टिप्पणी मंगलबार, मंसिर २४, २०७६

चमत्कारको चास्नीमा अन्ध–अनुयायी

शेखर खरेल

चमत्कारको चास्नीमा अन्ध–अनुयायी

धर्मको नाममा हुने कुकृत्यका निम्ति गुरुहरू मात्रै दोषी होइनन्, तिनका धरातल र ज्ञानको स्तर नहेरी ‘चमत्कार’मा विश्वास गर्नेहरू पनि उत्तिाकै भागीदार छन्।

सरकारी स्तरबाटै महिला हिंसा विरुद्ध १६ दिने अभियान जारी रहेकै वेला महिला हिंसाका एकपछि अर्को घटना सार्वजनिक भइरहेका छन् । परपीडक लोग्नेद्वारा श्रीमती पिटिनु, दाइजोपिपासु परिवारद्वारा बुहारी प्रताडित गरिनु, जागिर वा पदोन्नतिको आश र त्रासमा यौनशोषण वा कार्यस्थलमा यौन दुव्र्यवहार हुनु, यौनजन्य हिंसाका प्रचलित आयाम हुन् ।

जनचेतना र सहायता निकाय (हेल्पलाइन) मार्फत यस्ता खाले हिंसाको प्रतिरोध हुनसक्छ र पीडकलाई उत्पीडनको कसुरमा सजिलै कानूनको अधीनमा ल्याउन पनि संभव हुन्छ । यौनजन्य हिंसा मात्र नभएर बलात्कारका कतिपय यस्ता घटना पनि सतहमा आइरहेका हुन्छन्, जसमा पीडक अरू कोही नभएर समाजमा पुज्य मानिएका व्यक्ति नै हुने गर्दछन् ।

रामनामी ओढेका, निधारमा त्रिपुण्ड्र (शैव धर्मावलम्बीहरूले निधारमा लगाउने भष्मका तीन रेखा) दलेका र माला जपिरहेका सौम्य अनुहारको पर्दा एका–एक उघ्रिंदा उनीहरूलाई देवतासमान पुज्नेहरू नै अत्यधिक आहत हुन्छन् ।

अहिले यस्तै एक चेहराको चर्चा भइरहेको छ । सुनसरी चतरास्थित सिद्धबाबा धामका मठाधीश सिद्धबाबा कृष्णदासजी महाराज अर्थात् कृष्णबहादुर गिरीमाथि बलात्कारको किटानी जाहेरी संभवतः नेपालको सनातन हिन्दू परम्परामा उच्च हैसियत बनाएका कुनै पनि धर्मगुरुसँग जोडिएको सबैभन्दा ठूलो ‘सेक्स स्क्याण्डल’ हो । कृष्णदासकै एक अनुयायीले गएको ४ कात्तिकमा चतरास्थित आश्रममै बाबाले बलात्कार गरेको भन्ने जाहेरी दिएपछि प्रहरी अहिले कृष्णदासमाथि अनुसन्धान गरिरहेको छ ।

आरोप अनुसन्धानकै क्रममा रहेकाले कृष्णदासले बलात्कार गरेका थिए वा उनीमाथि मिथ्या आरोप लगाइएको हो ? अहिले नै निष्कर्ष निकालिहाल्नु हतारो र विधिको शासन विपरीत हुन्छ । आरोप सार्वजनिक भएसँगै आरोपकर्ता र आरोपित पक्षबाट जे–जस्ता सूचना बाहिरिएका छन्, त्यो भने उदेकलाग्दो छ ।

आरोपकर्ताले सार्वजनिक गरेको टेलिफोन रेकर्डिङमा कृष्णदासले आरोप स्वीकार्दै क्षमाको याचना मात्र गरेका छैनन्, अब उप्रान्त कुनै पनि महिलामाथि यस्ता क्रियाकलाप नगर्ने, बरु लिङ्ग नै काटेर फालिदिने प्रतिज्ञा गरेका छन् । उता कृष्णदास पक्षधर अर्थात् उनका अनुयायीहरूले भने टेलिफोन संवाद नक्कली दाबी गर्दै जाहेरीकर्ता महिला नै चरित्रहीन रहेको र बाबालाई फसाउने षडयन्त्र गरिएको दलिल राख्दै आएका छन् ।

आजका ‘कलियुगी’ स्वामी (सन्त होइन) गृह त्याग त गर्छन्, तर त्योभन्दा पनि ठूलो शक्ति संरचनाका लागि । अपरिग्रह रहनुपर्ने उनीहरू सुख र शक्तिको लालसाका कारण अनेकौं बन्धनबाट बाँधिन्छन् । उनीहरूमा रहेको तृष्णाको बीज त्यस शक्ति संरचनाका कारण यतिसम्म झङ्गिन्छ कि, उनीहरू वैराग त्यागेर विलासमा निमग्न हुन्छन् ।

रमाइलोचाहिं के भने जुन दिनबाट ती महिलाले कृष्णदासमाथि बलात्कारको उजुरी दिइन्, त्यसै बखतबाट कृष्णदास रक्षात्मक बन्दै आएका छन् । प्रहरीले नियन्त्रण लिनुपूर्व नै उनी अस्पताल भर्ना हुनु र एकपछि अर्को रोगको बहाना गर्दै पुर्पक्षका निम्ति थुनामा नजानुले शङ्काका निम्ति प्रशस्त ठाउँ दिएका छन् । बलात्कार भए/नभएको छिनोफानो ढिलोचाँडो हुने नै छ । कृष्णदासलाई शङ्का गर्नुको कारण उनकै पृष्ठभूमि हो, जो हरदम विवादित रहँदै आएको छ ।

२०६५ सालको रामनवमीका वेला उनी आठ मिटर गहिरो खाडलमा नौ दिनसम्म विना अक्सिजन भू–समाधिमा बस्दै त्यसरी नै आश्चर्यचकित पारे, जसरी दशकअघि ‘लिटल बुद्ध’ भनिने रामबहादुर बमजमले बारा जिल्लाको रतनपुरी जङ्गलमा १० महीना लामो निराहार तपस्या गरेका थिए । तपस्याबाट बमजम जस्तै कृष्णदासले पनि भू–समाधि मार्फत चर्चाको ‘माइलेज’ प्राप्त गरे । त्यसउप्रान्त कृष्णदासले सामान्य अनुयायी मात्र नभएर देशका शीर्ष नेतृत्वतहलाई आफ्नो चमत्कारले वशीभूत गर्न सफल भए ।

सुनसरी चतराको सार्वजनिक जग्गा राजनीतिक संरक्षणमा हडप्न मात्र होइन त्यहाँ विना नक्शापास निर्मित १२८ कोठे भव्य आश्रम राष्ट्रपतिबाटै उद्घाटन गराउन सफल भए । संयोग भनौं वा विडम्बना, कृष्णदास र बमजमबीच जस्तो समानता छ नियति पनि उस्तै देखिन्छ । ‘लिटिलबुद्ध’ भनिएका रामबहादुर हुन् वा ‘सिद्धबाबा’ भनिएका कृष्णबहादुर, दुवैको उदय चमत्कारका माध्यम भएका छन् भने पतनचाहिं बलात्कार (यद्यपि आरोप प्रमाणित भइसकेको छैन) का कारण हुँदैछ ।

सत्यको बदला सुख

सन्त स्वभावैले वितरागी हुन्छन् । वैराग्यभावका कारण नै उनीहरू व्यक्तिगत उपलब्धिलाई तिलाञ्जली दिंदै लोकहितका निम्ति अरण्य यात्रामा निस्कन्छन् । सन्तको खोजी सत्यतर्फ हुन्छ । त्यसैका निम्ति उनीहरूले सुखलाई तिलाञ्जली दिन्छन् ।

आजका ‘कलियुगी’ स्वामी (सन्त होइन) गृह त्याग त गर्छन्, तर त्योभन्दा पनि ठूलो शक्ति संरचनाका लागि । अपरिग्रह रहनुपर्ने उनीहरू सुख र शक्तिको लालसाका कारण अनेकौं बन्धनबाट बाँधिन्छन् । उनीहरूमा रहेको तृष्णाको बीज त्यस शक्ति संरचनाका कारण यतिसम्म झङ्गिन्छ कि, उनीहरू वैराग त्यागेर विलासमा निमग्न हुन्छन् ।

यो रामबहादुर र कृष्णबहादुर प्रतिनिधि पात्र रहेको बौद्ध र हिन्दू धर्मभित्रको विकृतिसँग जोडिएको समस्या मात्र होइन । पश्चिमी मुलुकका कैयन् इसाई विशप र कार्डिनलका ‘सेक्स स्क्याण्डल’ पनि हामी सुन्दै आएका छौं । धर्मको नाममा हुने यस्तो विकृतिजन्य कृत्यका निम्ति ती गुरुहरू मात्र दोषी छैनन् । तिनका दर्शन र भाष्यको स्तर नहेरी फगत चमत्कारको चास्नीमा डुब्ने अन्ध–अनुयायी पनि उत्तिकै दोषी छन् ।

प्रतिकृया दिनुहोस