कला/साहित्य शनिबार, मंसिर १४, २०७६

अढाइ दशकको भूराजनीतिक दस्तावेज

विष्णु रिजाल

अढाइ दशकको भूराजनीतिक दस्तावेज

साढे दुई दशकयताको नेपालको राजनीति धेरै हिसाबले अविस्मरणीय छ । इतिहासको यो छोटो कालखण्डमै मुलुकमा माओवादी जनयुद्धको थालनी, दरबार हत्याकाण्ड, शान्ति सम्झौता, धर्मनिरपेक्षता, गणतन्त्र घोषणा, दुईपटकको संविधानसभा निर्वाचनपछि संविधान निर्माण, संघीय व्यवस्था अवलम्बन, माओवादी पार्टी विघटन जस्ता अहम् घटना भए ।

विष्णु रिजाल

पत्रकार सुधीर शर्माको पुस्तक द नेपाल नेक्ससः एन् इन्साइड अकाउन्ट अफ द माओइस्ट्, द दरबार एण्ड न्यू दिल्ली यही समयको राजनीतिक अभिलेख हो ।

शर्मा लिखित गैरआख्यान प्रयोगशाला को अंग्रेजी अनुवादका रुपमा आए पनि पुस्तकमा लेखकले कतिपय घटनालाई अलि फरक ढङ्गले व्याख्या गरेका छन् । केही नयाँ अध्याय थप्दै अद्यावधिक पनि गरेका छन् । त्यसैले नेपाली पुस्तक पढिसकेकालाई पनि यो अंग्रेजी संस्करण उपयोगी र सान्दर्भिक बनेको छ ।

लामो समयदेखि पत्रकारिता गरिरहेका र नेपालको प्रमुख दैनिक कान्तिपुर को सम्पादकका नाताले पनि प्राप्त हुने सुविधा र पहुँचलाई शर्माले आफ्नो पुस्तकको महत्वपूर्ण स्रोतका रुपमा उपयोग गरेका छन् । सूचना प्राप्ति र रोचक शैलीमा प्रस्तुत गर्न सक्ने अब्बल क्षमताकै कारण पत्रकारितामा फरक छवि बनाएका उनले पुस्तकमा आफ्नो रिपोर्टिङको विस्तृतीकरणलाई थप विश्लेषण सहित पस्केका छन् ।

शीर्षकमै खुलाइए झैं द नेपाल नेक्सस मा माओवादी, राजा र भारतको भूमिकाका रहस्य खोतलिएका छन् । नेपालमा भारतको भूमिका इतिहासदेखि नै विवादास्पद र आलोचित रहँदै आएको छ । लेखककै शब्दमा नेपालमा ‘माइक्रो–म्यानेजमेन्ट’ गर्ने र ‘नियन्त्रित अस्थिरता’ चाहने भारतको नियतका कारण ठूला राजनीतिक परिवर्तन मात्र होइन, स–साना कुरामा पनि भारत तानिने गरेको छ ।

राजा ज्ञानेन्द्रले चालेका आत्मघाती र संविधानविरोधी घटनाक्रमहरूलाई बेवास्ता गर्नेहरू भारतकै कारण नेपालमा राजतन्त्र समाप्त भएको विश्लेषण गर्न पछि पर्दैनन् ।

राणाहरूको पञ्जाबाट फुत्किन राजा त्रिभुवन सन् १९५० मा अढाइ वर्षका नाति ज्ञानेन्द्रबाहेक सपरिवार दिल्ली गएपछि उनी मात्र शक्तिशाली भएर फर्केनन्, भारत पनि नेपालमा शक्तिशाली भएर पसेको पाइन्छ । यतिसम्म कि उनका निजी सचिव समेत भारतबाटै आए । पुस्तकमा यो ऐतिहासिक घटनाक्रमदेखिको दरबार र दिल्लीबीचको सम्बन्ध समेत केलाइएको छ ।

पुस्तकमा भारतका विभिन्न अनुहार बारे पनि चर्चा गरिएको छ । भारतको आधिकारिक काम हेर्दा उसले चाहे झैं हुँदो हो त नेपालबाट राजतन्त्र जाने नै थिएन । २०६३ वैशाख ७ मा भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूतका रुपमा डा.करण सिंह राजतन्त्र जोगाउन नेपाल आएका थिए र दलका नेताहरूलाई फकाउँदै राजाले वैशाख ८ मा जारी गरेको वक्तव्य स्वीकार्न अनुरोध गरेका थिए ।

यदि त्यो वक्तव्य दलहरूले स्वीकारेको भए न वैशाख ११ को वक्तव्य आउनेथियो, न राजतन्त्र विदा नै हुनेथियो । त्यसैले नेपालको राजतन्त्र भारतले हटायो भन्नु ज्ञानेन्द्रका आत्मघाती कदम, सडकमा उत्रिएका जनता, निरन्तर चिढिएका राजनीतिक दल र परिवर्तनकामीलाई उपेक्षा गर्नु हो, आफ्नो बलबुतामाथि नै अविश्वास र अन्याय गर्नु हो । पुस्तकमा यी पक्षहरूबारे पनि चर्चा गरिएको छ ।

अंशलाई समातेर पूर्ण निष्कर्ष निकाल्ने कामले जनमतलाई दिग्भ्रमित पार्दछ। गोप्य स्रोतहरूको उपयोग गर्दा लेखकले यसमा पक्कै पनि ध्यान पुर्‍याएकै हुनुपर्छ। किनभने त्यस्ता स्रोत दुई धारे तरबार हुन्, जसले कसैलाई पनि प्रयोग गर्न बाँकी राख्दैनन्।

पुस्तकमा सबभन्दा बढी माओवादी जनयुद्धका बारेमा चर्चा गरिएको छ । नेपालमा कम्युनिष्टहरूले शुरुदेखि नै उठाउँदै आएको विषय राष्ट्रियता हो, जुन भारतसँग जोडिएको छ । माओवादी जनयुद्ध कसरी क्रमशः भारतको योजना र नियन्त्रणमा पुग्यो भन्ने कुरा लेखकले उजागर गरेका छन् ।

माओवादी नेताहरूको भारतसँगको रहस्यमय बसउठ र खुशामदलाई पुस्तकमा तथ्य र मितिसहित उल्लेख गरिएको छ । ‘सिन एण्ड अनसिन एक्टर्स’ शीर्षकको यो अध्याय पढ्दा कुनै जासूसी उपन्यासको अंश जस्तो लाग्छ ।

माओवादी नेताहरूका पटक–पटकका मलेशियादेखि हङकङसम्मका भ्रमण, सांसद किन्न विदेशीसँग रकम मागेका प्रसङ्ग, भारतीय प्रधानमन्त्री कार्यालयमा बुझाइएको पत्र, भारतीय गुप्तचर संस्थाको रोडम्याप अनुसार अघि बढाइएका कदम, अरुलाई कठपुतली भनेर लगाइएका आरोप जस्ता कुराले माओवादी र भारतबीचको प्रेम र घृणाको बहुआयामिक सम्बन्धलाई पुस्तकले अभिलेखबद्ध गरेको छ । यसबाट धेरै ‘पहेली’ हरू पटाक्षेप गरिएको छ ।

नेपालको संविधानमा भारतको चूक पनि पुस्तकको अहम् विषय हो । संविधान जारी हुने अन्तिम घडीमा भारतले विदेश सचिव एस. जयशड्ढरको नेतृत्वमा मिसन पठाउनु, संविधान जारी भइसकेपछि स्वागत नगरेर ‘नोट’ मात्र गर्नु र पछि नाकाबन्दी लगाउनु भारतका तीन गल्ती भएको लेखकको निष्कर्षमा दुईमत छैन । त्यही कारण भारतले नेपालमा आफ्नो छवि धमिल्याएको र भारतविरोधी भावना बढेको लेखकको मत छ ।

भारत मात्र होइन, संविधान जारी गर्ने वेला लेखक शर्मा स्वयम् पनि चुकेका थिए । शर्माले आफू कार्यरत पत्रिका कान्तिपुर मा विशेष सम्पादकीय लेख्दै संविधान तत्काल जारी नगर्न आग्रह गरेका थिए । यदि दलहरूका बीचमा सहमति भएको त्यो वेला पनि संविधान जारी नगरे दोस्रो संविधानसभाको भाग्य पनि पहिलोको जस्तै हुने सबैलाई भय थियो ।

संविधानलाई विवादित बनाउन अरु कुनै कारण नपाएर ‘फास्ट ट्र्याक’ बाट जारी गरिएको काइते कुरा गर्ने गरिन्छ । औपचारिक रुपमा नै २०६४ सालबाट शुरु भएर २०७२ सालमा संविधान जारी हुँदाको ६ वर्षको समयलाई महत्व नै नदिएर ‘आठ घण्टामा संविधान जारी गरियो’ भन्ने कुराबाट लेखक पनि प्रभावित भएको पाइन्छ ।

५९८ सदस्यमध्ये ५३२ उपस्थित रहेर र तीमध्ये ५०७ अर्थात् ८९ प्रतिशतले मतदान गरेर निर्माण गरेको संविधानलाई ‘सबैको सहभागिता भएन’ भन्नु भारतको गम्भीर भूल थियो भन्ने कुरा त्यसयताका घटनाक्रमहरूले पुष्टि गरेका छन् ।

आज नेपालमा चीनको प्रभाव बढ्यो, सरकार चीनतिर ढल्कियो, भारतलाई उपेक्षा गरियो भनेर रोईकराई गर्नेहरूले नेपाल र नेपाली जनताले ऐतिहासिक निर्णयका वेलाको भारतीय भूमिकालाई सम्झना गर्नैपर्छ । त्यतिवेलाका घटनाक्रमलाई लेखकले सविस्तार पुस्तकमा उल्लेख गरेर भोलिका लागि पनि उपयुक्त सन्दर्भ सामग्री सुरक्षित गरेका छन् ।

भारतलाई निकै महँगो र प्रत्युत्पादक सावित भएको नाकाबन्दीका बारे चाहिं लेखकले मसिना विवरण समावेश गरेका छन् । सीमामा अवरोध भएकाले मालबाहक सामानहरू नेपाल प्रवेश गर्न सकेनन् भन्ने भारतीय दाबी कति हास्यास्पद थियो भन्ने कुरा पछि भारतले चाहनेवित्तिकै ‘आन्दोलनकारी’ हरूलाई समेत थाहै नदिई वीरगञ्ज नाकाबाट धमाधम ट्रकहरू नेपाल प्रवेश गरेबाट थाहा हुन्छ ।

नाकाबन्दी प्रकरणमा नेपाल तथा भारतमा भएका सम्पूर्ण घटनाहरू केलाउँदा नेपाल–भारत सम्बन्धमा नाकाबन्दीले पारेको नकारात्मक प्रभाव दुई चार वर्ष होइन, दुई चार दशकसम्म पनि कम हुने अवस्था देखिंदैन । मधेशी दलहरूले नेपालमा भारतलाई कति अलोकप्रिय र आलोचित बनाउँदैछन् भन्ने कुरा यसबाट पनि देखिन्छ ।

पहिलोपटक मधेशीहरूलाई ‘मधेशी’ भनेर पहिचान दिने, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्ने र सबै हिसाबले भारतको भन्दा प्रगतिशील र अग्रगामी संविधान जारी हुँदा पनि हालसम्म भारतले नेपालको संविधानको स्वागत नगर्नु ‘आफ्ना मूल’ का मानिसप्रति चिन्ता मात्र होइन, नेपालमा सूक्ष्म व्यवस्थापन गर्ने योजनाको ‘असफलताको पीडा’ हो भन्नु अन्याय हुँदैन ।

माओवादी नेताहरूको भारतसँगको रहस्यमय बसउठ र खुशामदलाई पुस्तकमा तथ्य र मितिसहित उल्लेख गरिएको छ । ‘सिन एण्ड अनसिन एक्टर्स’ शीर्षकको यो अध्याय पढ्दा कुनै जासूसी उपन्यासको अंश जस्तो लाग्छ ।

पुस्तक तयार पार्दा पत्रकार शर्माले खुला र गुप्त दुवै सूचनाहरूलाई त्यत्तिकै महत्वका साथ प्रयोग गरेका छन् । राजनीतिका बाहिरी आयामहरू बारे मात्र जानकारी हुनेहरूलाई यो पुस्तक जासूसी उपन्यास जस्तो लाग्छ भने कतिपय पात्रहरूका लागि आफू कसरी प्रयोग भएको रहेछु भन्ने पनि थाहा हुन्छ ।

यति हुँदाहुँदै पनि नेपालमा भारत र उसको खुफिया एजेन्सीले चाहे अनुसार नै सबै कुरा हुन्छ भन्नु नेपाल राष्ट्रलाई थप कमजोर बनाउनु हो । लेखकले उल्लेख गरे झैं अनेक भारतमध्ये कुनैको एउटा चाहना हुन सक्छ र समयक्रममा त्यो व्यवहारमा देखिन पनि सक्छ तर त्यतिकै आधारमा ‘फलानाले बनाएको रोडम्याप अनुसार नै नेपालमा सबै काम भयो’ भन्नु ‘आँखा चिम्म गरेर हात्ती छाम्नु’ जस्तै हुन्छ ।

अंशलाई समातेर पूर्ण निष्कर्ष निकाल्ने कामले जनमतलाई दिग्भ्रमित पार्दछ । गोप्य स्रोतहरूको उपयोग गर्दा लेखकले यसमा पक्कै पनि ध्यान पुर्‍याएकै हुनुपर्छ । किनभने त्यस्ता स्रोत दुई धारे तरबार हुन्, जसले कसैलाई पनि प्रयोग गर्न बाँकी राख्दैनन् ।

सही समयमा सही निर्णय लिन सक्दा वा नसक्दा पात्रहरूको भूमिका कसरी सफल र असफल हुन्छ भनेर लेखक शर्माले पुस्तकमा उल्लेख गरेका विवरणहरूबाट प्रष्ट हुन्छ ।

लेखक सुधीर शर्मा । तस्वीर : पुस्तकबाट साभार\गेट्टी इमेजेज् 

संविधान जारी गर्ने वेलामा ‘फास्ट ट्र्याक होइन, डबल फास्ट ट्र्याकबाट भए पनि जारी गर्नुपर्छ’ भनेर दृढतापूर्वक उभिएका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संविधान जारी भइसकेपछि पार्टीभित्रैबाट विरोध हुँदाहुँदै पनि प्रधानमन्त्रीका उम्मेदवार बनेर आफैं प्रधानमन्त्री हुँदा जारी गरेको संविधानको स्वामित्व लिन सकेनन् ।

त्यस्तै भारतसँग लामो समय राम्रो सम्बन्ध कायम गरेका केपी शर्मा ओली चाहिं संविधान निर्माण र त्यसपछि निरन्तर दृढतापूर्वक संविधानका पक्षमा उभिएर भारतसँग टक्कर लिन सफल भए । यी दुई नेताका विगतसँग वर्तमान मेल नखाँदा फरक सार्वजनिक छवि निर्माण हुनपुग्यो ।

पुस्तकमा एकप्रकारले केन्द्रीय व्यक्तित्वका रूपमा रहेका पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई बुझ्नका लागि पनि पुस्तक महत्वपूर्ण छ । भारतीय गुप्तचर संस्थासँगको पुरानो हिमचिमका कारण भट्टराई मार्फत एसडी मुनीले अघि बढाएका प्रयासको प्रकाशमा हेर्दा उनी अहिले पनि त्यस्तै केही कारणले आफ्नै इतिहासलाई ललकार्दै मधेशीहरूको लहरमा उभिन पुगेका होलान् भन्ने अनुमान गर्न सकिन्छ ।

नेपाल नेक्सस पढेर सम्भवतः कुनै पनि शक्ति र शक्ति केन्द्रहरू खुशी नहोलान् । किनभने यसभित्र उनीहरूले गरेका तर सार्वजनिक नहोस् भन्ने चाहेका कतिपय घटना सार्वजनिक भएका छन् ।

पुस्तक एकसरो हेरिसक्दा आफैंले आँखा चिम्लिनुपर्ने कतिपय विषय र सन्दर्भहरू अंग्रेजीभाषीले थाहा नपाइदिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ । तर, गर्नेहरूले गरिसकेपछि थाहा पाउनेले लेख्न पाउनुपर्छ । पर्दाभित्र जस्तोसुकै काम गर्न पछि नहट्ने प्रवृत्तिलाई ‘एक दिन पर्दा उठ्छ’ भनेर सम्झाउन पनि पुस्तक उपयोगी छ ।

पुस्तकमा समावेश भारत, दरबार र दिल्लीको भूमिकादेखि यसमा समावेश पात्रहरूका बारेमा लेखकको विश्लेषणमा सहमत हुनैपर्छ भन्ने छैन । यी तीन पक्षलाई महत्व दिएर नेपालको मूलधारका राजनीतिक दलहरूलाई कम आँकेको भन्न पनि सकिन्छ ।

पत्रकारितामा भन्ने गरिए झैं जे अनौठो छ, त्यसलाई महत्व दिइने भएकाले शायद लेखकका नजरमा खेलको नियमभित्र रहेर शान्तिपूर्ण र खुला राजनीति गरिरहेकाहरू कम महत्वमा परेका हुनसक्छन् ।

समग्रमा पुस्तक समकालीन राजनीतिका भित्री र बाहिरी पाटाहरूलाई अभिलेखबद्ध गर्न सफल छ । यसै पनि नेपाल बाहिरबाट नेपाली लेखकका पुस्तकहरू कमै निस्किने गरेकोमा ५२१ पृष्ठको यो मोटो पुस्तक भारतको ‘पेन्गुइन’ प्रकाशनबाट प्रकाशित हुनुलाई सुखद पक्ष मान्नुपर्छ ।

पुस्तक– द नेपाल नेक्ससः एन् इन्साइड अकाउन्ट अफ द माओइस्ट्, द दरबार एण्ड न्यू दिल्ली
लेखक– सुधीर शर्मा, प्रकाशक : पेन्गुइन र्‍यान्डम हाउस भारत, पृष्ठ : ५२१+२०, मूल्य : रु.११२०

प्रतिकृया दिनुहोस