टिप्पणी विहीबार, मंसिर २६, २०७६

भिक्षु बुद्धभद्र र बोधिधर्म

वसन्त महर्जन

भिक्षु बुद्धभद्र र बोधिधर्म

भिक्षुद्वय बुद्धभद्र र बोधिधर्मको बारेमा जानकारी दिने स्रोत चीनमा मात्रै सुरक्षित छ।

वसन्त महर्जन

नेपाल–चीन सम्बन्धका बारेमा इतिहास खोतल्दा हिजोआज पाँचौं शताब्दीका एक बौद्धभिक्षु बुद्धभद्रको नाम लिने गरिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिङफिङले नेपालको भ्रमण गर्नुअघि प्रकाशन गरेको लेखमा उनले ‘करीब १६०० वर्ष अगाडि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका र संयुक्त रूपमा बौद्ध धर्मको शास्त्रपदहरू अनुवाद गरेका थिए’ भनेर उल्लेख गरे ।

सोही वेला नेपालका पत्रपत्रिका र विद्वत्जनले बुद्धभद्रको उल्लेख प्रशस्तै गरे तर यस सम्बन्धमा भएको गम्भीर त्रुटिबारे हेक्का नै राखिएन ।

भिक्षु बुद्धभद्र (३५९–४२९ इ.)

चिनियाँ राष्ट्रपतिले उल्लेख गरेका भिक्षु बुद्धभद्र पाँचौं शताब्दीमा कश्मीरबाट चीन गएका थिए । गौतम बुद्धसँग सम्बन्धित ठाउँहरूको भ्रमण तथा बौद्ध ग्रन्थहरू सङ्कलन गर्न आएका चिनियाँ भिक्षु फा सियान मध्यएशियाकै बाटो भएर फर्केका थिए र कश्मीरमा भेट भएका बुद्धभद्रलाई पनि आफूसँगै लगेका थिए ।

चिनियाँ स्रोतहरूले बुद्धभद्रको रक्त सम्बन्ध कपिलवस्तुका शाक्य कुलसँग रहेको उल्लेख गरेका छन् । अझ स्पष्ट पार्ने क्रममा गौतम बुद्धका काका अमृतोदनको वंशज पनि भनिएको छ ।

कपिलवस्तुमाथि तत्कालीन कोशल महाजनपदका राजा विडूडभको आक्रमण हुँदा शाक्यहरू यताउता भाग्ने क्रममा अमृतोदनका एक पुत्र मध्यएशियामा पुगेको चिनियाँ स्रोतमा उल्लेख छ । यो इ.पू. ४८१ तिरको कुरा हो ।

कपिलवस्तुबाट पलायन भएका पूर्वज र बुद्धभद्रबीच करीब हजार वर्षको अन्तर छ । यस अवस्थामा उनलाई ‘चीन पुग्ने पहिलो नेपाली’ का रूपमा चिन्नु र चिनाउनु उचित हो कि होइन भन्ने प्रश्न उठ्छ ।

सत्र वर्षको उमेरमा प्रव्रज्या (विधिवत् रूपमा भिक्षु बन्ने प्रक्रिया) लिएर भिक्षु बनेका बुद्धभद्र चीन पुगेर बौद्ध ग्रन्थको अनुवाद कार्यमा सरिक भएका थिए ।

त्यही वेला तुर्किस्तानको प्रधाननगर कूचाबाट चीन पुगेका अर्का अनुवादक भिक्षु कुमारजीव (३२५–४१५ इ.) सँग उनको भेट भयो तर व्यक्तित्व र वैचारिक द्वन्द्वले सँगै बस्न सकेनन् र अन्तै लाग्नु पर्‍यो । बुद्धभद्र सर्वास्तिवाद बौद्ध धर्मसँग सम्बन्धित हुन् भने कुमारजीव सर्वास्तिवाद छाडेर महायान बौद्ध धर्म अपनाउन पुगेका थिए ।

नेपाली समाजमा प्रचार भएजस्तो चीनमा बौद्ध धर्मको प्रचार उनी मार्फत भएको होइन । बुद्धभद्र भन्दा करीब ५०० वर्षअघि नै चीनमा बौद्ध धर्म पुगिसकेको र यसको प्रचारप्रसार पनि यथेष्ट मात्रामा भइसकेको अवस्थामा उनलाई चीनमा बौद्ध धर्म फैलाउने श्रेय दिनु ऐतिहासिक तथ्यलाई आफूअनुकूल व्याख्या गर्नु मात्र हो । 

भिक्षु बोधिधर्म (४८३–५४० इ.)

चीनमा चान (ध्यान) बौद्ध धर्मको परिचय दिने काम दक्षिण भारतको काञ्चीपुरम्बाट सन् ५२० पछि (अनुमानित) मात्रै चीन गएका भिक्षु बोधिधर्मबाट भएको हो ।

चीन पुग्ने बौद्ध भिक्षुद्वय बुद्धभद्र र बोधिधर्मको नाम उच्चारणमा स्पष्ट भेद पाइन्छ । यसमा नेपालीहरू मात्र नभएर अरू पनि झुक्किएको देखियो । वास्तवमा यी दुवै भिक्षुका बारेमा जानकारी दिने स्रोत चीनमा मात्रै सुरक्षित छ । 

कठोर ध्यान साधनामा जोड दिने उनको परम्परा बुद्धका एक प्रमुख भिक्षु महाकाश्यप महास्थविरसँग सम्बन्धित रहेको मानिन्छ ।

राजा सुगन्धका तेस्रो सन्तान उनले त्यही परम्परालाई ग्रहण गरेका थिए र गुरु प्रज्ञातरकै आदेशमा उनी चीन गएका हुन् । समुद्री मार्गबाट यात्रा गरेका उनलाई चीन पुग्न तीन वर्ष लागेको थियो ।

चीनको दक्षिणी समुद्र–तटको केन्टन बन्दरगाहमा पहिलो पल्ट उत्रेका उनलाई उत्तरी चीनका तत्कालीन राजा वू–तिले स्वागत गरेका थिए । बोधिधर्मको रूपरङ्ग तथा रहनसहन बेढङ्गको थियो र राजासँगको संवादमा पनि शिष्टता थिएन ।

यसपछि दरबार छाडेर चीनको वेई नामक राज्यमा गए र यसको राजधानी लो–याङको ‘शाश्वत शान्ति’ नामक बौद्ध विहारमा बसे । पाँचौं शताब्दीमा निर्मित यही विहार हाल ‘सावलिङ टेम्पल’ को नामले प्रसिद्ध छ ।

उनी यहाँ लामो समयसम्म ध्यान गरेर बसे र चान (ध्यान) सम्प्रदायकै स्थापना गरे । भारत तथा नेपालमा ध्यान सम्प्रदायको उल्लेख नभएबाट यो चीनमा बोधिधर्मबाट शुरू गरेको बुझ्न सकिन्छ । यही ‘चान’ बौद्ध धर्म जापानमा ‘जेन’ बौद्ध धर्मका रूपमा प्रसिद्ध छ । मार्सल आर्टको प्रादुर्भाव पनि उनीबाटै भएको मानिन्छ ।

सबै शाक्य एकै वंश होइनन्

चिनियाँ स्रोतले बुद्धभद्रलाई गौतम बुद्धको नातेदारको रूपमा देखाए पनि त्यो पुष्टि हुँदैन । ‘शाक्य’ शब्दले एउटा निश्चित कुलीन वर्ग, त्यो कुलीन वर्गको शासनसत्ता रहेको शाक्य गणराज्यका जनता र शाक्यमुनि (गौतम बुद्ध) को शिष्य जो कोहीलाई सङ्केत गर्न सक्छ ।

चीन पुग्ने बौद्ध भिक्षुद्वय बुद्धभद्र र बोधिधर्मको नाम उच्चारणमा स्पष्ट भेद पाइन्छ । यसमा नेपालीहरू मात्र नभएर अरू पनि झुक्किएको देखियो । वास्तवमा यी दुवै भिक्षुका बारेमा जानकारी दिने स्रोत चीनमा मात्रै सुरक्षित छ । 

प्रतिकृया दिनुहोस