टिप्पणी शुक्रबार, माघ २५, २०७५

सगरमाथा छिचाेल्दै आउँछन् खाेया हाँस

कमल मादेन

सगरमाथाभन्दा माथिको उँचाइमा उड्न सक्ने विचित्रको पक्षी बार–हेडेड गूजको महत्ताा बुझ्न नसक्दा हामीकहाँ यसको वासस्थानको वातावरण लगायतमा ध्यान पुगेको छैन।

कोशी टप्पुमा बार–हेडेड गूज। तस्वीर: स‌ंजय था


बढी उँचाइमा जीवजन्तुलाई आवश्यक पर्ने अक्सिजन र तापक्रम अत्यन्त न्यून हुन्छ। तर, खोयाहाँस (बार–हेडेड गूज) सगरमाथाको चुचुरोभन्दा माथिबाट उड्ने गरेको जानकारीले विश्वका चरापे्रमीलाई आश्चर्यमा पारेको छ। त्यति उँचाइमा चराले श्वासप्रश्वास कसरी गर्न सक्छ भन्ने कुरा कौतूहलको विषय बनेको छ। यस अर्थमा खोयाहाँस प्रकृतिको अद्भुत पक्षी हो। संसारभरका चराप्रेमी बार–हेडेड गूजलाई सगरमाथाभन्दा माथिबाट उड्न सक्ने एक मात्र पक्षी भनेर चिन्छन्। हामीकहाँ भने यसबारे कमै जानकारी छ।   

चराविद् एरेन्ड वान रिस्सेनले खोयाहाँस काठमाडौंको टौदह नजिक वागमती नदीमा भेटिएको बारे गएको पुसको अन्तिम साता सामाजिक सञ्जालमा तस्वीरसहित पोस्ट गरेका थिए। उक्त पक्षीको गन्तव्य काठमाडौं उपत्यका होइन, समथर भूभागका सिमसार क्षेत्रहरू हुन्। वागमतीमा यसको तस्वीर खिच्ने सुरले जाँदा त्यो दिन कतै भेटिएन। २ माघको बिहान पुनः टौदह नजिक वागमतीमा चहार्दै गर्दा टाढैबाट सारस जस्तो अग्लो एक चरा देखियो। क्यामेराको जुमबाट हेर्दा त्यो बार–हेडेड गूज नै रहेछ। टाढैबाट धेरै तस्वीर खिचें। अलि नजिक गई तस्वीर खिच्न लाग्दा उड्यो र केही बेर आकाशमा फन्का लगाएर अलि पर गएर बस्यो। प्रायः बथानमा देखिने खोयाहाँस वागमती नदीमा भने एक्लो थियो।

टौदह नजिकै वागमतीमा देखिएको खोयाहाँस। तस्वीर: कमल मादेन


खोयाहाँसको आकार घरपालुवा राजहाँस जत्रै हुन्छ। शरीर चाँदीजस्तो सेतो तर थोरै खैरो रङको हुन्छ। टाउको तथा घाँटीको एकतिहाइ भाग सेतो, टाउकोमा दुई वटा कालो धर्सा र आँखा कालो हुन्छ। वयस्क नभएका खोयाहाँसमा काला धर्साहरू देखिंदैनन्। खुट्टा हल्का पहेंलो हुन्छ। पखेटाको टुप्पो हल्का कालो हुन्छ। प्रायः खोला किनारमा देखिने यो पक्षी घाँसे चौरमा पनि चर्ने गर्छ।

एक अनुसन्धानात्मक लेख अनुसार खोयाहाँसले विशेष गरी मंगोलिया, चीन र तिब्बतमा बच्चा कोरल्छ। ‘जियोग्राफिक भेरिएसन इन बार–हेडेड गूज, एन्सर इन्डिकसः कनेक्टिभिटी अफ विन्टरिङ एरियाज एण्ड ब्रिडिङ ग्राउन्ड्स एक्रस अ ब्रोड फ्रन्ट’ (सन् २००९) शीर्षकको लेख अनुसार हिउँदमा भने यो प्रायः भारतका सिमसार क्षेत्रमा पुग्छ। साथै; नेपाल, म्यान्मार र पाकिस्तानमा बस्छ।

नेपाल र भारतको केही भूभागमा पुग्ने खोयाहाँस सगरमाथाको शिर भएर यता भित्रिन्छ। त्यति उँचाइबाट उड्न सक्ने क्षमता हुनुमा उक्त पक्षीको शारीरिक संरचना विशेष प्रकृतिको पाइएको छ। यस सम्बन्धी लेखिएका अनुसन्धानात्मक लेखहरूका अनुसार यो पक्षीले अत्यन्त कम अक्सिजनमा पनि सहज रूपमा सास फेर्न सक्छ र कम अक्सिजनबाटै शरीरलाई आवश्यक शक्ति प्राप्त गर्छ।

 नारायणीमा घट्यो, कोशीमा बढ्यो

सन् २००९ जनवरीमा चितवन राष्ट्रिय निकुञ्जको जंगल आइल्यान्ड रिसोर्टमा जाँदा नारायणी नदीमा करीब २०० को संख्यामा खोयाहाँस देखिएका थिए। स्वदेशी तथा विदेशी पर्यटकले खोला किनारमा खोयाहाँस चरेको दृश्य निकै चाखपूर्वक हेरेका थिए।

चितवन राष्ट्रिय निकुञ्जभित्र नारायणी नदी किनारमा बार–हेडेड गूज। तस्वीर: कमल मादेन


देशभरको सिमसार क्षेत्रको चरा गणना हरेक वर्ष जनवरी ५ देखि २० सम्म हुँदै आएको छ। नारायणी नदी र आसपासका सिमसारमा यो वर्ष ‘टाइगर टप थारु भिलेज रिसोर्ट’ को अगुवाइमा चरा गणना भएको थियो। उक्त रिसोर्ट सम्बद्ध डीबी चौधरीका अनुसार यो वर्ष नारायणीमा करीब ५०० खोयाहाँस देखिएका थिए। केही वर्षअघि त्यहाँ करीब ७०० खोयाहाँस आएका थिए। सन् २०१८ सम्मको आँकडा अनुसार नेपालमा सबैभन्दा बढी खोयाहाँस चितवन राष्ट्रिय निकुञ्जमा पाइने जानकारी थियो।

काठमाडौं उपत्यकामा खोयाहाँस दुर्लभ पक्षी हो। उपत्यकाको सिमसार क्षेत्रमा यो पक्षी नदेखिए पनि यहाँको आकाशबाट उत्तर–दक्षिण उड्ने गरेको बताइन्छ। एरेन्ड वान रिस्सेनले वागमती नदी र टौदह क्षेत्रमा विगत १७ वर्षदेखि चराबारे अध्ययन गर्दै आएका छन्। रिस्सेनको पुस्तक ‘दी बर्ड्स अफ वागमती एन्ड टौदह एरिया, २००३–२०१६’ (सन् २०१७) अनुसार, वागमती र टौदह क्षेत्रमा बार–हेडेड गूज सन् २००३ देखि २०१३ सम्म जम्मा सात पटक देखिएको थियो।

यस वर्ष कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रमा कोशी पक्षी समाजको अगुवाइमा चरा गणना भयो। बर्ड वाचिङ गाइड सुवास भुजेलले कोशी ब्यारेजदेखि उत्तरतर्फ कुसाहा आसपासको क्षेत्रमा खोयाहाँस बढी मात्रामा पाइने बताए। त्यहाँ यो वर्ष करीब १२०० खोयाहाँस गणना गरिएको थियो। आरक्षमा यसअघि यति ठूलो संख्यामा खोयाहाँस कहिल्यै पाइएको थिएन। सप्तकोशी सामुदायिक होमस्टे, प्रकाशपुरका अनिश तिम्सिनाका अनुसार, यसअघि आरक्ष क्षेत्रमा बढीमा करीब १०० खोयाहाँस देखिएका थिए।

कोशी टप्पु बर्ड वाचिङ क्याम्पका प्रोप्राइटर सञ्जय था श्रेष्ठले गणनाका क्रममा खोयाहाँसको तस्वीर मनग्य खिचे। यो हाँस निकै चलाख हुने भएकाले नजिकै पुगेर तस्वीर खिच्न सकिन्न। यस्तै, मानिसको चहलपहल हुने स्थानमा खोयाहाँस बस्न रुचाउँदैन। ५–६ माघमा कोशी टप्पु वन्यजन्तु आरक्ष पुग्दा भने कार्यालय आसपास एउटा पनि खोयाहाँस देखिएन। अर्ना र सिमसारमा पाइने चरा हेर्ने उपयुक्त गन्तव्य आरक्षमा खोयाहाँसको संख्या वृद्धिले कोशी टप्पुको साख बढाउन मद्दत पुग्ने देखिन्छ।

भारतमा खोयाहाँस हेर्न पर्यटकहरू ओइरो लाग्छन्। हामीकहाँ भने यसबारे खासै चर्चा गरिंदैन। वागमतीमा यदाकदा खोयाहाँस देखिनुले त्यहाँ विगतमा यसको वासस्थान थियो भन्ने अनुमान गर्न सकिन्छ। गएको वर्षसम्म चितवनमा उल्लेख्य संख्यामा पाइने खोयाहाँस यो वर्ष घट्नुको संकेत के हो भने, त्यहाँ यसको बसाइ असुरक्षित हुँदै गएको छ। यस विपरीत कोशी टप्पु वन्यजन्तु आरक्षमा मानिसको भीडभाड कम हुने क्षेत्र खोयाहाँसले रोज्दा संख्या उल्लेख्य देखियो। यो संख्या आउँदा वर्षमा घट्न नदिन आरक्षमा यसको वासस्थान सुरक्षित गर्न ध्यान दिनुपर्छ।

 

 

 

प्रतिकृया दिनुहोस