टिप्पणी आइतबार, पुस २९, २०७५

सरकारको कस्मेटिक रहर

मिलन बगाले

पछिल्लो समय ‘बुटिक’ को मोहमा परेको सरकारले तामझाममा लागेर प्राथमिकताका अरू विषय बिर्सनु पटक्कै सुहाएको छैन।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको सिंहदरबार पुनर्निर्माण गरिंदै । तस्वीरः दीपेन्द्र रोक्का

‘आज सिंहदरबारभित्र ट्रान्सफर्मर पड्केर बत्ती छैन । गुनासा हेर्न, सम्बोधन गर्न पाइएको छैन । हेलो सरकार पूरै ई—गभर्नेन्समा गइसकेकाले बत्ती विना हेलो सरकार टीम बेरोजगार भएको छ ।’

सरकारको सेवा प्रवाहप्रति सर्वसाधारणको गुनासो सुन्न व्यवस्था गरिएको ‘हेलो सरकार’ सेवामा कार्यरत उपसचिव प्रद्युम्न उपाध्यायले २३ पुसमा ट्वीटरमार्फत सिंहदरबारभित्र विद्युत् आपूर्तिको समस्याबारे लेखे । बिजुली नपाएर कामकाजविहीन बन्ने सिंहदरबार भने ‘बुटिक’ बन्ने सुरसारमा रहेको भोलिपल्टको छापामा पढ्न पाइयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘बुटिक एअरपोर्ट’ बन्ने तयारी गरिरहँदा सिंहदरबार परिसर पनि त्यही पंक्तिमा उभिइसकेछ । ‘बुटिक प्रशासनिक केन्द्र’ योजनाअन्तर्गत सिंहदरबारलाई कलात्मक र सुन्दर पर्खालले घेरेर, झिलिमिली बत्ती बालेर, चारै दिशामा कलात्मक प्रवेशद्वार बनाएर, भित्री बाटाघाटा चिरिच्याट्ट पारेर, फोहोर पानीलाई फोहोरा बनाई पखालेर चम्काउने रे ! योजना लोभलाग्दो छ ।

२०३० सालमा आगलागी हुँदा बचेको सिंहदरबारको पश्चिम मोहोडा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । जेनतेन उभिएको त्यो कलात्मक र ऐतिहासिक खण्ड भत्काएर नयाँ स्वरूपमा बनाउने लहडका कारण त्यसलाई टेको लगाउने र छोपछाप पार्नेमा वास्तै गरिएन । तर, ऐतिहासिकता बच्ने गरी पुनर्निर्माण गर्न सकिने मत बढ्दै गएपछि भूकम्पको दुई वर्षपछि गएको असारमा बल्ल त्यहाँ संरक्षणका लागि सेतो प्लास्टिक ओढाइयो ।

त्यो खण्ड भत्काउनुपर्छ भन्ने कोरा कल्पनामा आधारित प्राविधिक प्रतिवेदन आएपछि पुरातत्वविद् र वास्तुकारले त्यसो गर्नु हुँदैन, सिंहदरबारको वास्तुकला बचाउनुपर्छ भन्दै बलियो आवाज उठाए । सोे आवाजलाई मूलधारका सञ्चारमाध्यमहरूले बल दिएपछि भत्काउनुपर्छ भन्ने मान्यता पछि हटेको हो ।

भूकम्पको दुई वर्षपछि प्लाष्टिक ओढाउन रहर गर्ने हाम्रो सरकारी संयन्त्र यत्रतत्र बुटिकको रहर गरिरहेको छ । संसारकै खराबमध्ये एक भनिएको त्रिभुवन विमानस्थल यतिबेला कार्पेट ओछ्याएर चम्किने चेष्टा गर्दैछ ।

कहिले धावनमार्गको पिच भत्किन्छ, जहाज घन्टौं आकाशमा कावा खाइरहेका हुन्छन्, कहिले धावनमार्गमा जहाज धस्सिन्छ र हप्ता दिनसम्म उडान प्रभावित हुन्छन् । झेला चोरिने, सुटकेश फोरिने, जहाजकै पाङ्ग्रादेखि अनेक चीज हराउने बेथिति विगतमा अचाक्ली रोग बनेकै हो । यस्तो अवस्थाको विमानस्थललाई आगामी १ वैशाखमा बुटिक विमानस्थल घोषणा गर्ने सरकारले बताइसकेको छ ।

बुटिक बनाउने घोषणा गर्ने भनेपछि त्यसको तयारी त पक्कै होला । कुनाकाप्चाको फोहोर उठाइएला, बाटाघाटा पखालिएला, शौचालय सफा गरिएला, ध्वजापताका टाँगिएला । प्रधानमन्त्रीले बुटिक विमानस्थल बनेको घोषणा गर्लान् । विदेशबाट आउने अतिथिका लागि देशको मुहार चिनाउने विमानस्थल सफा र टकटकाउँदो पार्नु स्वागतयोग्य कुरा हो । तर, घोषणा गरिसकेपछिका दिनहरूमा के होला ?

शौचालय सधैं सफा होलान् ? चियाखाजा खाने ठाउँको अचाक्ली महँगी नियन्त्रणमा आउला ? झाेला चोरिने, सुटकेश फोरिने काम बन्द होला ? राष्ट्रपतिको सवारीका लागि आकाश र विमानस्थल सेरोफेरोको बाटाघाटा खाली गर्ने काम बन्द होला ?

अनेक अनेक कुरा घोषणा गर्न नेपाल सिपालु छ । ध्वजापताका, लिपपोत, मंगल धुन, स्वागतगानबाट चिरिच्याट्ट देखाएर यही तामझमलाई उहिल्यैदेखि विकास भनेर चिनाउने गरिएको छ । तर, योभन्दा पर्तिरको चिन्तनमा नेपाल निम्छरो छ । टिकाउमा नभई बिकाउ काममा रहर छ । बुटिक विमानस्थलको हालत त्यस्तै नहोस् ।

नजिकबाट जहाज नदेख्दैदेखि हामी रेडियोमा जहाज खरीदमा गरिने असाध्यै ठूला घोटालाबारे सुनेर हुर्किएका हौं । देश जहाँको त्यहीं छ । शंका गर्ने ठाउँ हरेक सरकारले दिइरहेका छन् ।

देशमा तीन तहका सरकार छन् । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई चाहिने बजेट, अधिकार, नियम कानून र आवश्यक जनशक्ति दिनसकेको छैन ।

स्टेट गेस्ट हाउसका नाममा अनेक विलास महलको रचना गर्ने, पुस्तकालयको जग्गा समेत स्टेट गेस्ट हाउसमा गाभ्ने, प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति निवासको आँगन फराकिलो पार्ने, नयाँँ गाडी किन्ने, अर्बौं रुपैयाँ खर्चेर भ्यूटावर र धरहरा बनाउने जस्ता झ्ल्किे काममा मात्रै रमाइरहेको जस्तो देखिएको छ । यी कामले देशलाई समृद्धिको मार्गमा लैजान टेवा पुग्दैन ।

विमानस्थल पक्कै पनि राम्रो बनाउनुपर्छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर चिरिच्याट्ट पार्नुपर्छ । राष्ट्रपति उड्ने हेलिकप्टर र गुड्ने मोटर बलियो र सुरक्षित हुनुपर्छ । तर, देशमा यी कामसँगै अन्य कुरा पनि हुनुपर्छ ।

न्यायमा सबैको पहुँच हुनुपर्छ । कानूनको शासन बलियो हुनुपर्छ । सिंहदरबारको दम्भ हैन, अधिकार गाउँगाउँ पुग्नुपर्छ । देशमा सरकार छ र सरकार हाम्रो हो भन्ने विश्वास र भरोसा जगाउन सकेपछि मात्र बुटिकको रहर गर्ने सरकारको जय होस् ।

प्रतिकृया दिनुहोस