टिप्पणी सोमबार, मंसिर २३, २०७६

साग, ‘भिक्ट्री’को भी र कृष्णसारको सिङ

डा. तीर्थबहादुर श्रेष्ठ

साग, ‘भिक्ट्री’को भी र कृष्णसारको सिङ
१३औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन समारोहमा प्रतीक चिह्न (मास्कट) लगाएर मार्च पास गर्दै । तस्वीर: बिक्रम राई

कृष्णसारका दुईवटा सिङ देख्दा खेलकुद प्रतिस्पर्धामा विजयीले ठड्याउने हातका माझी र चोरऔंलाको ‘भी’ अर्थात् ‘भिक्ट्री’ संकेत झैं लाग्छ।

डा. तीर्थबहादुर श्रेष्ठ

शिरका लामा दुई सिङलाई अंग्रेजी अक्षरको ‘भी’ आकारमा तेर्स्याई हातमा ओलम्पिक चिराग बोकेर दौड्दै गरेको कृष्णसार नामक हरिण १३औं दक्षिण एशियाली खेलकुद (साग) को प्रतीक हो ।

खेलकुद लगायतमा प्रयोग हुने यस्ता प्रतीक चिह्नलाई अंग्रेजीमा ‘मास्कट’ भनिन्छ । यसको शाब्दिक अर्थ छुक लगाउने शुभ–चिह्न हो । विभिन्न उत्सव एवं महोत्सवमा उत्साह र उमङ्ग थप्न मास्कट चयन गरिन्छ ।

नेपालका स्तनधारी वन्यजन्तुमध्ये कृष्णसार निकै दुर्लभ जनावर हो । यसको प्राकृतिक वासस्थान गर्मी भेगका समथर घाँसे मैदान दक्षिण एशियामा नै मानव अतिक्रमणमा परेका छन् । यस तृणहारी जन्तुलाई विभिन्न मांसाहारी जन्तुले शिकार गर्छन् ।

कानूनद्वारा संरक्षित यस दुर्लभ जन्तुलाई मानिसले पनि शिकार गरेर आफ्नो मांसाहारी तृष्णा शान्त गर्छन् । पहिला शिकारका सौखिन राजा, रजौटा र बादशाहहरू पनि यो दुर्लभ हरिणप्रति बढी आकर्षित थिए ।

कृष्णसार । तस्वीर: इन्टरनेट

केही वर्षअघि बलिउडका चर्चित नायक सलमान खानले राजस्थानको वनमा कृष्णसार शिकार गरेका कारण जेल जानु परेको थियो ।

खेलकुदको लोकप्रियतालाई उपयोग गरेर कृष्णसारलाई विशेष संरक्षण गर्नुपर्ने सन्देश प्रवाह गर्न सकिन्छ । तसर्थ यो दुर्लभ एवं मनमोहक प्राणीलाई १३औं सागको प्रतीक चिह्नको रूपमा प्रस्तुत गरेर संरक्षणको गौरवगाथा उजागर गरिएको छ ।

कृष्णसारको भाले वर्ग पोथीभन्दा आकर्षक हुन्छन् । भालेका दुईवटा आकर्षक सिङ हुन्छन् तर, पोथीका हुँदैनन् । कृष्णसारको सिङ लगभग दुई फुट (६० सेन्टिमिटर) ठडिएको हुन्छ तर, सोझाे वान्कीका हुँदैनन् । बीच–बीचमा थोरै बटारिएका हुन्छन् ।

सिङको फेददेखि टुप्पासम्म चक्की–चक्की परेको पेचकिला जस्तो घुमाउरो बुट्टा हुन्छ । यौन उत्तेजनामा टाउको ठाडो गरी छाती फर्काएर बस्दा ती सिङले झण्डै नितम्बसम्म छुन्छन् ।

कृष्णसार सीधा उभिंदा काँधसम्मको उँचाइ ७३ देखि ८३ सेन्टिमिटर हुन्छ, अर्थात् तीन फुटभन्दा होचा नै हुन्छन् । कृष्णसारको उँचाइ सामान्यतयाः दक्षिण एशियाली खेलाडीहरूको कम्मरसम्मको हुन्छ ।

कदमा सानो भए पनि कृष्णसारसँग दौडन पर्‍यो भने संसारका कुनै पनि धावकले जित्न सक्दैनन् । संसारमा सबैभन्दा छिटो वेगले कुद्ने प्राणी चितुवाले पनि कृष्णसारलाई सजिलै भेट्टाउन नसक्ने विश्व प्रसिद्ध वन्यजन्तु विशेषज्ञ ई.पी. गीले आफ्नो पुस्तकमा वर्णन गरेका छन् । चितुवा प्रतिघण्टा ११० किलोमिटरसम्म कुद्न सक्छ ।

कृष्णसारले निकै लामो छलाङ लाउन सक्छ । धावन मार्गमा दौड्दै गरेको हवाईजहाजले भुईं छोडे जत्तिकै गरी कृष्णसारहरू कुद्दै हावामा लामो छलाङ मार्छन् । कृष्णसारको छलाङलाई वन्यजन्तु अवलोकनको अनुपम दृश्य मानिन्छ ।

कृष्णसारका दुई भालेको जुधाइ पनि निकै रोमाञ्चक मानिन्छ । बटारिएका सिङहरू आपसमा जोल्टिएर गर्ने जुधाइ अनौठो खालको हुन्छ । जुधाइमा जित्ने भालेले आफ्नो मनचाहा पोथीसँग सहवास गर्न पाउँछ ।

कृष्णसारको शरीर रङ सज्जा अरू कुनै वन्यजन्तुसँग मिल्दैन । यो श्यामश्वेत रङको दुई पाटोमा विभाजित हुन्छ । गर्दनको तल्लो भागदेखि छाती, पेट र राजखानीसम्म सेतो हुन्छ । चारै खुट्टाको भित्री भाग पनि सेतो नै हुन्छ ।

भाले कृष्णसारको टाउको, पिठ्युँदेखि नितम्बसम्म तथा चारै खुट्टाको बाहिरी भाग कालो हुन्छ । कालो टाउकोमा आँखाको घेरा भने सेतो हुन्छ । पोथी कृष्णसार कालो हुँदैन । माथिल्लो भाग सामान्यतया हल्का पहेंलो वा खैरो हुन्छ । पेटतिरको भाग भने सेतो नै हुन्छ । श्यामश्वेतको यो सज्जाले कृष्णसारलाई टाढैबाट चिह्न सकिन्छ ।

पश्चिमी नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कृष्णसारको प्राकृतिक वासस्थान हो । मानिसले दक्खल नदिएको अवस्थामा कृष्णसारका बथानहरू २०–३० वा अझै धेरै संख्यामा विचरण गरेको देखिन्छ ।


तर आजभन्दा ५० वर्ष पहिले यो प्राणी नेपालबाट लोप प्रायः भइसकेको थियो । २०३२ सालतिर बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन कृष्णमान श्रेष्ठ, गेम स्काउट गगन सिंह तथा विश्व वन्यजन्तु कोष विशेषज्ञ इरोक डाइनरस्टाइनको टोलीले बर्दियाको खैरापुरमा नौ वटा कृष्णसार फेला पारेको थियो ।

त्यसलगत्तै संरक्षणकर्मीहरू कृष्णसारलाई नेपालमा पुनर्स्थापित गर्न जुटे । यथास्थानमा संरक्षण गर्नुका साथै राष्ट्रिय निकुञ्जहरू (बर्दिया तथा शुक्लाफाँटा) मा समेत स्थानान्तर प्रयास भए ।

२०६६ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत कृष्णसार संरक्षित क्षेत्र स्थापना भयो । लगभग १७ वर्ग किलोमिटरमा फैलिएको यस क्षेत्रमा २०७३ सालमा २५२ वटा कृष्णसार भेटिए । हाल कृष्णसारको संख्या ३०० हाराहारी पुगेको अनुमान छ । यस प्रकार विगत २५ वर्षको प्रयासले कृष्णसार संरक्षित भएको छ ।

कृष्णसारको संरक्षणमा सघाउ पुर्‍याउन सरकारले रु.१० को नोट र ५० पैसाको हुलाक टिकटमा यसको चित्र अङ्कित गरेको छ । अहिले आएर दक्षिण एशियाली खेलकुद महोत्सवको १३औं संस्करणमा प्रतीक चिह्नको रूपमा कृष्णसार चयन भएको छ ।

कृष्णसारका दुईवटा सिङ देख्दा खेलकुद प्रतिस्पर्धामा विजयीले ठड्याउने हातका माझी र चोरऔंलाको ‘भी’ अर्थात् ‘भिक्ट्री’ सङ्केत झैं लाग्छ । हातमा चिरागको ज्वाला बोकेको कृष्णसारको प्रतीक यस वर्षको साग मास्कटलाई अभिवादन ! 

 

प्रतिकृया दिनुहोस