दस्तावेज शुक्रबार, माघ ११, २०७५

जंगबहादुरको सामरिक बन्दोबस्त

ज्ञानमणि नेपाल

विद्रोह व्यहोरिरहेको चीनलाई सघाउने नाममा भोटमाथि हमला गरेर विजय हासिल गर्ने रणनीतिअनुसार जंगबहादुर राणाले युद्धको तयारी तीव्र पारेका थिए।

वि.सं. १९११ मा प्रधानमन्त्री जंगबहादुर राणाले चीनमा शान्ति स्थापना गर्ने चाहना तर भोटलाई जित्ने योजनासहित रणनीति बुनिरहेका थिए। त्यसअन्तर्गत उनले चीनमा छिङ (क्विङ) वंशको शासनविरुद्ध उठेको ताइपिङ विद्रोहलाई दमन गर्न चिनियाँ बादशाहलाई सघाउन आउने भनेर अग्रसरता देखाएका थिए। जंगबहादुरले १० हजार पल्टन लिएर आफैं आउँछु, पल्टनलाई चाहिने रसदपानीका साथै जाडोमा लाउने दोचा-मोचा आदि कपडा, पल्टनका लागि भत्ता, गोलीगट्ठा, बारुद र अपुगमा चाहिने अन्य हातहतियारको व्यवस्था चीनबाटै हुनुपर्छ भनी ल्हासाका अम्बामार्फत तारन्तार पत्र पठाइरहेका थिए।

उनको चातुर्य यतिमा सीमित थिएन। उनले ल्हासाका राजा लामा ४ जना काजीहरूलाई पनि चिनियाँ बादशाहलाई सहायता गर्न सैनिकहरूको रसद पानी र अरू सामरिक सामग्री संग्रह गर्न लागेको हो भनी आफ्ना नाइकेमार्फत थुमथुम्याइरहेका थिए।

चीनलाई सघाउने नाममा भोटमाथि हमला गर्न देशभित्र सामरिक बन्दोबस्त तीव्र पारियो। उनले पूर्वतिरबाट बेत र पाट झिकाएर सातु-सामल र अन्नपानी राख्न बडे-बडे भकारी बुन्न लगाए। साँध र किल्ला नजिकै वोशी-आग्री खटाएर काठ चिराउने, चहावच्चा अर्थात् पानीका भकारी बनाउन सीमारक्षक सुब्बाहरूलाई उर्दी दिइँदै थियो। भारी बोक्ने भेडा, च्याङ्ग्रा, खच्चड, चौंरी र गधाहरू पनि जम्मा गरिँदै थियो। गुप्तचरहरूलाई अझ चनाखो रहन उर्दी थियो। पल्टनका अफिसरहरूलाई बढुवा गरेर हौसला बढाइएको थियो। सैनिकहरूलाई शस्त्र-अस्त्रले सुसज्जित पारेर जिल्ला-जिल्लाबाट भोटको सीमा नजिकैका किल्लाहरूमा धमाधम जम्मा गरिँदै थियो।

त्यस्तै बखतमा श्रीमद्राजकुमार कुमारात्मज श्री प्राइमिनिष्टर यान कमान्डर इनचिफ जनरल जंगबहादुर कुँवर राणाजीबाट कप्तान भिमलआलेलाई लेखिगयो, उप्रान्त उर्दी गयावमोजिम अरुणपारदेखि वेत झिकाई वेत र कुम्भि पाट जङ्गी मेगजिनमा दाखिल गर्न्या र उदयपुर गढी र यसैगढीको तालुक चौदण्डी मछेरेखामा रह्याको तोप बन्दुक खर्खजानाको देहायबार खोलि तेरिज लेखि पठाउन्या काम बढिया हो, मैले ञाँहा रहन्या र हजुरमा आउन्या बेहोरालाई जो मर्जी भनि लेख्याका कुरालाई ताहाँका काजकामलाई जान्या पाका मानिस राखि ताहाँको काम चलन्या गरि आफ्ना मानिसहरूलाई अह्राई सिकाई चिठ्ठी पुग्नीमात्र एकफेर ञाहा आउ र सबै कुराको वेवस्था बाँधी जान्या काम गरौंला.

११ साल श्रावण वदि ७ रोज ७ शुभम्।

श्री प्राइममिनिष्टर जङ्गबहादुरकुवर राणाजीबाट सुवा मानसरवरसिंलाई लेखिगयाको वोसि पुगेन वोसि फेरि ४० जना पठाई वक्स्या काठको काम चाडो चलाउदा हुँ. वोसि आयेन भन्या १ घर पनि चाँडो हुन्याछैन भनि लेखि पठायाका कुरालाई रुपैयाँ लिन पठायाका सियाहिकासंगमा तैले लेखिपठायाबमोजिम वोसिजना ४० र मोहर रुपैयाँ १० हजार तेरो भाइ जगन्नाथका जिम्मा गरि पठाईदियाको छ. सकेसम्म अरु रुपैयाँको पनि रसद जम्मा गर्नु. सक्छस् भन्या रुपैयाँ पठाई दिन्या काम गरियला. त्यो जम्मा गर्‍याका अनाज गैह्र भुटाउन्या कुरा भुटाई राख्नु, पिधाउने कुरा पिंधाई राख्नु. अंन काँचो कुनै पनि नराखनु. काम कामको फलामको दस्खत १ रसदका दस्षत् १ पठाई दियाको छ. नौसिंदाका कुरालाई ञाहाँ बाट पठाई दियाको छ. पुग्ला बाटाका कुरालाई हेर्न पठाउन्या र सातु सामल बनाउन्या काम बढिया गरेछस्. ढाक्रेहरूले चावल लिई भोटमा नुन साट्न जान्यालाई नुन साट्न दिनु ताहाँका भावले आफुले किंनु नुन बेचन ल्याको नगदले आफुले किंनु. ती चावल्ले साट्न जान्या ढाक्रेहरूलाई बेचनु नगदले हाम्रा मानिसहरू नुन किन्छन् भन्या भोट्याहरूसंग किंन दिनु. हाम्रा सिवानाभित्रका भारी वोकन सकन्या च्याङ्ग्रा, घोडा, खच्चर, चौंरी, भेडा गदाहा कतिसम्म पाइन्छन् येस्कुराको तलास गरि येस्को यति यति सम्म छ भन्या नाउनमेस लेखि पठाउनु. रसद राखन्या घर बनाउँदा
अवाटो गरि वनाउनु. ल्हासा तर्फ जान्या आया गयाका चिठ्ठी खोलि हेरि राजकाजको कुरा लेखियाको रहेछ भन्याँ फार्सि चिठ्ठी जो आउँछ जान्छ चिठ्ठी ञाहाँ पठाईदिनु. भोटतर्फ हाम्रा सिवानाबाट वारुद गोलि सोरा जंगी खजाना कुनै कुराको पनि लैजान नपाउन् औ हाम्रातर्फका मानिस कुति सम्म पठाई बुझि लेखि पठाउँदै गर्नु.

११ साल भाद्र शुदि ५ रोज २ शुभम्।

प्रतिकृया दिनुहोस