ब्लग शनिबार, मंसिर १४, २०७६

‘च्याकुल्झ्याइँ’ विरुद्ध अभियान

कनकमणि दीक्षित

‘च्याकुल्झ्याइँ’ विरुद्ध अभियान
ढाडमा चोट लागेपछि बिरामीलाई उठाउने सही र गलत तरिका । तस्वीर सौजन्यः स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र, काभ्रे

रूख, कान्ला, भीर, भर्‌‌याङ्ग वा छतबाट जब कोही खस्दछ, लड्दछ, ऐया ऐया भन्दै, उठ्न सकिरहेको हुँदैन...

त्यो वेला हामी के गर्छौं त ? अक्सर बिरामीलाई हत्तपत्त उठाउनतर्फ लाग्छौं, हातखुट्टा समाउँछौं, लतार्दै, झुण्ड्याउँदै यत्र–तत्र दौडाउँछौं। एम्बुलेन्स आउन सक्ने ठाउँसम्म लग्छौं, नत्र स्वास्थ्यचौकीतर्फ दौडाउँछौं — डोको, स्ट्रेचर, डोलीमा या बुई चढाएर।

मुख्यतः बिरामीको सुरक्षित स्थानान्तरण भन्दा पनि चिन्ता, सहानुभूति, अग्रसरता र क्रियाशीलता देखाउन हामी तम्सिएर लडेकालाई ‘लछार–पछार’ गर्छौं। जान्नेहरू, बिरामीलाई जस्ताको तस्तै अवस्थामा राखेर, जाडो छ भने ओढ्ने–खास्टो ओढाइदिएर, ठण्डा दिमागले उद्धारको तरिका सोच्न सुझाउँछन्। अधिकांश ठाउँमा प्राथमिक उपचारका लागि तालिमप्राप्त व्यक्ति नपाइने भएकोले पनि हामी आफैंले के गर्ने, के नगर्ने सोचेको, बुझेको नै बेस।

कनकमणि दीक्षित

अग्लो ठाउँबाट लडेर (‘फल फ्रम हाइट’) पीडित उठ्न सकेको छैन, हात या खुट्टा या हात–खुट्टा चलाउन सकिरहेको छैन भने उसको मेरुदण्डमा चोट लागेको अनुमान गर्नुपर्छ। यसको अर्थ ढाड (‘स्पाइनल कलम्’) को एक या एकभन्दा बढी हड्डी (‘भर्टेब्रे’) भाँचिएको हुनसक्छ।

यसरी भाँचिंदा स्पाइनल कलमभित्र रहेको ‘स्पाइनल कर्ड’ (मेरूदण्ड — स्नायुहरूको मुठा जसले मस्तिष्कबाट सर्वत्र अङ्गहरूलाई निर्देशित गर्दछ) लाई छिनाइदिन्छ। ढाडको तल्लो भागमा चोट छ भने खुट्टा नचल्ने हुनसक्छ। ढाडको जति माथि चोट लाग्यो उत्ति नै बढी अङ्गहरू नचल्ने जोखिम हुन्छ, हात चलाउन नसक्नेदेखि दिसा–पिसाबमा अवरोध, बोली बन्द हुने र सासै फेर्न नसक्नेसम्म।

‘स्पाइनल इन्जरी’ को घातक चरित्र यही हो कि सद्दे मानिस एकाएक आंशिक या पूर्ण पक्षघातको अवस्थामा पुग्दछ। र यो पनि, कि स्नायु या पूरै मेरुदण्ड छिनालिंदा यसको औषधि या उपचार छैन ।

पक्षघातको अवस्था उल्टाउन सक्ने भरपर्दो इलाज आजसम्म चिकित्सा विज्ञानले दिनसकेको छैन। गर्न सकिने भनेको मेरूदण्ड भाँचिएको व्यक्तिको ढाडलाई स्थिर बनाउनु (‘स्टाबिलाइज्’ गर्नु) र ‘फिजियोथेरापी’ र ‘अकूपेशनल थेरापी’ द्वारा जीवन निर्वाह गर्न सिकाउनु हो।

यसकारण पनि दुर्घटना पीडितलाई ध्यानपूर्वक, संवेदनशील ढङ्गबाट स्थानान्तरण गर्नु भनिएको हो। बिरामीको जीउलाई चल्न नदिई गर्धनलाई बाक्लो कपडाले बेरेर ‘ब्रेस’ गर्नुपर्छ, अनि काठ या प्लाष्टिकको धेरै नलच्किने खालको स्ट्रेचरमा राखेर डाक्टरकहाँ पुर्‌याउनुपर्छ।

यसो नगर्ने हो भने लडेर, खसेर जति चोट लागेको हुन्छ, त्योभन्दा बढी स्वास्थ्यचौकी या अस्पताल लैजाने क्रममा लाग्न सक्छ। मानौं, रुखबाट जमीनमा बजारिंदा बिरामीको भर्टेब्रे चर्केको छ, तर मेरुदण्ड सद्दे छ। च्याकुल्झ्याइँ गर्दै यताउता दौडाउँदा भने भाँचिएको ठाउँको मेरुदण्डको मूल स्नायु नै काटिन सक्छ — जसले आंशिक या पूर्ण पक्षाघात बनाउँछ।

अचेल परम्परागत दुर्घटना (जस्तै रुखबाट लडने या भीरबाट खस्ने) को अनुपातमा ‘आधुनिक दुर्घटना’ (सवारी दुर्घटना, औद्योगिक दुर्घटना र भवन निर्माणका क्रममा हुने दुर्घटना) बढेको छ। थपिएको चुनौती सामना गर्न प्राथमिक उपचार र ‘फस्र्ट रेस्पन्डर’ क्षमता बढाउनु जरुरी भइसकेको छ। जतिवेलासम्म गाउँगाउँमा प्राथमिक उपचारको क्षमता बढ्दैन, आमनागरिक नै ‘च्याकुल्झ्याइँ प्रवृत्ति’ बारे सचेत हुनुपर्नेछ ।

स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र (भैंसेपाटी, काभ्रे) का विशेषज्ञका अनुसार दुर्घटनामा परेका धेरै बिरामीको मेरुदण्डको चोट ढङ्ग नपुर्‍याई गरिएको स्थानान्तरणका कारण थपिएको हुन्छ । अज्ञानताले हामीलाई बिरामीको पीडा बढाउने माध्यम बनाइदिन्छ । सहयोग र उद्धारको पवित्र कर्ममा लाग्दालाग्दै हामी बिरामीलाई चोट थपिरहेका हुन्छौं ।

दुर्घटनापछि भुईंमा लडेका बिरामीलाई च्याकुल्झ्याइँ गर्नु गलत हो । यस्तो कहिल्यै नगरौं ।

 

 

प्रतिकृया दिनुहोस