सम्पादकीय बुधबार, मंसिर १८, २०७६

रापबाट तापको युग

किरण नेपाल

रापबाट तापको युग
बिजुली चुल्हाेमा खाना पकाइँदै ।

केही वर्ष अघिसम्म हप्तैपिच्छे नयाँ–नयाँ लोडसेडिङ तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले हालै एउटा सार्वजनिक आह्वान गर्‍यो– बिजुलीको उपभोग बढाऔं । लोडसेडिङको धङधङी बाँकी नै रहेको नेपाली समाजमा यो आह्वान कम चकित पार्ने खालको थिएन । तर, यो वास्तविकता थियो ।

देशभित्र क्रमशः वृद्धि भइरहेको विद्युत् उत्पादनसँगै यतिवेला प्राधिकरणलाई खपतको चिन्ता र चुनौती बढेको छ । प्राधिकरणका अनुसार, अहिले देशमा १२८० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । र, चालु आर्थिक वर्षको अन्त्यसम्ममा १००५ मेगावाट थपिंदैछ ।

यो नै एक हिसाबले विद्युत्को ‘छेलोखेलो’ अवस्था हो । तर कथं उपभोग अहिलेकै बिन्दुमा रहे प्राधिकरणको करीब १००० मेगावाट बिजुली खेर जाने देखिन्छ । यो त भयो एक वर्षभित्रै देखिने परिदृश्य ।

प्राधिकरणले विद्युत् खरीद सम्झाैता गरेका जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न हुने हो भने आगामी पाँच वर्षभित्रमा मुलुकमा विद्युत्को उत्पादन ६ हजार मेगावाटको हाराहारीमा पुग्नेछ । त्यो अवस्थामा विद्युत्को माग र आपूर्ति कसरी गर्ने ? अहिल्यैबाट योजना बनाउने जिम्मा पनि प्राधिकरणकै हो ।

अहिले हामीकहाँ प्रतिव्यक्ति वार्षिक विद्युत् खपत २४५ युनिट छ, जुन सन् २०२३ सम्ममा ७०० र २०२८ सम्ममा १५०० युनिट पुर्‍याउने लक्ष्य प्राधिकरणको छ । उत्पादन अनुसार बजार व्यवस्थापन गर्न नसक्ने हो भने प्राधिकरणले ठूलो घाटा व्यहोर्ने निश्चित छ ।

यस्तो अवस्थामा आफ्नै विद्युत् गृहहरू बन्द गर्नुपर्ने बाध्यतामा पनि प्राधिकरण पुग्न सक्छ । तसर्थ प्राधिकरणसँगको विकल्प जसरी हुन्छ विद्युत्को माग बढाउने नै हो । मागको तुलनामा आपूर्ति बढी भए वस्तुको मूल्य घट्ने अर्थशास्त्रको सामान्य नियम नै हो ।

बजारको एक्लो खेलाडी नै किन नहोस्, प्राधिकरण यतिवेला माग बढाउन मूल्य घटाउनेदेखि अनेकन् सिर्जनात्मक उपाय अपनाउने करबलमा छ । प्राधिकरणको त्यही रणनीतिको प्रमुख ‘अस्त्र’ हुनसक्छ, विद्युतीय चुल्होमा खाना पकाउने आग्रह ।

नेपाली भान्सामा चुल्होले कहिले प्रवेश पायो वा घरभित्रै चुल्हो कहिले बन्यो यकिन भन्न नसकिए पनि के आकलन गर्न सकिन्छ भने– भान्साको पवित्रतामा चुल्होले जहिल्यै उच्चासन पायो । छ्वाली, नर्कट, गुइँठा, दाउरा, गोल लगायतका वस्तुले बल्ने चुल्होको चमकधमकमा देशमा हुने राजनीतिक परिवर्तनले बदलाव ल्यायो ।

ठ्याक्कै भन्न नसकिए पनि २००७ सालको राजनीतिक परिवर्तन छेउछाउमै काठमाडौंका सम्भ्रान्तहरूले मट्टीतेल र यसबाट बल्ने लत्ती स्टोभ तथा २०१७–१८ सालताकादेखि दम दिने स्टोभको सुविधा उपभोग गर्न थालिसकेका थिए ।

क्रमशः राजधानीमा पढ्न र काम गर्न आउने डेरावालहरू मार्फत आम नागरिकको पहुँचसम्म आइपुगेको स्टोभ प्रयोगमा २०४० को दशकबाट भने एलपी ग्याँसले हस्तक्षेप गर्न थाल्यो ।

सरकारी तथ्याङ्क अनुसार अहिले कुल घरपरिवारका झण्डै एक तिहाइले एलपी ग्याँस प्रयोग गरिरहेका छन् । र, प्रत्येक ६ वर्षमा यसको खपत दोब्बर भइरहेको छ । पर्याप्त विद्युत् उत्पादन भइरहेको यहीवेला बिजुली चुल्होको प्रवर्द्धन शुरू गरिएन भने अहिले पनि दाउरा लगायतका इन्धन प्रयोग भइरहेका भान्सामा प्रवेश गर्ने भनेको एलपी ग्याँस नै हो ।

भनिरहनु परेन, एलपी ग्याँसको बढ्दो प्रयोग– नेपालको भारतसँगको व्यापार घाटा वृद्धिको प्रमुख स्थायी कारक हो । भान्सामा विद्युत्को अधिकतम उपभोगले अहिले भान्सामा राज गरेको एलपी ग्याँस पूर्ण रूपमा विस्थापित हुनेछ । त्यो भनेको वार्षिक झण्डै रु.३५ अर्बभन्दा बढी बचत हो । जुन रकमबाट १७५ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ ।

एलपी ग्याँसको बढ्दो प्रयोग– नेपालको भारतसँगको व्यापार घाटा वृद्धिको प्रमुख स्थायी कारक हो । भान्सामा विद्युत्को अधिकतम उपभोगले अहिले भान्सामा राज गरेको एलपी ग्याँस पूर्ण रूपमा विस्थापित हुनेछ ।

बिजुली चुल्होको प्रयोग, विद्युत् खपतको आर्थिक दृष्टिकोणले मात्र नभई सामाजिक, सांस्कृतिक रूपमै नेपाली समाजलाई अर्को तहमा उकास्ने माध्यम हुन सक्छ । दाउरा लगायतका इन्धनको प्रयोग गरिरहेका भान्सालाई एलपीमा नभई सोझै बिजुली चुल्होका लागि प्रेरित गर्नसके धुवाँबाट हुने दम, क्षयरोग जस्ता स्वास्थ्य समस्याबाट पार पाउन सकिन्छ ।

प्रदूषण नियन्त्रणमा पनि सहयोग पुग्छ । थप, दाउराभन्दा ग्याँस र ग्याँसभन्दा बिजुलीबाट छिटो, सस्तो र स्वास्थ्यमा भान्सा उम्काउन सकिन्छ । समय र पैसा दुवैको बचत हुन्छ ।

यो परिवर्तनले समग्रमा परिवारलाई नै लाभ भए पनि भान्सामा खटिन बाध्य अधिकांश नेपाली महिलाले ठूलो राहत पाउन सक्छन् । नजानिंदो हिसाबले बिजुली चुल्हो महिला सशक्तीकरणको सहयोगी बन्न सक्छ । लैङ्गिक, जातीयदेखि विभिन्न खाले विभेद कम हुनसक्छ ।

बिजुली चुल्हो प्रयोगसँगै नेपाली भान्सा रापको युगबाट तापको युगमा प्रवेश गर्छ । अर्थात् आगोको रापसँग साक्षात्कार गर्दै आएका नेपाली अदृश्य तापमा साक्षात्कार हुन पुग्छन् ।

तर नेपाली समाज रापबाट ताप अर्थात् आगोबाट बिजुली चुल्होमा अभ्यस्त हुन केही समय लाग्न सक्छ किनभने हिन्दू धर्मका पौराणिक ग्रन्थहरूमा अग्निदेवको लीला पढे, सुनेका र कतिपय धार्मिक संस्कारमै आगोको आवश्यकता अपरिहार्य ठान्ने पुस्ता जीवितै छन् ।

पशुपतिनाथ मन्दिर परिसरको ‘विद्युतीय शवदाह गृह’ संचालनमा शुरूआतमा देखिएको चुनौती यसका लागि एउटा गतिलो ‘केस स्टडी’ बन्न सक्छ । समाजमा बिजुली चुल्हो प्रयोगको समग्र मनोवैज्ञानिक प्रभाव कस्तो पर्ला, त्यो हेर्न बाँकी नै छ । तर; आर्थिक, सामाजिक, वातावरणीय प्रभाव भने निसन्देह असीमित लाभदायक छ । 

प्रतिकृया दिनुहोस