सम्पादकीय सोमबार, मंसिर ३०, २०७६

सागमा देखिएको सामर्थ्य

किरण नेपाल

सागमा देखिएको सामर्थ्य

सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे

भर्खरै (२४ मंसीरमा) नेपालमा १३औं दक्षिण एशियाली खेलकुद (साग) सकिएको छ । सागमा नेपालले पाएको अहिलेसम्मकै उच्च ५१ वटा स्वर्ण पदकले देश यतिवेला ‘स्वर्णमय’ बनिरहेको छ । कतिपयले यसलाई नेपाली खेल इतिहासकै ‘स्वर्णयुग’ का रूपमा पनि अथ्र्याएका छन् । यस्तो लाग्छ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘सुनको बिहानी’ कविताको भाव यहाँनेर मिल्न गएको छ ।

सागको सफल आयोजना र स्वर्ण–सफलताको अन्तर्य के थियो ? यसको अर्थ के हो ? अहिले यसबारे टिप्पणी र छलफल शुरू भएको छ । यस्तो छलफल किन पनि भने, एक वर्षअघि नै हुनुपर्ने साग आयोजक नेपालले दुई पटक सारिसकेको थियो । कारण, भूकम्पबाट क्षतिग्रस्त दशरथ रङ्गशाला बनेकै थिएन, अन्य खेल पूर्वाधारको अवस्था पनि राम्रो थिएन ।

राजनीतिक रूपमा स्थिर सरकार बने पनि सागको महत्व र मर्म बुझने प्रयत्न पनि गरिएको देखिएन । तर, अन्त्यमा वर्षान्तको डिसेम्बरसम्म प्रतियोगिता सम्पन्न गर्ने चुनौती पाएको नेपालले आफ्नो दायित्व पूरा ग¥यो । र, आगामी संस्करणका लागि पाकिस्तानलाई शुभकामना दियो ।

५१ स्वर्ण, ६० रजत र ९५ काँस्य सहित भारतपछि दोस्रो स्थान हासिल गरे पनि नेपालका लागि स्पर्धा र पदकभन्दा प्रतियोगिताको सफल आयोजना प्राथमिकतामा थियो । किनकि, दक्षिणएशियाकै खेलकुदको ‘महाकुम्भ’ सागको इतिहासमा यस वर्ष सबैभन्दा बढी २६ खेलका ३१६ स्पर्धामा तीन हजारभन्दा बढी खेलाडीले सहभागिता जनाइरहेका थिए ।

सम्भवतः अन्तर्राष्ट्रियस्तरको योभन्दा ठूलो कार्यक्रम आयोजनाको अनुभव नेपालसँग थिएन । त्यसैले पनि नेपालसँग चुनौती र अवसर एकसाथ थिए ।

जिम्मेवारीको अर्को स्वाभाविक पक्ष चाहिं सागसँगको नेपालको संलग्नता हो । सन् १९८४ मा नेपाली भूमिमै पहिलो पटक साग आयोजना गरिएको थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष, संस्थापक र सचिवालय नै काठमाडौंमा रहेका कारण पनि सागको सफलता नेपालको साखसँग जोडिएको थियो ।

सागको सफल आयोजनाले फेरि एक पटक नेपालले आफूलाई दक्षिणएशियाकै ‘तटस्थ भूमि’ का रूपमा परिचित गराएको छ । आपसमा आकाश मार्गमा समेत प्रतिबन्ध लगाएका भारत र पाकिस्तानका खेलाडी नेपालमा आएर ढुक्कले प्रतिस्पर्धा गर्ने वातावरण बनेको छ । असहिष्णु बन्दै गएको बाङ्लादेश, अस्थिर राजनीतिको मारमा परेको माल्दिभ्स, हिंसात्मक विगतबाट तङ्ग्रिंदै अघि बढेको श्रीलङ्का र भूटान सबैका लागि नेपाल साझ दक्षिण एशियाली मञ्च बनेको छ ।

यस्तो मञ्च जहाँ राजनीतिक आग्रह, पूर्वाग्रह, वैचारिक मतभेद, सीमाको तनाव, जातीय र धार्मिक विद्वेषबाट मुक्त भएर स्वतन्त्र विचरण गर्न सकिन्छ । त्यसैले पनि नेपाल पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमका लागि उपयुक्त आयोजनास्थल बनिरहेको छ । नेपाल र नेपालीले आफ्नो यो राजनीतिक चरित्र जोगाइराख्नु छ ।

जितमा क्षणिक उल्लास, आत्मप्रशंसामा मग्न हुनुभन्दा खेलाडीलाई टिकाइराख्ने वातावरण बनाइनु, खेलकुदबाटै सुनिश्चित भविष्य देख्न सक्ने अवस्था सिर्जना गराउनु आजको आवश्यकता हो।

सागमा नेपाली खेलाडीले हासिल गरेको पदक खुशीको अर्को कारण बनेको छ । तेक्वान्दो, कराते, फूटबल जस्ता खेलमा मात्र होइन, छिमेकी राष्ट्रसँग प्रतिस्पर्धामा सधैं पछि पर्ने, पदकको आशै नगरिएका खेलहरूबाट खेलाडीले पदक दिलाएका छन् ।

खेलाडीलाई वेलैमा विदेशमा प्रशिक्षणका लागि पठाउनु, स्वदेशमै तालिमको व्यवस्था गरिनु जस्ता विषय सराहनीय छन् । तर, यो सागमा कुल २०६ पदक खेल पदाधिकारी र अन्य व्यवस्थापकीय प्रयासबाट मात्र हासिल भएको होइन, ‘देशलाई केही दिने’ मनोभावले खेलाडी, अभिभावक र प्रशिक्षकले अनेक अभाव, दुःख र अपमान सहेका छन् । त्यसैले अब केही दिने पालो सरकारको हो ।

विश्व श्रमबजारमा नेपालको परिचय ‘कामदार निर्यात गर्ने मुलुक’ को रूपमा छ । उनीहरूले पठाएको विप्रेषण (रेमिटेन्स) नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेको छ । यस्तो अवस्थामा युवा शक्तिले देशका लागि पदक दिलाउनुले एकसाथ धेरै सकारात्मक सन्देश दिएको छ, जसमध्ये सबैभन्दा महत्वपूर्ण आफ्नो माटोप्रतिको माया हो ।

ऊर्जावान् युवा शक्तिलाई देशभित्रै सुनौलो भविष्य देखाउने यो मौका पनि हो । यसका लागि खेलाडीलाई आत्मसम्मानका साथ जीवन निर्वाह गर्ने आधार प्रदान गरिनुपर्छ, नत्र हिजोजस्तै राष्ट्रका गौरव पदकधारी खेलाडी विदेशी भूमिमा पसिना चुहाइरहेको देख्नुपर्नेछ ।

त्यसैले जितमा क्षणिक उल्लास, आत्मप्रशंसामा मग्न हुनुभन्दा खेलाडीलाई टिकाइराख्ने वातावरण बनाइनु, खेलकुदबाटै सुनिश्चित भविष्य देख्न सक्ने अवस्था सिर्जना गराउनु आजको आवश्यकता हो । स्वर्ण–सम्भावना बोकेका युवालाई विदेश पलायन हुनबाट रोक्न साग प्रस्थानविन्दु बन्न सक्छ ।

आधुनिक विश्वमा खेल विलासीको साधन होइन, एउटा सौम्य शक्ति (सफ्ट पावर) बनिसकेको छ । आर्थिक र सामरिक होइन, खेल र खेलाडीकै माध्यमबाट थुप्रै राष्ट्रले इज्जत कमाएका छन् ।

दक्षिणएशियाको एउटा खेल–शक्ति नेपालसँग पनि खेल र खेलाडीलाई सौम्य शक्तिको रूपमा प्रयोग गर्न सक्ने अवसर सागले प्रदान गरेको छ । यसको सदुपयोग गर्दै खेल क्षेत्र सुधारका लागि पर्याप्त लगानी गरी चुस्त व्यवस्थापन गर्ने जिम्मेवारी सरकारसामु छ ।

प्रतिकृया दिनुहोस