समाचार बुधबार, मंसिर २५, २०७६

उपसभामुखले आफ्नो राजीनामा माग्नेसँग चित्तबुझ्दो जवाफ खोज्ने

सइन्द्र राई

उपसभामुखले आफ्नो राजीनामा माग्नेसँग चित्तबुझ्दो जवाफ खोज्ने

राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त अधिवेशन ४ पुसमा बोलाइएको छ । त्यस अगाडि नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कहिले राजीनामा गर्नेबारे भने निश्चित नभएको बताए । “उहाँले राजीनामा गर्नुहुन्छ । तर, यसबारे ठोस् केही निर्णय भएको छैन”, श्रेष्ठले भने ।

अहिलेसम्म उपसभामुखलाई राजीनामा गर्नेबारे औपचारिक जानकारी भने दिइएको छैन ।

'हिमालखबर' सँग प्रवक्ता श्रेष्ठले भने, “पार्टीले औपचारिक बैठकमार्फत् नै राजीनामाका लागि आग्रह गर्छ ।” श्रेष्ठको भनाइअनुसार, स्थायी कमिटी बैठककै छेका पारेर तुम्बाहाङ्फेलाई राजीनामाबारे आग्रह गरिने संभावना छ ।

उपसभामुख निर्वाचित भएसँगै पार्टी सदस्यबाट उपसभामुखले राजीनामा दिइसकेकाले नेकपाले निर्देशनको भाषा प्रयोग नगर्न सक्छ । 

बलात्कार अभियोग लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए यता संसदको नेतृत्व गरिरहेकी उपसभामुख तुम्बाहाङ्फे पनि पार्टीकै निर्णय भए राजीनामाका लागि तयार देखिन्छन् ।

तर, यतिबेला तुम्बाहाङ्फे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबाट वेवास्ता गरिएको बुझाइमा छिन्। त्यसैले पनि महराले गरेको गल्तीको सजाय आफू नभोग्ने अडान लिदै आएकी छन् ।

१४ असोजमा महराले राजीनामा दिएपछि तुम्बाहाङ्फेले धेरै पटक अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने प्रयास गरिन् । तर, दाहाल तयार भएनन् ।

“राजीनामा स्वीकृत गर्ने बेला केही परामर्श भएको थियो । त्यसपछि दुवै अध्यक्षसँग ठोस् कुरा समेत भएको छैन”, तुम्बाहाङ्फेको सचिवालयका एक सदस्यले भने ।

महराको राजीनामा स्वीकृत भएपछि तत्कालीन माओवादी तर्फका नेताहरु मार्फत् तम्बाहाङ्फेले दाहालसँग कुरा गर्ने प्रयास गरेकी थिइन् । तर, अहिलेसम्म सम्वाद हुन सकेको छैन । अध्यक्ष दाहालसँग कुराकानी हुन नसकेको उपसभामुख तुम्बाहाङ्फे स्वीकार्छिन् ।

अर्का, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने केही पटक उनको भेटवार्ता भएको छ । तर, ओलीले पनि ठोस् जवाफ दिएका छैनन् ।

सचिवालयका एक सदस्यका अनुसार, ओलीले तुम्बाहाङ्फेलाई ‘सभामुख माओवादीको कोटामा परेको छ” भन्ने उत्तर दिएर टार्ने गरेका छन् ।

एक अध्यक्षले प्रष्ट जवाफ नदिने र अर्काले भेटै नदिएकाले पनि उपसभामुख तुम्बाहाङ्फे बेवास्ता गरिएको बुझाइमा पुगेकाे देखिन्छ । त्यसैले पनि उनी राजीनामा गर्नुपर्ने चित्तबुझ्दो जवाफको खोजीमा छन् ।

'हिमालखबर' सँग तुम्बाहाङ्फेले भनिन्, “जसले मेरो राजीनामा माग्नुहुन्छ, मैले चित्तबुझ्दो जवाफ खोज्ने हो ।”

तर, अहिले संसदको कामकार्बाहीमै केन्द्रीत रहेको उनले बताइन् । “मलाई आफ्नो काम बारे थाहा छ, कहाँ कसले के अभिव्यक्ति दिदैछन् भन्ने तिर होइन”, तुम्बाहाङ्फे भन्छिन् ।

तर, राजीनामा नगर्ने सार्वजनिक अडानकै बीच पनि तुम्बाहाङ्फे अध्यक्षद्वयसँग छलफलका लागि बस्न राजी देखिन्छन् । “छलफलकै लागि बोलाउनु भए बस्छु, के कुरा उठ्छ थाहा पाउनु प¥यो नि ?”, उनले हाँस्दै भनिन् ।

सार्वजनिक चर्चा भए जस्तो, मन्त्रीका लागि प्रस्ताव र राजीनामाको आग्रह अस्वीकार केही नभएको तुम्बाहाङ्फे बताउँछिन् ।

प्रतिकृया दिनुहोस