्राकृतिक दृश्यावलोकन झनै सुन्दर भइदिन्छ ।

तर यी स्थलहरूमा आजभोलि ‘भ्यू टावर’ निर्माण गर्ने होड चलेको छ । यसले एकातर्फ प्राकृतिक सौन्दर्य र स्थानीय जैविक विविधतालाई क्षति पुर्‍याएको छ भने अर्कोतर्फ ती स्थानहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई ओझेलमा पारेको छ ।

काठमाडौं उपत्यकामा मात्रै नभएर देशका विभिन्न भागमा ‘भ्यू टावर’ निर्माण गर्ने लहर चलेको छ । डाँडाकाँडाले भरिएको भूसंरचना भएका पहाडी क्षेत्रमा ‘भ्यू टावर’ निर्माण अनावश्यक छ किनभने यहाँका हरेक डाँडा, टाकुरा आफैंमा ‘भ्यू टावर’ हुन् ।

प्राकृतिक वातावरण बिथोलिन नदिंदा हुने फाइदा र सिमेन्ट निर्मित भ्यू टावर लगायतका विभिन्न संरचनाले दिने फाइदा तुलनायोग्य छैनन् ।

पर्यटन उद्योगको विकास गरी आर्थिक लाभ लिने चाहना राख्ने हो भने दिगो पर्यटनको खोजी गरी दीर्घकालीन सोच बनाउनु जरुरी छ । किनभने पर्यटक आकर्षित गर्ने नाममा लाखौं रुपैयाँ खर्च गरेर धेरै जिल्लामा बनाइएका टावरमध्ये कति त प्रयोजनहीन छन् ।

शहरी क्षेत्रको समतल भूभागमा पनि ‘भ्यू टावर’ निर्माण गर्ने प्रवृत्ति बढ्दो छ । प्रधानमन्त्री भीमसेन थापा, (मुख्तियार वि.सं. १८६३–१८९४) को समयमा धरहरा दृश्यावलोकन गर्ने उद्देश्यले निर्माण गरिएको थिएन ।

मध्यकालीन भारतमा प्रचलित मिनार वास्तुकलाको नक्कल गरी निर्माण गरिएको यो संरचना त्यसवेला नेपालमा सूचना प्रवाह गर्न विगुल फुक्ने कार्यमा सीमित थियो ।

पछिल्लो समयमा यसलाई ‘भ्यू टावर’ को रुपमा परिवर्तन गरी व्यापारिक प्रयोजनमा ल्याइयो । १२ वैशाख २०७२ को भुइँचालोले यसलाई ढालेपछि त्यहाँ अझ ठूलो ‘भ्यू टावर’ बनाउन सरकार नै कस्सिएर लागेको छ । 

धरहराबाट १.५ किमिको दूरीमा रहेको पुरानो बसपार्कमा अर्को भव्य भ्यू टावरको निर्माण कार्य अघि बढ्दैछ । यो ‘भ्यू टावर’ को निर्माण कार्य काठमाडौं महानगरपालिकाले गरिरहेको छ । राजधानीभित्रै यति छोटो दूरीमा किन दुई वटा भ्यू टावर आवश्यक पर्‍यो ? चित्तबुझ्दो जवाफ दिने कोही भेटिंदैन ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीको विशेष रुचिमा झापामा अढाइ अर्ब रुपैयाँको लागतमा ‘भ्यू टावर’ बन्ने तरखरमा छ । तराईको समथर भूभाग झापामा दृश्यावलोकन गर्न बनाइने उक्त ‘भ्यू टावर’ बाट के के देख्न पाइन्छ भन्ने प्रश्नको उत्तर पनि सहज छैन ।

देशका अन्य समतल र शहरी क्षेत्रमा बनाइएका भ्यू टावरहरू पनि बन्द वा टावर चढ्न रहर गर्नेहरूलाई मनोरञ्जन दिनमा नै सीमित छन् ।

पर्यटन उद्योगको विकासका लागि ‘भ्यू टावर’ चाहिने र यसबाट पर्याप्त मात्रामा आम्दानी हुने सोचको विकाससँगै देशका विभिन्न क्षेत्रमा भ्यू टावरहरू निर्माण भइरहेको बुझ्न सकिन्छ ।

पर्यटन विकासमा आफ्नो सहभागिता जनाउन गाउँपालिका तथा नगरपालिका स्वयम् र त्यहाँ सरसहयोग माग्न आउने क्लब, सामाजिक तथा गैरसरकारी संघसंस्थाहरूले प्रायः ‘भ्यू टावर’ निर्माण गर्न अघि सर्छन् ।

पर्यटन उद्योग देशको सबै क्षेत्रमा र एकै समयमा फस्टाउँदैन । समय र संभाव्यताको अध्ययनपछि आवश्यक पूर्वाधार निर्माण गरेर मात्र यसतर्फ ध्यान दिंदा हुन्छ । पर्यटन उद्योगमा नै ‘फोकस’ हुने हो भने पनि सबै ठाउँमा ‘भ्यू टावर’ अनिवार्य छैन, हुँदैन ।

‘भ्यू टावर’ हरू निर्माण गर्दा लाग्ने खर्च बाटो तथा अन्य पूर्वाधार निर्माणमा लगाउँदा अझ फलदायी हुन्छ । सामान्यतः ऐतिहासिक तथा सांस्कृतिक महत्वका कुराहरू नै पर्यटकीय आकर्षणका केन्द्र हुन् र यस्ता सम्पदा आजको भोलि निर्माण गर्न सकिंदैन ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्ने स्थलमा ‘भ्यू टावर’ जस्ता निर्माणहरूले त्यस ठाउँको महत्तालाई नै ओझेलमा पार्दछ ।

 

प्रतिकृया दिनुहोस