टिप्पणी शनिबार, मंसिर २८, २०७६

सागबाट ‘स्वर्ण युग’

शेखर खरेल

सागबाट ‘स्वर्ण युग’
सागकाे समापन समाराेहमा प्रस्तुत नृत्य । तस्वीरहरुः बिक्रम राई

अनेकौं संशय र सकसका बीच आयोजित साग खेलाडीको अब्बल प्रदर्शनकै कारण प्रकारान्तरमा मुलुकवासीका लागि सुखानुभूति दिलाउने सुनौलो अवसर बन्न पुग्यो।

पश्चिमाहरू १३ अङ्कलाई शुभ मान्दैनन् । तर, नेपालका निम्ति भने यही शुभ बनिदिएको छ । दक्षिणएशियाका लागि ‘मिनी ओलम्पिक’ मानिने दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालले हासिल गरेको सफलता यस खेल महाकुम्भको साढे तीन दशकको इतिहासमै उत्कृष्टतम हो ।

सागमा नेपालका सामु आयोजक राष्ट्र र प्रतिस्पर्धी मुलुकको दोहोरो परीक्षाको चुनौती तेर्सिएको थियो । रोलक्रम अनुसार नेपालले आयोजना गर्नुपर्ने साग महाभूकम्प र पूर्वाधार अभावका कारण दुई–दुई पल्ट पर सारिएपछि यो डिसेम्बरसम्मका लागि अन्तिम मौका मिलेको थियो ।

सागका कारण नेपाल राष्ट्र सँगसँगै विभागीय (खेलकुद) मन्त्री र पदाधिकारी ‘रेड जोन’ मा परिसकेका थिए । तर, जस्तो चमत्कारिक नतिजाका साथ साग सम्पन्न भएको छ, यसले नेपालीलाई खुशी मनाउन दशैं नै कुर्नुपर्ने रहेनछ भन्ने अनुभूति दिएको छ ।

तर, साग शुरू हुने एकाध साता अघिसम्म संशय प्रशस्त थियो । महाभूकम्पका कारण भग्नावशेषमा परिणत खेल आयोजनाको मुख्य थलो दशरथ रङ्गशाला वर्ष दिन भित्रै पुनर्निर्माण र सबलीकरणबाट खेल्न योग्य हुनेछ भन्नेमा विश्वास गरिहाल्ने कुनै आधार थिएन । किनभने कंक्रिटको संरचना भत्काउन जति कठिन हुन्छ, नवनिर्माण धेरै गुणा सजिलो हुन्छ ।

रङ्गशाला पुनर्निर्माणको टाकटुक र ठोकठाक १ डिसेम्बरको समुद्घाटनको एकाध घण्टा अघिसम्म जारी रह्यो । रातारातको ढलान र प्लास्टर, रङ्गरोगन अनि पिचका कारण खेल खेलाइँदासम्म सिमेन्ट, इनामेल र अलकत्राको गन्ध आयोजनास्थलमा व्याप्त थियो ।

युद्ध जस्तै खेल पनि परिणाममुखी हुन्छ । विजयको उन्माद र आनन्दले युद्धको पीडालाई सुखानुभूतिमा बदलिदिन्छन् । अनेकौं संशय र सकसका बीच आयोजित साग पनि नेपालका लागि प्रकारान्तरमा यस्तै अनुभूति दिलाउने अवसर बन्न पुग्यो ।

इतिहास जस्तै खेल पनि जित्नेहरूका लागि हुन्छ । नभए, मात्र माइक्रो सेकेण्डको फरक स्वर्ण र रजतबीचको विशाल अन्तरालमा किन अनूदित हुन्छ ? १३औं सागमा नेपालको पोल्टामा परेको ५१ स्वर्ण पदक यथार्थमा नेपाली खेल इतिहासकै स्वर्ण युग हो ।

२०५६ सालमा नेपालमै आयोजित आठौं सागमा प्राप्त ३१ स्वर्णमा २० थपिएर नेपाली खेलकुद स्वर्णमय बनेको छ । यसको जस साग आयोजक राष्ट्रिय खेलकुद परिषद् र सम्पूर्ण पदाधिकारी तथा कीर्तिमानी खेलाडी र प्रशिक्षक सबैलाई जान्छ ।

सम्पन्न साग प्रतिकूलतालाई अनुकूलतामा कसरी अनुवाद गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि हो । २०७२ सालको महाभूकम्पले भौतिक संरचनामा मात्र क्षति पुर्‍याएको थिएन, हाम्रो मनोबल पनि नराम्ररी खस्काएको थियो ।

आन्तरिक सशस्त्र द्वन्द्वको एक दशक र त्यसपछिको राजनीतिक संक्रमणमाथि थपिएको भूकम्पको प्रलयकारी वितण्डाबाट नेपाली जनजीवन निराशाले गिजोलेको थियो ।

शिथिल युवा जमातले वैदेशिक रोजगारबाट मात्र जीविकाको विकल्प देखिरहेका वेला खेल महाकुम्भको आयोजना हुनु अनि तिनै युवाले मैदान र सामग्री, तालिम र प्रोत्साहन बेगर पनि अब्बल प्रदर्शन गर्नु उज्यालो भविष्यको सङ्केत हो । प्रतियोगिताका पदकधारी खेलाडीलाई तत्कालै नगद पुरस्कार घोषणा भएबाट उनीहरूको हौसलालाई थप टेवा पुगेको छ ।

समीक्षाको समय
सागको सफलता अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक, एशियन गेम्स र १४औं सागका लागि बलियो जग हो । तर, यसका लागि खेलेर केही हुन्न भन्ने खेलाडी र अभिभावकको सोचाइ चिर्नुपर्छ, जसका लागि सरकारले रोजगारी र निवृत्तिभरण, बीमा र औषधोपचारको प्याकेज अविलम्ब ल्याउनु जरूरी छ । खेलाडीलाई नगद पुरस्कार घोषणा गर्ने तर वर्षौं झ्ुलाउने जस्ता कृतघ्न व्यवहार हुनुहुन्न ।

सबैभन्दा हेक्का राखिनुपर्ने कुराचाहिं, सागको धङधङी र उन्मादबाट जतिसक्दो छिटो मुक्त हुनु हो । किनकि, सफलताको ‘सेलिब्रेसन’ को उन्मादमा खेल आयोजनाका क्रममा भएका गम्भीर त्रुटिलाई बिर्सनुहुन्न ।

अन्तिम समयको तयारीका कारण खेलाडीले मैदान वा कभर्ड हलमा नभएर पार्टी प्यालेसमा अभ्यास गर्नु परेको थियो । शूटिङको स्पर्धा नेपाली खेलाडीले पुरानै बन्दूक नपड्किएपछि प्रतिस्पर्धीसँग माग्न बाध्य हुनु परेको थियो । साइक्लिङ स्पर्धामा समेत समयमै नयाँ साइकल नआइपुग्दा प्रतियोगीले निजी र थोत्रा साइकल प्रयोग गरेका थिए ।

आयोजनाको मूलस्थल दशरथ रङ्गशालामा क्षमताभन्दा बढी टिकट बिक्री गरिंदा टिकट खरीद गरिसकेका दर्शक विलखबन्दमा परे । उद्घाटन र समापन जस्ता कार्यक्रम चुस्त र छोटो बनाइनुपर्नेमा लम्बेतान भाषणवाजी र ‘समावेशी’ सांस्कृतिक झँकीका कारण पट्यारलाग्दो बने । प्रतियोगिताको सबैभन्दा नरमाइलो घटना भने समापन अघि दर्शकमाथि प्रहरीको निर्मम बल प्रयोग रह्यो ।

कमजोर पक्षको समीक्षा गर्दै आगामी प्रतियोगिताको ‘रोडम्याप’ तयार गर्न सके मात्र भविष्यमा थप उपलब्धिको आशा गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस