दस्तावेज शुक्रबार, मंसिर २७, २०७६

नेपाल–भोट युद्ध तयारी: केरुङको खबर

ज्ञानमणि नेपाल

नेपाल–भोट युद्ध तयारी: केरुङको खबर
भोटसँग युद्धका लागि बाटो मर्मत गर्न र अन्य बन्दोबस्त मिलाउन केरुङमा खटिएका मेजर सताराम खत्री र दलजित विष्टले त्यहाँको घटना विवरण श्री ३ जङ्गबहादुरसमक्ष पठाएका थिए ।
 
ज्ञानमणि नेपाल
राजधानी काठमाडौंबाट युद्धसामग्री भोट लैजान केरुङको बाटो पायक पर्थ्याे। यसैले मेजर कप्तान सताराम खत्री केरुङको बाटो र पुल मर्मत गर्न खटिएका थिए । कामको प्रगति विवरण बीचबीचमा राजधानीमा पठाउनुपर्थ्याे।

सतारामले भोटतिरको चियोचर्चो गर्न एक जना केरुङतिर पठाएका थिए । भोटेहरूले उसलाई घेरेर ‘तिमीहरूले बाटो बनाइरहेका छौ, घर पनि बनाउँदैछौ रे, अन्नपात सबै रोकेका छौ, के गर्न खोज्दैछौ’ भनेर सोधेछन् । त्यसरी अन्न रोक्दा आफूहरू भोकभोकै परेको पीडा उनीहरूले पोखेका थिए ।

भोटेहरूले केरुङमा गोरखा विरुद्ध लड्ने कोही पनि नभएको, बरु मान्नुपर्छ नै भनिरहेको मेजर खत्रीले चिठी मार्फत श्री ३ जङ्गबहादुरलाई जाहेर गरेका थिए । केरुङमा भोटे सिपाही २५ जना बसेको र किल्लामा धनु–काँड, भाला, नर्घा ल्याएर राखिरहेको चिठीमा उल्लेख थियो ।

चिठीमा केरुङको खबर समेट्ने क्रममा चोरहरूको आतङ्कबारे पनि चर्चा गरिएको थियो । केरुङ बस्ने नेवारले बताए अनुसार, चार जना खम्पाले लामाहरूको सामान लुटेको र थर्पु (शिविर) बनाउने सिपाहीले पक्रन लाग्दा चोरहरू भारी छोडेर भागेछन् । हतियार सहित जङ्गलमा बस्ने र राति–राति गाउँ पसेर लुटपाट मच्चाउने चोरहरूलाई ढेवाले पनि पक्रन नसकेको मेजर खत्रीले उल्लेख गरेका थिए ।

केरुङमै खटिएका मेजर कप्तान दलजित विष्टले पनि आफ्नो क्षेत्रको प्रगति विवरण समेटेर प्रधानमन्त्रीलाई चिठी पठाएका थिए । माझीहरूले भीर काटेर बाटो र गाउँलेहरूले सैनिक बस्ने थर्पु (शिविर) निर्माण गरिरहेको जानकारी गराइएको थियो ।

हाँडी, गाग्रा बनाउन राजधानीबाटै कुमाले झिकाउँदा सरकारको बढी खर्च लाग्ने भएकाले तिनलाई आदेश बमोजिम सेरा खेत (बेत्रावती किनारको ठूलो खेत) को धान चामल बोकाउने काममा लगाइने चिठीमा भनिएको थियो ।

भाँडा बनाउन बेत्रावतीको फाँटमा राम्रो माटो नभेटिएको, सरसामान पाइने र पायक पर्ने ठाउँमा हाँडी बनाउन लगाउनू भनेर सिपाही खटाइएको मेजर विष्टले जानकारी गराएका थिए ।

प्रधानमन्त्री जङ्गबहादुरलाई मेजर सताराम खत्रीले पठाएको चिठी

धुंचेदेखि टिमुर्‍यासम्म ठाउँ ठाउँमा विकट घटिया रहेछ. तोप मियाना जान्या गरि बनाउदा कहिं भन्या तलदेखि भर्‍याङ् जस्तो चिन्हि कहिं भन्या कठि हालि हुन्या ठाउँमा ढुङ्गो फोरि काठ हाल्ने ढुङ्गा लगाइ तिन हातसम्मको बाटो दोसाध देखि स्याफ्रुसम्म बनाइ तयार भयो. विकट ठाउँ ठाउँमा मसि बनाउनलाइ अरू बाटो ज्यामदार कोत्यालाई अह्राई हाजिर हुन्या काम गरुला. औं केरुंसम्म बनाइसक्या भन्छन् भनि मानिस पठायाथ्या. यौटा नौलो मानिस पुग्न्या वित्तिकै केरुंका मानिस सबै तमासा हेर्न आउँदा रह्याछन्. तिमिहरू क्यान आयौ क्यागर्न लाग्यौ. तिम्रा मुलुकमा बाटो पनि बन्न लागिरहेछ. घर वनाउन पनि लागिरह्याछन्. अंन पनि सबै थुन्या. हामि ता खानावाट पनि मर्न लाग्या. यहाँ लडन्या पनि कोही छैन. गोर्खा मान्नु पर्छ मान्छौ भन्या गोर्खालाई तर माथिबाट आयो भन्या कसो कसो हुंछ ञाहा ताकेति गर्न पर्दैन. हामि खानावाट मर्‍यौं मर्‍यौ भंछन् गरे. झुगाको समाचार भन्या २५ गोटा सिपाहि किल्लामा पहरा वस्याका छन्. माथिबाट धना काढ बर्छा ल्याई किल्लामा राखनका लागिरह्याछन् भनि नेवारहरूले भन्थ्या गरे. आज १५ दिन भयो खाम्बालि ४ जनाले केरुं गुम्बामा बस्न्या २ लामाको माल चोरी टिमुर्‍यामा ल्याछन् र चोरिन्या लामा २ जानाले लगार्दै ल्याया छन् हाम्रा थर्पु बनाउन गयाका सिपाहिसंग गोहार मागी पक्रन जाँदा भारि छाडि भागेछन्. माल सबै लामाहरूले पायाछन्. ति चोरहरू दोसाध देखि माथि प्यां गाउँमा अडा गरि बसि इनि दुई लामालाई नमारि छाड्दौन भनि भन्दारह्याछन् गरे. यौटा मानिस आई ति चोरलाई फुल्याई केहि हुन्या छैन भनी केरुंमा लगि आफ्ना घरमा राखेछ. खानपिन दिएन तजविज गर्दा चोरले थाहा पायाछन्. च्याप्सा ढुङ्गा हातमा ली जङ्गल पसि रह्याछन्. खानु जसै सकियो जवर्दस्ति आई लुटपिट गरि खादा रह्याछन्. तिनै चोरलाई पक्रन ढेवालगाइतहरूले पनि समातन सकेन. हाहा पारि राख्याछन् गरे भन्या खबर मैले पनि पठायाका मानिसले ल्यायाको. १९११ मार्ग शुदि ९ रोज ५ (८हुनुपर्ने रोज ३)

प्रधानमन्त्री जङ्गबहादुरलाई मेजर दलजित विष्टले पठाएको चिठी

हाडी पार्न भनि बट्टारका कुह्मालहरूलाई कल्यारीघाट सम्म वारि पारिका माझीहरुले ढुंगा काटि सिंधुर्‍या घाटमा तयार गर्नु. अरु जगा जगाका गाउलेले थर्पुसाघु वनाउनु भनि तजविज गरि खटाई कामवरोवर चल्दैछ. नेपालका कुह्मालहरू ल्याई ज्यालादि हाडी पार्न लाया श्री ५ सर्कारको खर्चमात्री ज्यादा हुन्या काम थोरि हुन्या जस्तो लाग्यो. अन्त काममा नलाई कुह्माल जतिले हाडि पार्नु भन्या बन्दोवस्त गर्‍याको हो. इनै कुह्माललाई साहु धर्मनारान मार्फत सेराका चावल धान बोकाउनु अन्त काम नलाउनु भनि दस्खत भैआयेछ. १ रकम्दरियाका खाली गाउँ काहि छैनन्. वेत्रावति व्यासि वारि पारि भाडा पार्न्या माटो काहि रहेनछ. वट्टारका फुन्कि भन्या ठाउँमा माटो रहेछ. सरजाम पनि भयाका नजिक पनि पन्र्या चाँडो पनि हुन्या तेस्तो ठाउँमा हाडि पार्न लाउनु भनि सिपाहि खटायाका थिया. दस्खत भयापछि पनि काममा लायेनछ भनि रिसानि मर्जिहोला. काममा सुरले लायाको हो माफ भयाजाला. १९११ मार्ग शुदी ११ रोज ५

प्रतिकृया दिनुहोस